किन हार्‍यो कांग्रेस ?

किन हार्‍यो कांग्रेस ?

वैशाख ३१ र असार १४ गते भएको स्थानीय तहको निर्वाचनमा एमाले पहिलो र नेपाली कांग्रेस दोस्रो भएका छन् । यसअघि २०७० मा भएको संविधानसभा चुनावमा कांग्रेस पहिलो र एमाले दोस्रो शक्ति भएका थिए । चार वर्षमा शक्ति समीकरण बदलिएको स्थानीय तहको चुनावको परिणामले देखायो । किन कांग्रेस दोस्रो स्थानमा खुम्चनुपर्‍यो ? जब कि कांग्रेसको नेतृत्वमा संविधानसभाले संविधान पारित गर्‍यो । स्थानीय तहको सफल निर्वाचनले संविधान कार्यान्वयन र मुलुकले स्थिरतातर्फ फड्को मारेको छ ।

कांग्रेसले गम्भीर रूपमा आत्मसमीक्षा गर्नु जरुरी छ । ६ महिनापछि नै दुइटा महत्वपूर्ण निर्वाचन सम्पन्न गरिसक्नुपर्नेछ, अन्यथा यो व्यवस्था नै रहने छैन । त्यसकारण पनि कांग्रेसले यो चुनावमा कहाँ के कमीकमजोरी भयो ? समीक्षा गरी निदान खोज्नु जरुरी छ ।

स्थानीय तहको चुनाव सुरु हुनुपहिले प्रजातन्त्रवादी बुद्धिजीवीको एउटा भेलामा महामन्त्री डा. शशांक कोइराला प्रमुख अतिथि हुनुहुन्थ्यो । उहाँलाई नै सम्बोधन गरेर पंक्तिकारले भनेको थियो, 'स्थानीय तहको चुनाव हुँदैछ यतिबेला कांग्रेसको आन्तरिक अवस्था हेर्दा चुनावमा कांग्रेसलाई हराउन अरूको आवश्यकता पर्ने छैन, कांग्रेस हराउन कांग्रेस नै काफी हुनेछ । कांग्रेस केन्द्रदेखि गाउँसम्म विभाजित छ ।' नभन्दै भयो पनि त्यही । देशभरका कार्यकर्ताले यही कुरा महसुस गरेका थिए । सबभन्दा पहिले त टिकट दिनमा नै ढिला गरियो, मनोनयन पत्र दर्ता गर्नु अघिल्लो रातसम्म खुसुक्क सिफारिस पत्र दिइयो ।

पत्र पाउने पात्र ठीक थिए या थिएनन् भन्दा पनि जुन प्रक्रियाबाट टिकट दिइयो ठूलो संख्यामा कार्यकर्ताले त्यसलाई अपमान महसुस गरे । त्यसले कार्यकर्ता स्वस्पूmर्त रूपमा परिचालन भएनन् । कार्यकर्ताको भावना नबुझेर टिकट दिइएको हुँदा कति ठाउँमा विद्रोह पनि भयो र व्यापक रूपमा अन्तर्घात भयो । नेताको नजिक, केन्द्रमा पहुँचको आधारमा टिकट दिइयो । कतिपय उम्मेदवार कार्यकर्तामाझ नै परिचित थिएनन् । स्थानीय तहको चुनावमा पार्टीको नाम र झन्डाबाहेक सबै विषय स्थानीय थिए, जनताले वर्षौंदेखि भोगेका पीडा खानेपानी, बाटो, विद्युत्, शिक्षा र स्थास्थ्य अनि २० वर्षदेखि जनताले भोग्नुपरेको भ्रष्टाचार, गुन्डा नाइकेको दबदबा । यति ठूलो अव्यवस्थित रूपमा चुनाव भयो कांग्रेसको संयन्त्रले काम गरेको थिएन, विद्रोह गर्ने, अन्तरघात गर्ने केन्द्रका नेताकै पहुँचका मान्छे थिए । तिनीहरूमाथि छानबिन र कारबाही भएन ।

कठोर समीक्षा गरेर पार्टी सुधार्नेतर्फ कांग्रेस लागेन भने फेरि पनि भन्नुपर्ने हुन्छ- कांग्रेसलाई हराउन विरोधी शक्ति आवश्यक पर्ने छैन । कांग्रेस नै कांग्रेसको पराजयको कारण बन्नेछ ।

नेपाली जनताको चेतनाको स्तर लामो समयदेखि प्रजातन्त्रको अभ्यास गरेका भारतीयहरूको भन्दा हाम्रो सर्वसाधारण जनतामा बढी छ । प्रजातन्त्र स्थापनापछि नै सूचनाको हक जनताको घरदैलोमा पुर्‍याउन हामीले व्यापक रूपमा एफएम रेडियो प्रसारण सुरु गर्‍यौं । पुग नपुग तीन करोड जनसंख्या भएको मुलुकमा अहिले ६ सय एफएम रेडियो दर्ता भएका छन् । तीमध्ये अधिकांश चालू छन् ।

