मिसाइल प्रतिरक्षा प्रणाली परीक्षण गर्ने तयारीमा अमेरिका
वासिङटन : कोरियाली प्रायद्विपमा दुई कोरियामाझ चर्कंदो तनावबीच अमेरिकाले दक्षिण कोरियामा थाड (टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्स) मिसाइल प्रतिरक्षा प्रणालीको परीक्षण गर्ने योजना बनाएको छ । मध्यम दूरीका ब्यालेस्टिक मिसाइल नष्ट गर्न थाडको प्रभावकारिता जाँच गर्न मिसाइल सिस्टमको परीक्षण गर्न लागिएको दुई वरिष्ठ अमेरिकी अधिकारीले बेलायती समाचार एजेन्सी रोयटर्ससँग बताएका हुन् ।
परीक्षणको योजना महिनौंअघि तयार पारिएको भए पनि गत जुलाई ४ मा उत्तर कोरियाले गरेको इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल (आईसीबीएम)को सफल परीक्षणपछि थाडको महत्व बढेको हो ।थाडको यो परीक्षण नक्कली इन्टरमेडिएट रेन्ज ब्यालेस्टिक मिसाइल (आईआरबीएम) आक्रमण विरुद्ध गरिने अमेरिकी अधिकारीले बताएका छन् । उनीहरूका अनुसार थाड इन्टरसेप्टर मिसाइल भने अमेरिकाको उत्तरी भूभाग अलास्काबाट प्रहार गरिनेछ ।
उत्तर कोरियाको सम्भावित आक्रमणबाट दक्षिण कोरिया र जापानलाई सुरक्षित पार्न ग्वाममा अमेरिकी थाड इन्टरसेप्टर मिसाइल तैनाथ छन् । युएस मिसाइल डिफेन्स एजेन्सी (एमडीए)ले पनि थाड मिसाइलको परीक्षण जुलाईको सुरुवातमा नै गरिने जानकारी दिए ।
एमडीएका प्रवक्ता क्रिस जोन्सनले अलास्काको कोडियास्थित प्यासिफिक स्पेसपोर्ट कम्प्लेक्समा तैनाथ थाड मिसाइल प्रणालीले आइरहेको मिसाइल पत्ता लगाउने, अनुगमन गर्ने र थाड इन्टरसेप्टर मिसाइलले त्यसलाई नष्ट गर्न निसाना लगाउने बताए । उनले भने, ‘यो परीक्षणलाई फ्लाइट टेस्ट थाड (एफटीटी)–१८ भनिएको छ ।’ तर उनले परीक्षणबारे विस्तृत विवरण दिएनन् ।
हालै एमडीएका तत्कालीन निर्देशक भाइस एडमिरल जेम्स साइरिङले कंग्रेसमा एफटीटी–१८ को लक्ष्य आईआरबीएम निशानालाई बीचमै ध्वस्त गर्ने थाडको क्षमता प्रदर्शन गर्नु रहेको बताएका थिए ।एमडीएका अनुसार सन् २००६ पछि अहिलेसम्म गरिएका १३ परीक्षणमा थाड शतप्रतिशत सफल रहेको छ । अमेरिकी सेनाले यसअघि गरिएका थाड परीक्षणका नतिजा सार्वजनिक गरिसकेको छ ।
थाड जमिनबाट छोटो, मध्यम र त्यसभन्दा परसम्म प्रहार गर्ने ब्यालेस्टिक मिसाइललाई आकाशमै नष्ट गर्ने मिसाइल प्रतिरक्षा प्रणाली हो । थाड प्रणालीको प्रमुख ठेकेदार लकहिड मार्टिन कर्पोरेसनले थाड पृथ्वीको वायुमण्डलभित्र र बाहिरबाट आउने जुनसुकै मिसाइललाई नष्ट पार्न सक्षम रहेको बताएको छ ।
उत्तर कोरियाका छोटो दूरीका मिसाइलबाट प्रतिरक्षाका लागि अमेरिकाले यस वर्ष दक्षिण कोरियामा थाड तैनाथ गरेपछि चीनले कडा विरोध जनाएको थियो । चीनले थाडको शक्तिशाली राडारले आफ्नो भूभागमा निकै भित्रसम्म समेत अनुगमन गर्न सक्ने भन्दै विरोध गरिरहेको छ ।
यसै महिनाको सुरुमा रसिया र चीनले संयुक्त विज्ञप्ति जारी गर्दै दक्षिण कोरियामा थाड तैनाथकार्य तत्काल रोक्न अमेरिकासँग आग्रह गरेका थिए । चीन र रसियाले उत्तर कोरियाको बहानामा अमेरिकाले एसियामा सामरिक संरचना विस्तार गरिरहेको आरोप लगाएका थिए । दुवैले अमेरिकी सामरिक विस्तारबाट एसियामा रणनीतिक शक्ति सन्तुलन बिग्रने विज्ञप्तिमा उल्लेख गरेका थिए ।
परीक्षणमा थाडको सफलता दर अमेरिकाको जमिनबाट प्रहार गर्ने मिडकोर्स डिफेन्स सिस्टम (जीएमडी) को तुलनामा निकै माथि छ । जीएमडी खासगरी अमेरिकी भूभागमा लक्षित हुने आईसीबीएम नष्ट गर्न विकास गरिएको हो । परीक्षणमा जीएमडीको सफलता दर ५५ प्रतिशत मात्र छ । तर यसका पक्षधरहरूका अनुसार पछिल्ला वर्षमा यसले प्रविधिमा भने ठूलै फड्को मारेको छ ।
पछिल्लो विकासपछि जीएमडीले मेमा गरिएको परीक्षणमा उत्तर कोरियाबाट प्रहार गरेको आईसीबीएम (नक्कली आक्रमण) लाई सफलतापूर्वक नष्ट गरेको थियो । परीक्षणको सफलतापछि पेन्टागनले आईसीबीएमविरुद्ध अमेरिकी प्रतिरक्षामा सुधार भएको आकलन गरेको थियो ।
एमडीएले अक्टोबर २०१७ देखि सेप्टेम्बर २०१८ सम्ममा ५२ वटा थाड इन्टरसेप्टर अमेरिकी सेनालाई हस्तान्तरण गर्ने गत महिना कंग्रेसमा जानकारी गराएको थियो । यो हस्तान्तरणपछि अमेरिकी सेनासँग सन् २०११ मेपछि २ सय १० थाड हुनेछन् । मिसाइल प्रतिरक्षासम्बन्धमा कैयौं सांसदले प्रतिरक्षा विधेयकमा संशोधनका लागि प्रस्ताव पेस गरेका छन् । अलास्काका रिपब्लिकन जनप्रतिनिधि डन योङले उत्तर कोरियाली धम्कीका कारण त्यहाँ थप मिसाइल इन्टरसेप्टर तैनाथ गर्न माग गरेका छन् ।हाउस अफ रिप्रजेन्टेटिभ्सले अर्को साता विधेयक र यसमा पेस गरिएका संशोधन प्रस्तावमाथि छलफल गर्नेछ ।