फराकिलो बन्दै पुनर्बिमा व्यवसाय

फराकिलो बन्दै पुनर्बिमा व्यवसाय

नेपालको बिमा इतिहासमा पुनर्बिमा कारोबार आरम्भदेखि हँदै आएको भए पनि पुनर्बिमा कम्पनीले पुनर्बिमा व्यवसाय सुरु गरेको केही वर्षमात्र भएको छ । दुई दशक अघिसम्म पनि विश्व बिमा बजारमा पुनर्बिमाले राम्रो स्थान पाउन सकेको थिएन । २०५८ भदौ २४ मा अमेरिकाको ट्विन टावर आतंककारीको बम विष्फोटबाट ध्वस्त भयो । आपत पर्दा भरोसा अर्थात् जोखिम बहन गर्ने सारथीको रूपमा बिमालाई रोज्नुपर्ने यथार्थताको बोध त्यही बेला नै बढी गरियो ।

यस्ता प्रकारका आतंककारी गतिविधिबाट ठूलो क्षति हुँदा बिमा कम्पनीले मात्र यसको आर्थिक भार थेग्न गाह्रो हुने भएकाले जोखिम बहन गर्न सजिलो होस् भनी पुनर्बिमाको अवधारणा स्थापित भएको हो । उक्त आतंककारी घटनापछि पुनर्बिमाको महत्व अझै बढेको छ । पुनर्बिमा कम्पनीले मात्र यसरी हुने क्षतिको भुक्तानी व्यहोर्न नसक्ने भएपछि हरेक देशमा एक कोष स्थापना गरी यसको पुनर्बिमा गर्ने कार्य आरम्भ गरियो ।

सो अभ्यासलाई अनुशरण गर्दै नेपालले पनि २०६० सालमा आकस्मिक बिमा कोष स्थापना गरेर आतंककारी क्रियाकलापको अतिरिक्त हुलदंगा, हड्ताल तथा रिसइवीपूर्ण कार्यलाई एकीकृत गरी जोखिम समूह नामाकरण गरी नेपाली बिमा बजारमा पुनर्बिमा सेवा उपलब्ध भएको थिएन । सोही कुरालाई ध्यान दिँदै तत्कालीन अवस्थामा आकस्मिक बिमा कोष खडा गरी सोही समूहको जोखिममा मात्र रक्षावरण हुँदै आएको थियो ।

देशबाट पुनर्बिमाको नाममा उल्लेखनीय हिस्सा बिमा व्यवसायबाट बिदेसिएको अवस्थालाई विश्लेषण गर्दै स्थानीय आवश्यकता परिपूर्ति गर्नका साथै अन्तर्राष्ट्रियस्तरको पुनर्बिमा कम्पनी स्वदेशमा स्थापित गरी विदेशी मुद्रा आर्जन गर्नका लागि समेत साबिकको आकस्मिक बिमा कोषलाई २०७१ कात्तिक २१ गते पुनर्बिमा कम्पनीमा परिणत गरी नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको स्थापना भएको हो । यस कम्पनीको स्थापनाकालसम्ममा विश्व पुनर्बिमा बजार धेरै अघि बढिसकेको थियो ।

त्यसअघि धेरै जसो निर्जीवन बिमा कम्पनीले विदेशी बिमा कम्पनीमा मात्र पुनर्बिमा गर्नुपर्ने वाध्यात्मक अवस्था थियो । तर, अहिले स्वदेशमै पुनर्बिमा कम्पनी स्थापना भए पनि न्यून हिस्सा नेपाल पुनर्बिमा कम्पनीलाई दिई बिमा कम्पनीले सोको निरन्तरता कायमै राखेको पाइन्छ ।

सरकारबाट कुनै कारोबारमा कति हिस्सा स्वदेशी कम्पनीबाट गर्नुपर्ने वाध्यकारी व्यवस्था नहुँदा धेरै स्वदेशी पुँजी विदेश पलायन भइरहेको छ । अब सरकारले कम्तीमा पनि कुल बिमा बजारको १५ देखि २० प्रतिशतसम्म स्वदेशी पुनर्बिमा कम्पनीबाट पुनर्बिमा गराउनु पर्ने व्यवस्था गर्न लागेको बताइएको छ । हालसम्म पनि १० प्रतिशतको हाराहारी मात्र पुनर्बिमा हुन सकेको छ । तर पनि बिमा बजार दिनप्रतिदिन फराकिलो बन्दै छ ।

