सौराह क्षेत्रका होटल सुनसान
काठमाडौं : नारायणगढ-मुग्लिन सडकमा दिनहुँ आउने पहिरो र सडक विस्तारको प्रत्यक्ष असर सौराह क्षेत्रका होटल व्यवसायमा परेको छ । हाल यो सडकखण्डको सवारी आवागमनमा अवरोध भइरहेको छ । सौराह क्षेत्रमा एक सय ५० भन्दा बढी होटल छन् ।
नारायणगढ-मुग्लिन सडक हुँदै चल्ने साना सवारीले वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन् । तर, ठूला र पर्यटकीय बस चल्नसक्ने अवस्थामा छैन । यसको प्रत्यक्ष मारमा सौराहका होटल व्यवसायी परेका छन् । एक ठाउँमा आएको पहिरो सफा गर्न नपाउँदै अर्को ठाउँमा पहिरो जाँदा सौराह हिँडेका पर्यटक पनि बीच बाटोमा अलपत्र छन् । सौराह काठमाडौं उपत्यका बाहिरको दोस्रो पर्यटकीय गन्तव्य हो । पोखरापछि धेरै पर्यटक जाने सौराह विगत एक महिनादेखि सडक अवरोधकै कारण सुनासन बनेको छ ।
जंगल सफारीदेखि दुलर्भ एक सिंगे गैंडा र बाघ हेर्न आउने स्वदेशी तथा विदेशी पर्यटक सौराह क्षेत्रमा कमै मात्रमा देखिन्छन् । जंगल सफारीका लागि सबैभन्दा सहज गन्तव्य पनि सौराह नै हो । त्यसमा पनि दुर्लभ मानिने घडियाल तथा विभिन्न प्रजातीका वनस्पति र पशुपंक्षी हेर्न खर्चालु पर्यटक आउने गन्तव्यको रूपमा सौराह क्षेत्रलाई लिइन्छ ।
सौराह क्षेत्रको समस्याले समग्र पर्यटन क्षेत्रमा असरपर्ने पर्यटन व्यवसायी बताउँछन् । विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीको चपेटामा परेको सौहारको होटल व्यवसाय पुनः नारायणगढ-मुग्लिन सडक विस्तार र पहिरोको चापमा परेको हो ।
सामान्य अवस्थामा ३० देखि ४० प्रतिशत अकुपेन्सी हुने सौराह क्षेत्रका होटलमा अहिले १० प्रतिशत पनि अकुपेन्सी नरहेको जंगल सफारी लजका सञ्चालक तथा क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरे बताउनुहुन्छ । ‘दिनहुँ जस्तै नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले बाटो बन्द छ', घिमिरे भन्नुहुन्छ, ‘पर्यटक आउनसक्ने अवस्था छैन, आएन्न कसरी भन्ने ।'
पर्यटकीय हिसाबले अहिले अफ सिजन हो । तर, सामान्य अवस्थामा ३० प्रतिशतको हाराहारीमा अकुपेन्सी हुन्थ्यो । भूकम्पका बेला पनि ३० प्रतिशतभन्दा कम थिएन् । ‘तर, सडक समस्याले अहिले मुस्किलले १० प्रतिशत ग्राहक छैनन्', घिमिरे भन्नुभयो,‘ व्यवसायीको काम होटलको ढोका खोल्ने र बन्द गर्ने मात्रै भएको छ । ट्राभल एजेन्सीले चितवन जान्छु भने पर्यटकलाई समेत सौराह लैजान मान्दैन्न ।'
चितवन जान चाहने पर्यटकलाई पनि एजेन्सीले अन्य गन्तव्य लगिरहेका छन् । ट्राभल एजेन्सीसँग छलफलको तयारीमा रहेको घिमिरेले जानकारी दिनुभयो । देशकै धेरै पर्यटक आउने स्थानमध्ये सौराह तेस्रो नम्बर परे पनि सरकारी स्तरबाट वेवास्ता भएको उहाँको भनाइ छ ।
