एउटै गाँउबाट तीन करोडको गोलभेंडा उत्पादन
फिदिम : हिलिहाङ गाउँपालिकाको एउटै गाउँबाट झन्डै तीन करोड मूल्य बराबरको गोलभेंडा उत्पादन भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) कार्यक्रम सञ्चालन भएको हिलिहाङ १ अमरपुरमा आर्थिक वर्ष २०७३÷०७४ मा दुई करोड ७८ लाख ९८ हजार मूल्य बराबरको गोलभेंडा उत्पादन भएको हो ।
यहाँ उत्पादन भएको गोलभेंडाको प्रतिकिलो सरदर मूल्य १३ रुपैयाँ मान्दा झन्डै तीन करोडको गोलभेंडा अमरपुरमा मात्रै उत्पादन भएको हो । जिल्ला कृषि विकास कार्यालय पाँचथरका वरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीका अनुसार पकेट क्षेत्रका (अमरपुर) पाँच सय ८० जना किसानले व्यावसायिक रूपमा गोलभेंडा खेती गरेका हुन् ।
यहाँका एक जना किसानले कम्तीमा १८ हजार पाँच सय बोट गोलभेंडाको खेती गरेका थिए । यसरी हेर्दा यहाँका पाँच सय ८० जना किसानले जम्मा १० लाख ७३ हजार बोट गोलभेंडाको खेती गरेका हुन् । उक्त गोलभेंडाको बिरुवाबाट प्रतिबोट दुई किलो फल उत्पादन भएको अनुमान गरिएको छ । प्रतिबोट दुई किलो गोलभेंडा उत्पादन हुँदा २१ लाख ४६ हजार किलो गोलभेंडा उत्पादन भएको देखिन्छ । तर, एउटै बोटमा ६ किलोसम्म गोलभेंडा फलेको यहाँका किसान बताउँछन् ।
'एउटै बोटमा ६ केजीसम्म गोलभेंडा उत्पादन भएको छ', गोलभेंडा किसान तुलसी ढकालले भन्नुभयो, 'सबै बोटमा एकै नासको फल लाग्दैन । कुनै बोटमा धेरै फल्छ, कुनै बोटमा थोरै । तर, दुई किलोभन्दा कम कुनै बोटमा पनि फल्दैन ।' न्यूनतम उत्पादनलाई मापन गर्दा एउटै गाउँमा करोडौं रुपैयाँको गोलभेंडा उत्पादन भएको देखिन्छ ।
पकेट कार्यक्रमअन्तर्गत कृषि कार्यालयले कृषकलाई गोलभेंडा खेतीका लागि १०० प्रतिशत, ८५ प्रतिशत र ५० प्रतिशतका दरले अनुदानमा कृषि औजार उपलब्ध गराएको थियो । साना सिँचाइका लागि पाइप, प्लास्टिक क्रेट, स्पेयर, मल, बिउ, विषादी, शुक्ष्म खाद्यतत्वसमेत कार्यालयले किसानलाई अनुदानमा उपलब्ध गराएको थियो । मेहनत गर्दा आफूले सोचेभन्दा राम्रो गोलभेंडा उत्पादन भएको किसान बताउँछन् । तर, उत्पादन गरेका गोलभेंडा बजार अभावले बिक्री नभएको किसानको गुनासो छ ।
'यहाँ उत्पादन भएका गोलभेंडा बिक्रीका लागि बजार अभाव छ', गोलभेंडा किसान देवीप्रसाद सिग्देलले भन्नुभयो, 'बारीभरी गोलभेंडा लटरम्म फलेर के गर्नु, कहिलेकाही बिक्री नलागेर कुहिएर जान्छ ।' उल्लेख्य मात्रामा गोलभेंडा उत्पादन हुन थालेपछि उत्पादित गोलभेंडाले बजार नपाउँदा यहाँका किसान चिन्तित छन् । यहाँ उत्पादन गरिएको गोलभेंडा झापाको विर्तामोडसम्म निर्यात हुने गरेको छ ।