नेपाल पुनर्बिमा कम्पनीको विशषेता भनेको यसका सेयरधनी र ग्राहक एकै हुन् । सबै बिमा कम्पनीले अनिवार्य रूपमा पुनर्बिमा गराउनु पर्ने भएकाले नेपाल पुनर्बिमा कम्पनीको सेयरधनी र ग्राहक एउटै भएका हुन् ।

आकस्मिक बिमा कोषमा दुई अर्ब १० करोड चुक्ता पुँजी थियो । दुई अर्ब ९० करोडको हकप्रद सेयर निष्कासन गरेर पाँच अर्बको पुनर्बिमा कम्पनी स्थापना भएको भयो । कम्पनीमा १७ वटा निर्जीवन बिमा कम्पनीको ३८ दशमलव ३९ र नेपाल सरकारको ४३ दशमलव ५५ प्रतिशत र जीवन बिमा तथा सर्वसाधारणको १८ दशमलव ०६ प्रतिशत सेयर छ ।

२०७१ कात्तिकमा कम्पनी स्थापना भए पनि स्थापना भएको आठ महिनापछि २०७२ साउन १ गतेबाट यसले पुनर्बिमा कम्पनीको रूपमा कार्य सम्पादन गर्न सुरु गरेको हो । त्यतिबेला म नेपाल लाइफ एन्ड जनरल इन्सुरेन्समा डेपुटी सीईओ भएर काम गर्थे । मैले २०७२ साउन १ गतेबाट यो कार्यभार सम्हालेको हुँ । भन्ने नै हो भने मेरो सम्पूर्ण जीवन बिमा क्षेत्रमा बितेको छ । २०३३÷३४ बाट राष्ट्रिय बिमा संस्थानबाट मेरो करिअर सुरु भएको हो । त्यतिबेला १७ वटा निर्जीवन र पाँचवटा जीवन बिमा कम्पनीसँग व्यवसाय सुरु गरिएको हो ।

कम्पनीले जीआईसी रि-इन्सुरेन्स कम्पनी भुटान र अफगान रि-इन्सुरेन्स कम्पनी अफगानमा एक करोडको प्रिमियम शुल्क आर्जन गरेर आफ्नो व्यवसायलाई अघि बढाएको हो । यस अवधिमा कम्पनीले १५ मुलकका २७ वटा विदेशी मूलका कम्पनीबाट पुनर्बिमा व्यवसाय गर्दै आएको छ ।

जुनसुकै समयमा पनि पर्न सक्ने भवितव्यको जोखिमबाट जोगिन यस्ता पुनर्बिमा कम्पनीले ठूला पुनर्बिमा कम्पनीसँग पुनर्बिमाको पनि पुनर्बिमा गरी आफ्नो दायित्वलाई सीमित गरी व्यवसाय गर्दै आएका हुन्छन् ।

पुनर्बिमा गर्दा नेपाली कम्पनीले 'ट्रिटी' र 'फ्याकल्टेटिभ' (विषयगत÷पटके), क्याटलगायत पुनर्बिमा कार्यक्रममार्फत पुनर्बिमा सम्झौता गर्ने गरेको छ । जीआईसी रि इन्डिया, ह्यान्ड ओभर रि जर्मन, एक्सएल क्याटलिल बहराइन, साभारी स्लोभानियालगायत विश्वविख्यात पुनर्बिमा कम्पनीमा विभिन्न कार्यक्रमअन्तर्गत पुनर्बिमा गरिँदै आएको छ ।

पुनर्बिमा कम्पनीहरू आफू सुरक्षित हुनका लागि रेक्ट्रोसेसन गर्ने प्रचलन छ । अन्तर्राष्ट्रिय बजारमा कम्पनीले ब्रोकरमार्फत पनि पुनर्बिमा गर्न सक्छन् । ब्रोकरले ल्याएको पुनर्बिमा हामीले पनि लिएका छौं । कम्पनीले जेबी बोडा (भारत), पायोनियर इन्सुरेन्स ब्रोकर (भारत), फस्र्ट पोलिसी इन्सुरेन्स ब्रोकर (भारत) लगायत भारतीय, प्राटेक्सन रि बहराइन, यूआईबी सिंगापुर आदि ब्रोकरमार्फत पुनर्बिमा हुँदै आएको छ ।

