ब्ल्याक बेल्ट ग्रेडिङ उत्तीर्ण ३१ कराते खेलाडी सम्मानित
भक्तपुर : ब्ल्याक बेल्ट ग्रेडिङ उत्तीर्ण भक्तपुरका ३१ जना सितेरियो कराते खेलाडी सम्मानित भएका छन् । काठमाडौंको रगंशालामा गएको जेठ ३० देखि असार ३ गतेसम्म सञ्चालित ग्रेडिङमा उत्तीर्ण भई पहिलो, दोस्रो र तेस्रो डान हुन सफल सितेरियो कराते खेलाडीहरुलाई सम्मान गरिएको हो ।
ह्याङ्ला आदिवासी तामाङ समाज र आदिवासी युवा तथा खेलकुद समितिको तर्फबाट नेपाल कराते महासंघ तथा सितेरियो कराते संघका अध्यक्ष दावा गुरुङले उत्तीर्ण खेलाडीहरुलाई सम्मान गरेका हुन् ।
यसरी सम्मानित हुने कराते खेलाडीहरुमा ब्ल्याक बेल्ट ग्रेडिङमा तेस्रो डान उत्तीर्ण राजुसिं बजिको रहेका छन् ।
त्यस्तै दोस्रो डान उत्तीर्ण कृष्णराम जाकिबञ्जार, हरिकृष्ण प्रजापति, राजीव रञ्जित, सचिदानन्द बनेपाली, करुणा श्रेष्ठलगायत १६ जना छन् ।
पहिलो डान उत्तीर्ण हुने दीपेश राई, विशाल तामाङ, शान्ति तामाङ, पुजन लामा, प्रकाशबहादुर शाही, रोजिता रञ्जितसहित १४ जना खेलाडी पनि सम्मानित भएका थिए ।
उक्त अवसरमा अध्यक्ष गुरुङले ब्ल्याक बेल्ट ग्रेडिङमा डान लिएपछि खेलको विकास र विस्तारमा लाग्न सुझाव दिए । ‘डान लिएको खेलाडीले नयाँ खेलाडी प्रशिक्षण दिने तथा राष्ट्रिय खेलमा संलग्न भएमात्रै यसको औचित्य पुष्टि हुन्छ’, उनले भने ।
ह्याङ्ला आदिवासी तामाङ समाजका केन्द्रीय अध्यक्ष कर्मा लोप्साङ लामाले नेपाली खेलाडीलाई खेल खेल्नुभन्दा पनि खेलमा निरन्तरता दिने समस्या हुँदै आएको बताए ।
खेलाडीले निरन्तरता नपाउने कारणले नै खेलकुदको अपेक्षाकृत विकास र विस्तार नभएको उनको भनाइ थियो । उनले खेलाडीहरु पनि आफू निरन्तर खेल क्षेत्रमै होमिन्छु भन्ने भावना लिएर आउनुपर्ने बताए ।
कार्यक्रममा सिद्धि स्मृति प्रष्ठिानका संस्थापक अध्यक्ष श्यामसुन्दर धौभडेल, राष्ट्रिय खेलकुद परिषद्का सहायक प्रशिक्षक एवं वरिष्ठ कराते प्रशिक्षक राजेन्द्र कपाली, भक्तपुर जिल्ला सितेरियो कराते संघका वरिष्ठ प्रशिक्षकद्वय रोशन प्रजापति र मनोज हाडा, ह्याङ्ला आदिवासी खेलकुद समितिका अध्यक्ष सूर्यबहादुर लामा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका सचिव एवं कराते प्रशिक्षक रामशरण त्वातीले खेलाडीको निरन्तरताको लागि प्रतियोगिताहरु पनि नियमित हुनुपर्ने धारणा राखे ।
नयाँ नयाँ खेलाडी उत्पादन भइरहे पनि खेलाडीको अनुपातमा प्रतियोगिता नहुँदा खेलकुदको विकास र विस्तारमा कठिनाइ भएको उनीहरुको भनाइ थियो ।
त्यस्तै नेपाल कराते महासंघ कार्यालय सचिव रजेन्द्र क्षेत्री, समाजसेवी रविन्स लामा, सितेरियो कराते संघका प्रवक्ता ईश्वर थापा, वरिष्ठ कराते प्रशिक्षक मधु लामा, नेपाल तामाङ घेदुङ संघ भक्तपुरका वीरबहादुर घिसिङलगायतले खेल विकास र विस्तारमा सबै एकजुट हुनुपर्ने धारणा राखे ।