क्यालिफोर्नियाको आगो नियन्त्रणमा आएन, सरकारद्वारा संकटकालको घोषणा
लस एन्जेलस: क्यालिफोर्नियाको जङ्गलमा भएको विशाल आगलागीको नियन्त्रणका लागि जारी रहेका अनेक प्रयास पर्याप्त नभएको भन्दै संकटकालको घोषणा गरिएको छ।
क्यालिफोर्नियाका गभर्नर जेरी ब्राउनले उक्त सङ्कटकालीन अवस्थाको घोषणा गर्नुभएको बताइएको छ। सो आगलागी गत शुक्रबारदेखि जारी छ।
यस आगलागीलाई अहिले नै नियन्त्रण गर्न नसक्ने हो भने यसले आगामी केही दिनभित्रै पाँच हजार भन्दा पनि बढी घरमा क्षति पुग्ने देखिएको छ।
आगलागी नियन्त्रणका लागि एकहजार जनाभन्दा बढी सैनिक र अग्निनियन्त्रक खटिएका छन् । उनीहरुका प्रयास पर्याप्त हुन नसकेकोले यहाँ सङ्कटकालिन अवस्थाको घोषणा गरिएको हो।
क्यालिफोर्नियाको ओरोभिल्लेको जङ्गलसम्म डढेलो आइपुगेपछि यहाँका करिब चार हजार जनसङ्ख्यालाई त्यहाँबाट हट्न भनिएको छ । सेनाले कतिपयलाई बस्ती सार्न लगाएको जनाएको छ।
त्यसैगरी त्यसको छिमेकी गाउँका करिब सात हजार नागरिकलाई पनि बस्ती छोडेर भाग्न भनिएको छ । जसका कारण उक्त क्षेत्रमा ठूलो आतङ्क पैदा भएको बताइएको छ। रासस/सिन्ह्वा