व्यवसायीले हवाई सेवा दिँदै आएका कम्पनीसँग भरतपुर-पोखराको उडान गरिदिन समेत आग्रह गरिएको उहाँले जानकारी दिनुभयो । यो उडान भएको भए १० प्रतिशत पर्यटक आगमन बढ्ने उहाँको भनाइ छ । उनका अनुसार अहिले सौराहमा आउने कुल पर्यटकको संख्यामा ६० प्रतिशत भारतीय छन् । युरोप र अमेरिकाबाट आउने खर्चालु पर्यटकको संख्या १० प्रतिशत पनि नरहेको घिमिरेको भनाइ छ ।
सौराह क्षेत्रमा एक सय १० र आसपसामा ४० वटा गरी एक सय ५० होटलमा तीन हजार पाँच सयभन्दा बढी कोठा छन् । पर्यटकको संख्या दैनिक तीन सयको हाराहारीमा छ । त्यसका पनि व्यवसायीबीच चर्को प्रतिस्पर्धाका कारण केही होटेल शून्य जस्तै भएको उहाँ बताउनुहुन्छ । केही मात्रमा भारतीय पर्यटक दामन हुँदे आफ्नै सवारी र हवाई मार्ग प्रयोग गरेर आए पनि साधरण खर्च गर्ने पर्यटकको संख्या शून्य जस्तै रहेको व्यवसायी बताउँछन् ।
पोखरापछि धेरै पर्यटक जाने सौराह विगत एक महिनादेखिको सडक अवरोधकै कारण सुनासन बनेको छ ।
सामान्य अवस्थामा ३० देखि ४० प्रतिशत अकुपेन्सी हुने सौराह क्षेत्रका होटलमा अहिले १० प्रतिशत पनि अकुपेन्सी छैन ।
सौराह आसपासकै कसरा क्षेत्रका होटल भने बन्द हुन थालिसकेका छन् ।
सरकारले सबैभन्दा पहिले सडकखण्डमा पहिरो रोकथामको काम गर्नुपर्छ । विदेशी पर्यटकले आफ्नो देशमा पर्केंदै गर्दा सौराह क्षेत्रको नकारात्मक सूचना प्रवाह गरेको अवस्थामा देशकै पर्यटन क्षेत्रमा समस्या आउने घिमिरेको भनाइ छ । ‘तत्काल सौराह क्षेत्रमा मात्रै समस्या देखिएको हो', घिमिरे भन्नुहुन्छ, ‘छिट्टै वैकल्पिक मार्गको खोजी गर्दै सौराह जाने चाहने पर्यटकलाई अवसर मिलाउनुपर्छ ।'
सरकारले भण्डार-मलेखु सडकखण्डमा पर्ने दुईवटा खोलामा पुल निर्माण गरेर भए पनि वैकल्पिक बाटो निर्माण गर्नुपर्ने उहाँको भनाइ छ । यो बाटो खोल्न सकेको अवस्थामा एक दुई वर्षका लागि कुनै समस्या नआउने घिमिरेको भनाइ छ । विगत केही वर्ष अगाडिसम्म वर्षा लागेसँगै सौराह क्षेत्रका होटल बन्द हुन्थे । अफ सिर्जनमा पनि चार÷पाँच वर्षदेखि ४० प्रतिशतसम्म अकुपेन्सी हुने होटल अहिले नारायणगढ-मुग्लिन सडक खण्डको अवस्था बिग्रदा पुनः सोही अवस्थामा फर्कंने त होइन भने चिन्ता सुरु भएको जंगल वाइडलाइफ क्याममा सञ्चालक नारायण भट्टराई बताउनुहन्छ ।
विदेशी पर्यटकको संख्या कमी हुँदा पनि आन्तरिक पर्यटनले भरिभराउ हुने होटलमा अहिले आन्तरिक पर्यटक शून्य जस्तै रहेको उहाँको भनाइ छ ।
अहिले पर्यटक आउने बाटोको अवस्थालाई हेर्दा जति आएका छन् त्यसमै चित बुझाउनुपर्ने भट्टराईको भनाइ छ । १० प्रतिशत ग्राहकबाट लिने सेवा सुविधाले स्टाफ पाल्न समेत समस्या आइसको उहाँको भनाइ छ । सौराह आसपासकै कसरा क्षेत्रका होटल भने बन्द हुन थालिसकेका जंगल भिल्ला रिसोर्टका सञ्चालक गणेश पौडेलले जानकारी दिनुभयो । सामान्यतः विगतका वर्षमा अफ सिजर्न भए पनि २० प्रतिशतसम्म ग्राहक आउँथे तर अहिले सडक समस्याका कारण ५ प्रतिशत पनि नरहेको उहाँको भनाइ छ ।