बंगलादेशविरुद्ध नेपाल यू–२३ विजयी
काठमाडौ : एसियाली फुटवल महासंघ (एएफसी) यू–२३ च्याम्यियनसिप छनोटको तयारी स्वरुप खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा नेपाल बिजयी भएको छ । नेपाली यू–२३ टोलीले बंगलादेशको यू–२३ टोलीलाई १–० गोलले पराजित गरेको छ ।
सातदोबाटो स्थित अखिल नेपाल फुटवल संघ (एन्फा) को स्ट्रो टर्फमा खेलिएको खेलमा बिमल घर्ती मगरको एक मात्र निर्णायक गोलमा नेपाल बिजयी बनेको हो । बिमलले खेलको २० औं मिनेटमा अञ्जन बिष्टको पासमा उत्कृष्ट गोल गर्दै टोलीलाई १–० ले अघि बढाएका थिए । त्यसपछिको समयमा दुबै टोलीबाट थप गोल हुन नसकेपछि बिमलको गोल नै नेपालको जितमा निर्णायक बनेको थियो ।
नेपालले मैत्रीपुर्ण खेल मै भएपनि यस अघि भारतमा भएको १२औं दक्षिण एसियाली खेलकुद (साग) मा बंगलादेशको यू–२३ टोलीसँग बेहोरेको पराजयको बदला लिएको छ । १२ औं सागको समुह चरणमा भएको खेलमा नेपाल बंगलादेशसँगको यू–२३ टोलीसँग २–१ गोलले पराजित भएको थियो ।
नेपाल र बंगलादेश दुबै टोलीले संयुक्त अरब इमिरेट्स (यूएई) मा असार ३१ देखि साउन ४ गतेसम्म सञ्चालन हुने एएफसी यू–२३ च्याम्पियनसिप छनोट प्रतियोगिताको तयारी स्वरुप यो मैत्रीपुर्ण खेल खेलेको हो । छनोट खेलमा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा आयोजक यूएई, उज्बेकिस्तान र लेबनान रहेका छन् । समूहको पहिलो खेल नेपालले असार ३१ गते यूएईसँग खेल्नेछ । नेपालले दोस्रो खेल साउन २ गते उज्बेकिस्तान र अन्तिम खेल साउन ४ गते लेबनानसँग खेल्नेछ । यसैगरी बंगलादेश समूह ‘ई’ मा रहेको छ । बंगलादेशको समूहमा जोर्डन, ताजिकिस्तान र प्यालेस्टाइन रहेका छन् ।