‘संसद्को मर्यादाका लागि पहिलो सभामुख किसुनजी’
काठमाडौं : संसद्को मर्यादा र गरिमाका लागि पहिलो जननिर्वाचित संसद्का सभामुख स्वर्गीय कृष्णप्रसाद भट्टराईबाट पाठ सिक्नुपर्नेमा जानकारले जोड दिएका छन् । ०१५ सालमा पहिलोपटक जननिर्वाचित संसद्का सभामुख भट्टराईले संसद्मा पारदर्शी र गहन छलफल गराएको, सांसद र संसद्को गरिमालाई उच्च राखेको भन्दै उनीहरूले ‘सांसदलाई पार्टीको मजदुर’ बनाउन नहुनेमा जोड दिएका हुन् ।
संसदीय अध्ययन तथा विकास संस्थापनद्वारा प्रथम सभामुख भट्टराईको स्मृतिमा मंगलबार आयोजित प्रवचनमाला कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुंगानाले किसुनजीले नैतिकता र निष्ठाको राजनीति सँगसँगै अघि बढाउनुभएको बताउनुभयो । ‘हामीले प्रजातन्त्रका लागि जति ठूलो योगदान गरेका छौं तर किसुनजीको जस्तो संस्कृति निर्माणमा योगदान गर्न सकेका छैनौं’, उहाँले भन्नुभयो, ‘प्रजातन्त्रलाई स्थिरता दिनु र जनतासँग जोड्नु ठूलो कुरा हो ।’ मूल्यमान्यता भएका नेता थोरै मात्र भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘जनता र जनप्रतिनिधि सार्वभौम भएको घोषणा गरेका छौं तर वास्तविकतामा त्यो भएको छैन कि भन्ने प्रश्न हो ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्र आवश्यक छैन भनेर किसुनजीले मान्यता राख्नुभए पनि गणतन्त्र आइसकेपछि धेरै विरोध नगरेको बताउनुभयो । किसुनजीसँग झन्डै ६ दशक मित्रता र सहकार्य गर्नुभएका पूर्वगृहमन्त्री योगप्रसाद उपाध्यायले त्यसबारे जानकारी गराउनुभएको थियो । ‘मैले एक दिन किसुनजीलाई सोधें– तपाईंको राजसंस्थाबारे सोच के हो?
उहाँले भन्नुभयो– जे भए पनि हामीलाई एक राष्ट्रप्रमुखको आवश्यक पर्छ । र, जब यो संस्था छँदै छ र जनताबाट स्वीकार्य पनि छ भने हामीले निर्वाचित राष्ट्रप्रमुख खोजेर अस्थिरता निम्त्याउनुहुँदैन । त्यसैले हाम्रो प्रयास संवैधानिक राजतन्त्र स्थापना गर्नतर्फ केन्द्रित हुनुपर्छ । किसुनजीको यो कुरा सुनेपछि मलाई अत्यन्तै खुसी लाग्यो,’ उपाध्यायले पुरानो कुरा सहभागीलाई सुनाउनुभयो ।
प्राडा वीरेन्द्र मि श्रले संसद् र लोकतन्त्रको गरिमाका लागि पहिलो सभामुख किसुनजीबाट पाठ सिक्नुपर्ने बताउनुभयो । ‘हाम्रो व्यवस्था प्रधानमन्त्रीय होइन, सभामुखीय हो’, उहाँले भन्नुभयो, ‘संसद् र लोकतन्त्रको गरिमा सभामुखको कुशलतामा भर पर्छ ।’ कांग्रेस नेता भक्तबहादुर बलायरले प्रजातन्त्रको कुरा जनतामा जाओस् भन्ने किसुनजीको मान्यतालाई आत्मसात् गर्नुपर्ने बताउनुभएको थियो ।