तिनले २४ सै घन्टा जनतामा सूचना प्रवाह गरेका छन् । बिहान ६ बजे काठमाडौंका तथाकथित बुद्धिजीवीले मुलुकमा भएका घटनाको जुन जानकारी पाउँछन्, सुदूर पहाडी जिल्ला हुम्ला र ताप्लेजुङका जनताले पनि त्यही सूचना पाउँछन् । अहिले एफएम रेडियोलाई पनि पछाडि पार्दै मानिसका हातहातमा मोबाइल पुगेको छ । सामाजिक सञ्जालमार्फ त देशमा भएगरेका घटनाबारे जनता तुरुन्तै सुसूचित हुन्छन् ।

यत्रो व्यापक र जनस्तरमा चुनाव भयो एकदुइटा साना घटनाबाहेक कहींकतै हिंसात्मक दंगा भएन । कुनै साम्प्रदायिक घटना भएन । जातीय आधारमा राजनीति गर्नेहरूले विगत १० वर्षदेखि जनता-जनतामा विभाजित गर्ने कोसिस नगरेका होइनन्, तर चुनावी परिणामले तिनले नराम्रोसँग झापड पाएका छन् । मधेसी जनसंख्या बाहुल्य रहेका क्षेत्रबाट पहाडी महिला जितेकी छिन् भने राई, लिम्बू, मगर र गुरुङ बाहुल्य भएको ठाउँमा क्षेत्री बाहुन विजयी भए । उम्मेदवारको योग्यता र लोकप्रियता हेरेर जनताले मत दिए । यो नेपाली जनताको सहिष्णुता र प्रजातन्त्रप्रतिको अनुपम चरित्र हो । दुर्भाग्य हामीले प्रजातन्त्रको लामो अभ्यास गर्न पाएनौं । हामीले अभ्यास गर्न पाएको भए विश्वलाई नै नमुना प्रजातन्त्र देखाउने थियौं ।

जनतामा प्रजातन्त्रप्रति यति गहिरो अनुराम हुनु र तिनै जनताको हक अधिकारको निम्ति विगत ७० वर्षदेखि निरन्तर संघर्ष गरेको र आफ्नै नेतृत्वमा युगान्तकारी परिवर्तनको नेतृत्व पनि गरेको पार्टी कांग्रेसले यो चुनावमा किन अपेक्षित परिणाम ल्याउन सकेन । यसमा सबभन्दा गम्भीर समीक्षा कांग्रेसबाट हुनु जरुरी छ । अन्यथा अब छिटै हुने प्रान्त र संसद्को चुनावमा कांग्रेसले नराम्रो परिणाम भोग्नुपर्नेछ ।

सांगठनिक कमीकमजोरी र घात÷अन्तरघातका अतिरिक्त चुनावभन्दा पहिले भएका चार÷पाँचवटा काण्ड कांग्रेस पराजयका कारण हुन पुग्यो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुखविरुद्धको महाभियोग प्रस्तावप्रति अनिच्छुक रहनु तर प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको प्रस्तावमा कांग्रेसले जुन अग्रता देखायो, त्यसलाई जनताले पटक्कै रुचाएनन् ।

आफ्नो स्थापनाकालदेखि न्यायपालिकाको स्वतन्त्र र सम्मानजनक अधिकारको निम्ति लडेको कांग्रेस, कांग्रेसकै नेतृत्वबाट अदालतमाथि प्रहार हुँदा कार्यकर्ताले शिर निहुर्‍याएर हिँड्नुपर्‍यो । प्रतिशोध साँध्न गरिएको यो निर्णय थियो । यसले नेपालीमा चर्चित उखानलाई सम्झना दिलाउँछ 'बूढी मरीभन्दा काल पल्क्यो' भन्ने डर । कांग्रेसले नै अदालतप्रति प्रतिशोध राखेर महाभियोग ल्याउँछ भने स्वतन्त्र न्यायालयको अस्तित्व स्वीकार नगर्ने सर्वसत्तावादीको निम्ति यसले ढोका खोलिदियो । आईजीपी र राजदूत नियुक्ति प्रकरणमा कांग्रेसले लिएको अडानले पनि कांग्रेसका स्वाभिमानी कार्यकर्ताको शिर निहुरिएको छ।

