'संविधान संशोधनपछि मात्रै तेस्रो चरणको चुनाव'
चितवन : उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्ण बहादुर महराले तेस्रो चरणको निर्वाचन अघि नै संविधान संशोधन हुने बताउनुभएको छ । संविधान संशोधनका लागि प्रकृया अगाडी बढेको भन्दै संशोधन भएपछि मात्रै तेस्रो चरणको निर्वाचन हुने बताउनुभयो ।
प्रेस सेन्टर नेपालले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री महराले संविधान संशोधन गरेर मात्रै चुनावमा जाने तयारी रहेको जनाउनुभयो । एक दुई दिनमा संशोधनको प्रस्ताव पारित हुने पनि उहाँले दावी गर्नुभयो । ‘संविधान संशोधनको प्रस्ताव अगडी बढेको छ , आज भोलीमा पेश हुन्छ’ उपप्रधानमन्त्री महराले भन्नुभयो ‘संविधान संशोधन गरेपछि मात्रै तेस्रो चरणको चुनाव हुन्छ’ ।
मन्त्रि महराले संविधान संशोधनको प्रस्ताव पारित संगै मन्त्रिमण्डल पनि विस्तार गर्ने योजना रहेको जानकारी गराउनुभयो । सरकारले राजपाको मागको सुनुवाई गर्दै सबैलाई समेटेर अगाढी बढ्ने बताउनुभयो । ‘संख्या पुग्ने नपुग्ने आफ्नो ठाउँमा छ, संविधान संशोधनको प्रस्ताव चाहि पारित हुन्छ’ उहाँले भन्नुभयो ‘संशोधन पारित भएपछि मन्त्रिमण्डल पनि विस्तार हुन्छ ।’
भारतले लागु गरेको एकीकृत कर प्रणाली जीएसटीको नेपालमा पर्ने प्रभाव बारे अहिले थाहा नभएपनि त्यसले पार्ने प्रभाव बारे भारत सरकारसंग छलफल हुने मन्त्री महराले बताउनुभयो । सीमा क्षेत्रको व्यापारिक क्षेत्रमा पर्ने त्यसको प्रभाव र निराकारणको विषयमा नेपाल र भारतीय टोली बीच दिल्लीमा छलफल गर्न लागेको जानकारी उहाँले दिनुभयो ।