रोपाइँका लागि खेतालाको अभाव
सन्धिखर्क : समयमै पानी परेपछि अर्घाखाँची जिल्लामा खेत रोपाइँको काम धमाधम चलेको छ । समयमै पानी परेपछि अधिकांश फाँटमा धान रोपाइँ सुरु भएको जिल्ला कृषि विकास कार्यालयका अधिकृत थीरलाल गैरेले बताउनुभयो। जिल्लाका विभिन्न स्थानमा रहेका ८ हजार एक सय ८९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने भए पनि अहिलेसम्म ४० प्रतिशत रोपाइँ सकिएको र अन्यमा जारी रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । विगत वर्षमा पानी नपरेर चिन्तित बनेका कृषकलाई यस वर्ष भने खेतालाको चिन्ता छ ।
युवाको विदेश पलायनले रोपाइँका लागि खेतालाको अभाव हँदा कृषक अत्यन्तै चिन्तित बनेका छन् । पहिलेको तुलनामा अहिले खेतालाको दैनिक ज्याला पनि ह्वात्तै बढेको छ । युवा वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा गएपछि मानो रोपेर मुरी उब्जाउने यो समयमा खेतालाको अभाव देखिएको छ । खेत रोप्ने काममा अधिकांश बालबालिका, महिला र वृद्धा मात्र रहेका छन् ।
आजभोलि पुरुष खेतालाको दिनको पाँच सयदेखि आठ सयसम्म र महिला खेतालाको तीन सय रुपैयाँदेखि पाँच सय तिर्दासमेत खेताला नपाएको कृषकको गुनासो छ । पैसा तिरेर पनि खेताला नपाएर खेत रोप्न ढिलाइ भएकोमा निराश हुँदै अर्घाका कृषक तिलक आचार्यले भन्नुभयो, ‘यस्तै हाहाकार मच्चिने हो भने साउन महिनासम्म पनि खेत रोपेर भ्याउन निकै गाह्रो छ ।' लामो समयदेखि खेती किसानी गर्दै आएका आचार्यले विगत चार वर्षदेखि खेतला अभाव रहेको बताउनुभयो ।
जिल्लाका झन्डै ४० हजार युवा रोजगारीका लागि विदेश गएको विभिन्न संघसंस्थाको तथ्यांक छ । जसमा भारतमा गएका युवाको संख्या समावेश छैन ।अधिकांश युवा विदेश पलायन भएको र थौरै पैसा भए पनि कृषि पेसाबाहेकका पेसामा काम गर्न खोज्ने प्रवृतिका कारण खेती गर्ने मान्छेको अभाव बढ्दै गएको छ । अहिले खेत रोप्ने काम गर्नेमा अधिकांश बालबालिका, महिला र वृद्ध मात्रै छन् । बढ्दो सहरीकरणसँगै आधुनिक जीवनमा रमाउन चाहने सौखिन युवा युवतीका कारण पनि खेती गर्ने समयमा खेतालाको थप अभाव देखिएको हो ।
विगतमा भनेको समयमा केही खेतालाहरू पाइन्थ्यो तर अहिले भने निकै गाह्रो पर्यो भन्दै किमडाँडाका कृषक नारायण सापकोटाले भन्नुभयो, ‘रोपाइँ त सुरु हुन थाल्यो तर युवा विदेश र सुविधा खोज्दै सहर बजारमा गएकाले खेतलाको चरम अभाव देखिएको छ ।'
केही वर्षअघिसम्म खेताला पाइथ्यो तर अहिले निकै गाह्रौ परेको किसानको भनाइ छ । ‘यही अवस्था जारी रहे २÷३ वर्षपछि खेतीपातीबाट सन्यास लिए हुन्छ', उनीहरूको भनाइ छ, ‘बल्लतल्ल खेताला पाइहाले पनि ज्यालादर भने निकै उच्च छ ।'
खेतालाको यस्तै चरम अभाव र महँगो ज्यालादारी कायम रहे नेपालमा अर्को वर्ष खाद्यन्नको भाउ पनि चरम रूपमा अकासिने कृषक बताउँछन् ।