भारत-पाकिस्तान तनावमै सार्क बैठक

भारत-पाकिस्तान तनावमै सार्क बैठक

काठमाडौं : भारत-पाकिस्तानबीचको तनावकै अवस्थामा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का मन्त्रीस्तरीय बैठक आयोजना हुन थालेका छन् । भोलि (बिहीबार) श्रीलंकामा सार्क गृहमन्त्रीस्तरीय बैठक हुँदै छ । बैठकमा क्षेत्रीय आतंकवाद नियन्त्रण, सीमापार आतंकवादबाट उत्पन्न समस्या हल, साइबर अपराध नियन्त्रण गर्नेलगायत विषयमा छलफल हुने भएको छ ।

सार्क सचिवालयका अनुसार सार्कका स्वास्थ्यमन्त्रीस्तरीय बैठक पनि जुलाई अन्तिम साता कोलम्बोमा बस्नेछ । संयुक्त राष्ट्रसंघीय महासभाको दौरान सार्कका विदेशमन्त्रीहरूको बैठक (सार्क काउन्सिल अफ मिनिस्टर्स) अगस्टमा न्युयोर्कमा हुनेछ । सार्कका विदेशमन्त्रीहरूको बैठकले सार्क शिखर सम्मेलनबारे पनि छलफल गर्नेछ । 'सार्कका मन्त्रीस्तरीय बैठकहरूले १९औं शिखर सम्मेलन आयोजना गर्न सकारात्मक माहोल निर्माण हुने विश्वास लिइएको छ', परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने ।

सार्कको वर्तमान अध्यक्ष मुलुक नेपालले पनि शिखर सम्मेलन आयोजनाका लागि सकारात्मक वातावरण बनाउन भारत र पाकिस्तानलाई आग्रह गरिसकेको छ । हालैको भारत भ्रमणमा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतीय समकक्षी सुष्मा स्वराजसँग सार्क सम्मेलनका लागि भारतको भूमिका महत्वपूर्ण हुने स्मरण गराउनुभएको थियो । मन्त्री महराका अनुसार भारतीय विदेशमन्त्री स्वराजले सार्क सम्मेलन गर्नुपर्छ भन्नेमा भारत सकारात्मक रहेको बताउनुभएको थियो । 'तर, सार्क शिखर सम्मेलनका लागि पाकिस्तानले माहोल बनाउन आवश्यक छ', स्वराजले भन्नुभएको थियो ।

नेपालमा मन्त्रिपरिषद् विस्तार भएलगत्तै सार्कका यातायात र ऊर्जामन्त्रीस्तरीय बैठक काठमाडौंमा आयोजना गर्ने तयारी छ । यसअघि पाकिस्तानले अप्रिल १२ र १३ मा इस्लामावादमा सार्क 'साउथ एसियन इकोनोमिक युनियन' बनाउने अवधारणाबारे बैठक आयोजना गरेको थियो । उक्त बैठकमा भारतलगायत सार्कका सबै सदस्य मुलुकको सहभागिता थियो । त्यसअघि फेब्रुअरी १ देखि ३ सम्म नेपालमा सार्क कार्यक्रम समितिको बैठक आयोजना भएको थियो ।

सार्कका अन्य संयन्त्रका बैठक सुचारु गर्ने तयारी पनि भइरहेको परराष्ट्रका एक अधिकारीले बताए । सार्कको ३२ वर्षे यात्रामा भारत र पाकिस्तानबीच कस्मिरलगायत विषयमा विवाद हुँदै आएका कारण सार्कका नियमित बैठक रोकिने र पुनः आयोजना हुने घटना प्रशस्त छन् । 'गत वर्ष सार्क शिखर सम्मेलन स्थगन भएपछि केही महिना सार्कका बैठक प्रभावित भए पनि फेरि हुन थालेका छन् । यसले सार्क शिखर सम्मेलनको वातावरण बनाउने हाम्रो अपेक्षा छ', परराष्ट्रमा सार्क महाशाखा हेर्ने सहसचिव मणिप्रसाद भट्टराईले भन्नुभयो ।

नोभेम्बर ८ देखि १० का लागि प्रस्तावित सार्कको १९औं शिखर सम्मेलन भारतसहित चार मुलुकले सहभागी हुन अस्वीकार गरेपछि स्थगन भएको थियो । एक वर्षयता कस्मिरमा भएका आतंककारी आक्रमणमा पाकिस्तान जिम्मेवार रहेको भारतको आरोप छ । पाकिस्तानले भने भारतको आरोपलाई अस्वीकार गर्दै आएको छ । सार्क सम्मेलनको नयाँ मिति अझै तय हुन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.