चिनिया राष्ट्रपति सीलाई स्वागत गर्न नेपाल आतुर
काठमाडौ : उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ज्यू चीनको साताव्यापी औपचारिक भ्रमण सकेर सोमबार स्वदेश फर्कनु भएको छ । उहाँ युनान प्रान्तको राजधानी कुनमिङबाट चाईना ईस्टर्न एयरलाइन्सको उडान नं. एमयू २५७१ मार्फत सोमबार साँझ ५ः०० बजे काठमाडौं आईपुग्नुभएको हो । चीनको औपचारिक भ्रमण पूर्ण रुपमा सफल भएको उहाँको सचिवालयले जनाएको छ ।
चीन भ्रमणको क्रममा चिनियाँ उच्च अधिकारीसँग भएका छलफलमा उपराष्ट्रपति पुनले नेपाल चीन सम्बन्धलाई अझै फराकिलो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल एक चीन नीतिप्रति सदैव प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति चीनले जनाएको निरन्तरको समर्थनका लागि धन्यवाद दिनुभएको थियो । उहाँले नेपालको तर्फबाट चीनको उच्चस्तरीय भ्रमण निरन्तर भईरहे पनि चीनबाट नेपालको उच्चतस्तरीय भ्रमण हुन नसकेको उल्लेख गर्नुहुँदै नेपाल र नेपाली जनता चीनका राष्ट्रपति सी जिनपिङको स्वागतका लागि आतुर रहेको बताउनुभयो ।
उहाँले चीनका राष्ट्रपति सी जिनपिङले अगाडि सार्नुभएको वेल्ट एण्ड रोड इनिसियटिभ (विआरआई) समझदारी पत्रमा नेपालले हस्ताक्षर गरेपछि दुई देशबीचको सम्बन्ध नयाँ उचाईमा पुगेको उल्लेख गर्नुभयो । उहाँले विआरआईमार्फत हुने सहकार्यबाट नेपालले रेलवे, रोड, विमानस्थल, विद्युत प्रशारणलगायत कनेक्टिभिटिको क्षेत्रमा ठूलो फाइदा लिने र त्यसले समृद्धिको मार्गमा अगाडि बढिरहेको नेपाललाई ठूलो सहयोग हुने बताउनुभयो । उहाँले नेपाल लगानीका लागि सुरक्षित गन्तव्य र भर्जिनल्याण्ड भएकोले लगानी गर्नसमेत आग्रह गर्नुभयो ।
चीन भ्रमणको क्रममा उपराष्ट्रति पुनले कान्सु प्रान्तको राजधानी लान्चौमा आयोजित २३ औं चीन (कान्सु) लगानी तथा व्यापार मेला र मेलाको अवसरमा बेइजिङस्थित नेपाली दुतावासद्वारा आयोजित ‘नेपाल–चीन (कान्सु) आर्थिक तथा व्यापार सहयोग आदन प्रदान सम्बन्धी सम्मेलन’लाई विशेष संबोधन गर्नुभएको थियो ।
चीन भ्रमणको क्रममा उपराष्ट्रपति पुनसँग चीन जनराजनीतिक परामर्श समितिका उपाध्यक्ष छि स्युछुन, कान्सु प्रान्तका गभर्नर ताङ रेन्जियानलगायत कान्सु प्रान्तका उच्च पदाधिकारीले शिष्टाचार भेटघाट गर्नुभयो । भेटमा उपराष्ट्रपतिल दुई देशबीचको सहकार्यलाई अझै फराकिलो बनाउनुपर्ने बताउनुभयो ।
चीन भ्रमणको क्रममा उपराष्ट्रपति पुनले कान्सु, सान्सी र युनान प्रान्तको भ्रमण गर्नुभयो । कान्सुको लान्चौमा रहेको चीनकै महत्वपूर्ण मानिने कान्सु प्रोभिन्सियल संग्राहलय, योङजिङ काउन्टीमा रहेको बुद्धसँग सम्बन्धित पुरातात्विक तथा ऐतिहासिक पिङलिङ मन्दिरको अवलोकन भ्रमण गर्नुभयो । सान्सी प्रान्तको भ्रमणको क्रममा चिनियाँ जनवादी क्रान्तिको आधार ईलाका यानानमा रहेको चिनियाँ जनवादी क्रान्ति स्मृति संग्राहलय, चिनियाँ जनवादी क्रान्तिको क्रममा चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसि)को कार्यालय, अध्यक्ष माओत्सेतुङलगायतका शिर्ष नेताहरुको निवास, सिपिसिको सातौं जनकंग्रेस स्थल र यानान प्यागोडा हिलको अवालेकन भ्रमण गर्नुभयो । यानानको भ्रमणको क्रममा उपराष्ट्रपति पुनसँग चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसि)का सान्सी प्रान्तका स्थायी समिति सदस्य तथा यानान नगरका सेक्रेटरी शु शिनरोङले शिष्टाचार भेट गर्नुभयो ।
उपराष्ट्रपति पुनले सान्सी प्रान्तको भ्रमणकै क्रममा सियानमा रहेको ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको टेर्रा कोट्टा संग्राहलयको अवलोकन भ्रमण गर्नुभयो । उहाँले भ्रमणको अन्तिम दिन सोमबार युयान प्रान्तको राजधानी कुन्मिङमा रहेको युनान स्टेट फार्मस् प्लाट्यू क्यारेक्टरस्टिक एग्रीकल्चर कम्पनीको भ्रमण गर्नुभयो । उहाँलाई युनान प्रान्तका विदेश विभाग महानिर्देशक लि जिमिङले विदाई गर्नुभयो ।
उपराष्ट्रपति पुन चीनको साताव्यापी भ्रमणका लागि २० असारमा कान्सु प्रान्तको लान्चौ प्रस्थान गर्नुभएको थियो । उहाँलाई लान्चौ विमानस्थलमा कान्सु प्रान्त जनकंग्रेसका उपाध्यक्ष वाङ सियुले स्वागत गर्नुभएको थियो ।
भ्रमणले चीनसँगको सम्बन्धलाई घनिष्ठ बनाउनुका साथ दुई पक्षीय सहकार्यलाई अझै फराकिलो बनाएको उहाँको नीजि सचिवालयले जनाएको छ ।
भ्रमण टोलीमा उपराष्ट्रपति पुनकी धर्मपत्नी हस्तमाली पुन, चीनका लागि नेपाली राजदूत लीलामणी पौडेल, उपराष्ट्रपति कार्यालयका सचिव नारायण गोपाल मलेगो, परराष्ट्र मन्त्रालयका सहसचिव गणेश प्रसाद ढकाललगायत हुनुहुन्थ्यो ।