सम्पूर्ण कार्यकर्ताको तेजोबध गर्ने काम माओवादीसँगको चुनावी तालमेलले गर्‍यो । 'नेपाली कांग्रेस जिन्दावाद । भोट केमा ? हँसिया-हथौडामा' यो नाराका साथ कार्यकर्ताले चुनावमा सहभागी हुनुपर्‍यो । द्वन्द्वकालमा माओवादीले 'कांग्रेसलाई खोजी-खोजी', 'पञ्चलाई रोजी-रोजी' र 'एमालेलाई सोधी-सोधी' नारा लगाएर काटेका थिए । तिनै माओवादीसँग कांग्रेसले चुनावी तालमेल गर्दा कांग्रेसले अहिलेसम्म अपनाउँदै आएको लोकतन्त्रप्रतिको प्रतिबद्धताको मर्मस्थलमा प्रहार भएको छ ।

जनताको भावनाविपरीत गरिएको यो तालमेललाई कांग्रेसले पटक्कै मन नपराएको भरतपुर महानगरपालिका र बुटवल उपमहानगरपालिकाको परिणामले देखायो । बुटवलको निर्वाचन परिणाम नै घोषित भयो । त्यहाँ कांग्रेसले अत्यन्त लोकप्रिय उम्मेदवार उठाएको थियो । माओवादीसँगको तालमेलकै कारण उनले हारे । भरतपुरमा पनि हार्ने निश्चित भएर नै माओवादीले मतगणनास्थलमा आक्रमण गरेर मतपत्र च्यातेको भन्ने गणना गरिसकेको मत संख्याले देखाउँछ । भरतपुर त्यो ठाउँ हो, जहाँ २०१८ सालमा कांग्रेसले सशस्त्र विद्रोह गरी दुई दिनसम्म सम्पूर्ण प्रशासन आफ्नो कब्जामा लिएको थियो । काठमाडौंबाट थप सेना गएपछि विद्रोहीको कब्जाबाट भरतपुर मुक्त गर्‍यो । त्यतिबेला कांग्रेसी कार्यकर्ता कति मारिए, त्यसको अभिलेख स्वयं कांग्रेससँग छैन ।
भरतपुर अस्पतालमा नियुक्ति पाएर काम गर्न गएका डा. मथुराप्रसाद श्रेष्ठका अनुसार काठमाडौंबाट थप सेना गएपछि त्यस क्षेत्रलाई पुनः फिर्ता लिन सेना सफल भयो । विद्रोहीलाई कब्जामा लिएपछि खाडल खन्न लगाएर जिउँदै खाडलमा हालेर माटोले उनीहरूलाई पुर्न लगायो । चेतना कम भएका दूरदराजका कुनै ठाउँमा कांग्रेस माओवादी तालमेलले चुनाव जिते पनि सहरी क्षेत्रमा कहीं पनि माओवादीसँगको तालमेलबाट कांग्रेसले चुनाव जितेन । एमाले र पञ्चले कांग्रेसको खिल्ली उडाउने मौका पाए ।

पार्टीले अपनाउँदै आएको सिद्धान्तमाथि नै स्खलन आएपछि कारण खोज्नेतर्फ कांग्रेसको ध्यान नजानु आम प्रजातन्त्रवादीको निम्ति चिन्ताको विषय हो । कांग्रेस सत्ता भागबन्डामा नै रुमलिएको छ । संस्थापन पक्षले त आफ्ना यी कमीकमजोरी उजागर हुने भयले बैठक नबोलाएको अनुमान गर्न सकिन्छ, आफूलाई संस्थापन इतरको दाबी गर्नेहरूले देखाएको उदासीनताबाट कार्यकर्ता निराश भएका छन् ।

महाधिवेशनपछिको सबभन्दा ठूलो निकाय महासमिति हो । पछिल्लो महाधिवेशन पछि महासमिति बैठक बोलाइएको छैन । जब कि विधानले प्रत्येक वर्ष महासमितिको बैठक बोलाउने व्यवस्था गरेको छ । अहिले कांग्रेसले लिएको नीति र अडानप्रति गम्भीर रूपमा प्रश्न उठेको छ राष्ट्रियताप्रतिको प्रतिबद्धता र छिमेकी भारत र चीनसँग सम्बन्धमा पनि सन्तुलन गुमाएको हो कि भन्ने आशंका कार्यकर्ताले नै गरेका छन् । त्यसकारण पनि कांग्रेसले महासमितिको बैठक बोलाउनु आवश्यक छ ।

अब हुने संसद् र प्रान्तको चुनाव स्थानीय तहको चुनावभन्दा धेरै गम्भीर र महत्वको हुने कुरामा कुनै द्विविधा छैन । स्थानीय तहको चुनावमा भएको अन्तरघात, विद्रोह र नेपाली समग्र राजनीति र खास गरेर कांग्रेसमा स्थापित भएको महागुन्डा नाइके (डन) माथि कठोर समीक्षा गरेर सुधार्नेतर्पm कांग्रेस लागेन भने फेरि पनि भन्नुपर्ने हुन्छ, कांग्रेसलाई हराउन विरोधी शक्ति आवश्यक पर्ने छैन । कांग्रेस नै कांग्रेसको पराजयको कारण बन्नेछ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.