गृहमन्त्री श्रीलंकातर्फ
काठमाडौं : आसन्न १९औं दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को तयारी बैठकमा भाग लिन गृहमन्त्री जनार्दन शर्मा मंगलबार श्रीलंका प्रस्थान गर्नुभएको छ । क्षेत्रीय सुरक्षाको विषयमा साझा रणनीति तथा एजेन्डा तय गर्न बिहीबार हुने सार्क गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन गृहसचिव लोकदर्शन रेग्मीसहित मन्त्री शर्मा श्रीलंका जानुभएको हो ।
गृहमन्त्रीस्तरीय बैठक बिहीबार श्रीलंकाको राजधानी कोलम्बोमा हुँदै छ । बैठकमा नेपालले आतंकवाद नियन्त्रणलाई छलफलको मुख्य एजेन्डा बनाएको छ । आतंकवादको सञ्जाल विश्वभर फैलँदै गएकाले जो पनि त्यसको सिकार बन्न सक्ने भएकाले नेपालका तर्फबाट आतंकवाद नियन्त्रणलाई मुख्य एजेन्डा बनाइएको स्रोतको भनाइ छ । बैठकमा मानव बेचबिखन, अध्यागमनबाट हुने अपराध, आतंकवाद, लागुऔषध, सीमापार अपराधलगायत विषयमा पनि छलफल हुनेछ ।
१९औं सार्क शिखर सम्मेलन पाकिस्तानमा हुने भनिए पनि भारत-पाकिस्तान बढ्दो तिक्तताका कारण मिति तय हुन सकेको छैन । बैठकले नेपालमा भएको १८ सार्क शिखर सम्मेलनले गरेका निर्णय र त्यसको कार्यान्वयनको समीक्षासमेत गर्ने कार्यक्रम छ । बैठकले आसन्न शिखर सम्मेलनमा उठाउने एजेन्डा तय गर्नेछ ।
मन्त्रीस्तरीय बैठकमा साइबर अपराधबारे पनि छलफल हुने भएको छ । गृह मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले नेपालका तर्फबाट आतंकवाद र क्षेत्रीय सुरक्षाका विषयमा छलफलका लागि एजेन्डा तय गरिएको बताउनुभयो । ‘सार्क शिखर सम्मेलनको तयारी बैठक हो । समग्र क्षेत्रीय सुरक्षाका विषयमा कुरा उठाउँछौं', प्रवक्ता काफ्लेले अन्नपूर्णसँग भन्नुभयो ।
गृहमन्त्रीस्तरीय बैठकका एजेन्डा तय गर्न मंगलबार सार्कस्तरीय अध्यागमन प्रमुखहरूको बैठक बसेको थियो । बैठकमा नेपालका तर्फबाट अध्यागमन विभागका महानिर्देशक गंगाराम गेलालले सहभागिता जनाउनुभएको थियो । बैठकमा महानिर्देशक गेलालले अध्यागमनको पछिल्लो अवस्था, अध्यागमनबाट हुने अपराध र त्यसको नियन्त्रणका लागि नेपाल सरकारले निर्वाह गरेको भूमिकाको विषयमा जानकारी गराउनुभएको थियो । उहाँले नेपालको अध्यागमनको स्तरोन्नति हुने अन्तिम तयारीमा रहेको र आतंकवादलाई नियन्त्रण गर्न ‘बोर्डर कन्ट्रोल सिस्टम’ लागू गर्न लागिएको बताउनुभएको थियो ।
सार्क अध्यागमनले उठाएका विषयवस्तुलाई बुधबार हुने सार्क सचिवस्तरीय बैठकमा छलफल हुने र बैठकले परिमार्जनसहित थप एजेन्डा गृहमन्त्रीस्तरीय बैठकमा पेस गर्नेछ ।