काश्मिरमा तीर्थयात्री माथिको आक्रमण निन्दनीय
काठमाडौ : प्रधानमन्त्री शेरबहादुर देउवाले आतंककारी गतिबिधि नियन्त्रण गर्न दक्षिण एशियाली मुलुक वीच सहकार्य जरुरी रहेको बताउनु भएको छ । जम्मु काश्मिरमा भएको आक्रमणको निन्दा गर्दै प्रधानमन्त्री देउवाले त्यस्तो धारणा व्यक्त गर्नु भएको हो ।
‘यस्ता आतंककारी गतिविधि नियन्त्रणका लागि दक्षिण एसियाली मुलुकहरुबीच एक आपसमा हातेमालो र सहकार्य हुन जरुरी छ । नेपाल सरकार यस्ता आतंककारी गतिविधि रोक्ने कार्यमा सहयोग गर्न सधै तयार रहने छ’ प्रधानमन्त्री देउवाले भन्नुभएको छ ‘लोकतन्त्र र लोकतान्त्रीक प्रणालीको सबैभन्दा वलियो पक्ष भनेकै जनताले आफ्नो इच्छा अनुसारको मुल्य, मान्यता, धर्म र संस्कृति अंगाल्न पाउने स्वतन्त्रता हो । अझै धार्मिक स्वतन्त्रताको संवैधानिक रुपमै सुनिश्चितता भएको छिमेकी मुलुक भारतमा नागरिकको आस्था माथि प्रहार हुनु अत्यन्त अमानविय र घोर निन्दनीय कार्य हो । ’
भारत प्रशासित काश्मिरमा भएको आक्रमणमा परी सात जना हिन्दु तीर्थयात्री मारिएका छन् । ती मध्ये ६ जना महिला र एक जना पुरुष रहेका छन् ।
लाखौ हिन्दु तीर्थयात्री जाने गरेको अमरनाथ गुफा भन्दा ८० किलोमिटर नजिक पर्ने सो घटनामा १९ जना घाइते भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उक्त घटनालाई लज्जाजनक भन्दै सो घटनाको जति निन्दा गरे पनि कम हुने बताउनु भएको छ ।
प्रधानमन्त्री देउवाले मंगलवार प्रेस बिज्ञप्ति जारी गरी भन्नु भएको छ ‘नागरिकले आफ्नो इच्छा अनुसारको कुनै पनि धर्ममा आस्था र विश्वास राख्न पाउनु विश्वव्यापी मानवअधिकारको आधारभुत मान्यता हो ।’