बैंक खाता ५० लाख बढ्ने

बैंक खाता ५० लाख बढ्ने

काठमाडौं : नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा ५० लाखले बैंक निक्षेप खाता बढ्ने बताएको छ । सबै नेपालीमा बैंकिङ पहुँच पुर्‍याउने उद्देश्यसहित राष्ट्र बैंकले नयाँ मौद्रिक नीतिमार्फत दुई हजार पाँच सय रुपैयाँको खाता खोल्नेलाई एक वर्षसम्म एक करोड निब्र्याजी ऋण दिने नीति ल्याएको छ ।

यसका कारण आगामी आर्थिक वर्ष बैंक खाता बढ्ने नेपाल राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिनुभयो । यस्तै दुर्गमका स्थानीय तहमा जाने बैंकलाई पनि एक वर्षसम्म एक करोड निब्र्याजी कर्जा उपलब्ध गराउने राष्ट्र बैंकको प्रतिबद्धता छ । यसले बैंक तथा वित्तीय संस्थाले पनि आफ्नै पहलमा बैंक खाता बढाउनेछन् । देश संघीय संरचनामा गएर सात सय ४४ वटा स्थानीय तह बने पनि हालसम्म दुर्गममा बैंक विस्तार हुन सकेको छैन ।

मौद्रिक नीतिमार्फत स्थानीय तहमा राष्ट्र बैंकले अनिवार्यरूपमा शाखा विस्तार गर्न निर्देशन दिने भएको छ । हाल नेपालभरि दुई हजार आठ सय ७१ वटा बैंक शाखा रहे पनि तीन सय ९२ वटा स्थानीय तहमा मात्र बैंक शाखा छन् । अझै तीन सय ५२ स्थानमा बैंक शाखा पुग्न बाँकी छ । २५ सय बराबरको खाता खोल्दा सहुलियतमा ऋण पाउने भएपछि बैंकिङ पहुँच विस्तार हुने राष्ट्रले जानकारी दिएको छ । यसका साथै १० लाखभन्दा बढीको नगद कारोबार गर्न पनि राष्ट्र बैंकले यही साउनदेखि रोक लगाउँदै छ भने सोभन्दा माथिको कारोबारमा एसी चेक प्रयोग गर्नुपर्ने भएकाले पनि खाता खोल्न सबैको आकर्षण बढ्नेछ ।

वर्षमै २७ लाखले बढ्यो खाता

एक वर्षमा बैंक तथा वित्तीय संस्थामा खाता खोल्नेको संख्या २७ लाख १६ हजार ६ सयले बढेको छ । गएको वर्ष यसै अवधिमा बैंक तथा वित्तीय संस्थामा एक करोड ६१ लाख २७ हजार निक्षेप खाता रहेकामा हाल बढेर एक करोड ८८ लाख ४३ हजार ६ सय पुगेको नेपाल राष्ट्र बेंकले जानकारी दिएको छ । सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमा ‘सबै नेपालीको बैंक खाता’ अभियान सुरु गरेकाले निक्षेप खाता खोल्नेको संख्या उल्लेख्य बढेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमा ‘सबै नेपालीको बैंक खाता' अभियान सुरु गरेकाले निक्षेप खाता खोल्नेको संख्या उल्लेख्य बढेको छ ।

यो अभियानमार्फत नेपाल राष्ट्र बैंकले शून्य मौज्दातमा खाता खोल्ने व्यवस्था मिलाइ दिएपछि नेपालीको बैंकिङ क्षेत्रमा पहुँच बढ्दै गएको हो । निक्षेप खातामध्ये एक करोड ४९ लाख २९ हजार खाता वाणिज्य बैंकमा खोलिएको छ भने ३४ लाख ३७ हजार विकास बैंकका निक्षेप खाता हुन् । हालसम्म वित्त कम्पनीमा चार लाख ७६ हजार आम निक्षेपकर्ताको खाता रहेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार निक्षेपकर्ताको खाताभन्दा कर्जा खाताको संख्या निकै कम छ ।

हालसम्म बैंक तथा वित्तीय संस्थामा ११ लाख ८३ हजार ६ सय ३२ मात्र कर्जा खाता खोलिएको छ । गत वर्ष यो अवधिमा यस्तो खाताको संख्या १० लाख ६७ हजार सात सय थियो । यसको अर्थ बैंकमा निक्षेप संकलन गर्नेभन्दा कर्जा लिने संख्या अत्यन्त कम भएको बुझ्न सकिन्छ । देशमा उद्योगधन्दा तथा व्यापार व्यवसाय फस्टाउन सकेमा कर्जाको खाता बढ्ने हो । खासै उत्साहजनक तरिकाबाट व्यवसाय फस्टाउन नसकेका कारणले पनि तुलनात्मक रूपमा यस्तो खाता कम भएको बैंकर्सको भनाइ छ ।

यसैगरी मोबाइल बैंकिङ सेवामार्फत बैंकिङ सेवा लिने ग्राहकको संख्या २४ लाख २६ हजार पुगेको छ भने इन्टरनेट बैंकिङ सेवाको सात लाख ३४ हजार ग्राहक माझ पुगेको छ । दुई हजार ४७ स्थानमा एटीएम मेसिन जडान गरिएको छ । डेबिट कार्डको संख्या ५१ लाख आठ हजार तथा क्रेडिट कार्डको संख्या ६४ हजार पुगेको राष्ट्र बैंकको तथ्यांक छ ।

२०७३ जेठमा बैंक तथा वित्तीय संस्थाको प्रतिशाखाबाट औसतमा करिब छ हजार ६ सय ४७ जनसंख्याले सेवा प्राप्त गरेकामा यस वर्ष एक शाखाबाट पाँच हजार आठ सय नौ जनाले सेवा प्राप्त गरेका छन् । शाखारहित बैंकको संख्या एक सय ४२ पुगेको छ । हालसम्म एक ५५ वटा बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तीको प्रक्रियाबाट एक सय १२ वटा संस्था खारेज भई ४३ मा सीमित रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.