हाल बिमा कम्पनीले थोरै मात्र पुनर्बिमा स्वदेशी कम्पनीबाट गराइरहेका छन् । कुल २० अर्बको बिमा बजारमा दुई अर्ब जति हवाई बिमा हुन सक्छ । चालू आवमा देशमा सञ्चालित बिमा कम्पनीले करिब तीन अर्ब रुपैयाँको पुनर्बिमा नेपाल रि-इन्सुरेन्समा गराएका छन् । गएको वर्ष यस्तो पुनर्बिमा पौने दुई अर्ब रुपैयाँको थियो ।

कम्पनीले चालू आवको सो अवधिमा मोटर, अग्नि, इन्जिनियरिङ, मरिनलगायत पुनर्बिमाबापत २९ करोड १२ लाख दाबी भुक्तानी गरेको छ । जीवन बिमाको प्रिमियम हरेक वर्ष जोडिँदै जाने भए पनि निर्जीवन बिमाको प्रिमियम भने हरेक आर्थिक वर्षबाट सुरु हुने र त्यो सालमा त्यसको अवधि सकिने हुन्छ ।

नयाँ पुल खडा गर्दै पुनर्बिमा

पुनर्बिमा कम्पनीले पुनर्बिमाका लागि नयाँ पुल खडा गरेको छ । लाइभस्टक बिमा, हवाई बिमा, इन्जिनियरिङ, हाइड्रोपावरलगायत क्षेत्रका लागि छुट्टै कोष निर्माण गर्दै छ । साइबर क्राइम, नवीकरणीय ऊर्जाका क्षेत्रमा पनि विशेष प्याकेजको व्यवस्था गर्ने सोच बन्दै छ ।
सरकारले आगामी आवको बजेटमा उल्लेख्य हिस्सा नेपाल पुनर्बिमा कम्पनीमा गराउनु पर्ने व्यवस्था गरेको छ । बजेटले गरेको यो व्यवस्थाले कम्पनीसँग नेपालका बिमा कम्पनीले स्वेदशी पुनर्बिमा कम्पनीसँग हाल १० प्रतिशतमा सीमित रहेको रि-इन्सुरेन्सलाई बढाउन सघाउने छ । यति नै पुग्छ भन्न सकिँदैन । तर, बजेटमा नै व्यवस्था गरेपछि कम्पनीसँगको पुनर्बिमा बढाउनु पर्ने हुन्छ । यस सम्बन्धमा स्वदेशमा गर्नुपर्ने निश्चित प्रतिशत नेपालमा गरिसकेपछि बाँकी अन्य विदेशी कम्पनीसँग पुनर्बिमा गर्न सकिनेछ ।

यी कम्पनीसँग हुन्छ पुनर्बिमा


नेपालका निर्जीवन बिमा कम्पनीले स्विस रि (स्वीट्जरल्यान्ड), जनरल इन्सुरेन्स कर्पोरेसन वा जीआईसी (भारत), ह्यानओभर रि (जर्मन), ट्रस्ट रि (बहराइन), बेस्ट अफ्रिकन रि (सियरा लियोन), लोयड लन्डन, केन्या रि (केन्या), भुटान रि (भुटान) लगायत विश्वका विभिन्न पुनर्बिमा कम्पनीसँग पुनर्बिमा गर्दै आएका छन् ।
जी

वन बिमा कम्पनीले भने स्कोर ग्लोबल लाइफ रि (सिंगापुर), ह्यानओभर रक रि (मलेसिया), डेलवेयर अमेरिकन पुनर्बिमालगायत कम्पनीसँग पुनर्बिमा गराउँदै आएका छन् ।

अमेरिकाको ट्विन टावर ध्वस्त भएपछि जोखिम बहन गर्ने सारथीको रूपमा बिमालाई रोज्न थालियो।
नेपालमा आकस्मिक बिमा कोष पुनर्बिमा कम्पनीमा परिणत भयो ।

नेपाल पुनर्बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँगको कुराकानीमा आधारित


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.