पर्यटकीय गन्तव्य बन्दै लदाम बगैंचा
सन्धिखर्क : अर्घाखाँची जिल्ला सदरमुकाममा रहेका शान्ति तथा लदाम बगैंचालाई आधुनिकीकरण तथा व्यवस्थापन अभियान सुरु भएको केही दिनमा नै लदाम बगैंचाको मुहार फेरिएको छ । पहिलो चरणमा लदाम बगैंचालाई पर्यटकीय गन्तव्य बनाउन लागिएको छ ।
बगैंचालाई आधुनिक र व्यवस्थित बनाई पर्यटकीयस्थलको रूपमा विकास गर्ने कार्यको थालनी गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले जिल्लाका पर्यटकीय स्थललाई आधुनिकीकरण तथा व्यवस्थापन गर्न पहल गरेसँगै खत्रीको प्रयास तथा सबै क्षेत्रबाट सहयोग भई बगैंचालाई पर्यटकीय गन्तव्य बनाउन लागिएको छ ।
लदाम आधुनिकीकरण तथा व्यवस्थापन गर्न नापनक्सा जाँच गरी वैशाखमा प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेलले शिलान्यान्स गर्नुभएको थियो ।बगैंचामा बालबालिकाको मनोरञ्जनका लागि पिङ, झुला बनाउने, वरिपरि तारजाली लगाएर सुरक्षित गर्ने गरी काम भइरहेको छ । स्विमिङ पुल, पानीको फोहोरा, राम मन्दिर, बाल युवा तथा वृद्धवृद्धामैत्री पूर्वाधार विकास गर्ने, १२०० मिटर हरितमार्ग बनाउने गरी काम अगाडि बढाएको अभियन्ता खत्रीले बताउनुभयो ।
‘बगंैचालाई आकर्षक र मनोरम बनाउन विभिन्न पूर्वाधार निर्माणको काम अघि बढाइएको छ’, खत्रीले भन्नुभयो, ‘बगैंचा व्यवस्थित बनेपछि सन्धिखर्ककै प्रतिष्ठा बढ्छ ।’ बगैंचालाई हरितमैत्री बनाउन जिल्ला वन कार्यालयले आठ लाख रुपैयाँ विनियोजन गरेको छ । विभिन्न व्यक्तिले करिब १२ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
‘पिकनिक तथा पार्टी हल, मिनी चिडियाघर, बेन्च, दुवो, विभिन्न जातका फूल, सीसी क्यामेरालगायत पूर्वाधार निर्माण गर्ने गरी योजना तयार पार्दैछौं’ अर्का अभियन्ता प्रकाश भुसालले बताउनुभयो । लदाम बगैंचा करिब ३० रोपनी जग्गामा फैलिएको छ । यो संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको बगैंचा हो । यहाँ पिकनिक खानका लागि जिल्लाका विभिन्न ठाउँबाट मानिस आउने गर्छन् ।
बगैंचाको जग्गा २०११ सालमा सन्धिखर्क ४ वाङ्लाका खुमानन्द भण्डारीले गोवद्र्धन पूजा गरी गाईलाई नुन हालेर दान दिनुभएको थियो । खुमानन्दका नाति मुक्ति भण्डारीले आफ्ना हजुरबुवाले दान गरेको जग्गाको महत्व बुझेर सुन्दर, पर्यटकीयस्थल निर्माण गर्न लागिएको बताउनुभयो ।
बन्दै गरेको बगैंचा हेर्न र विहानबेलुका फ्रेस हुन दैनिक ५०० देखि १००० मानिस आउने गरेको खत्रीको भनाइ छ । खत्रीले सन्धिखर्कको मुख्य बजारमै रहेको शान्ति बगैंचालाई पनि सुन्दर, मनोरम बनाउन योजना अघि सार्नुभएको छ ।
यसरी छोटो समयमा सहायक प्रमुख जिल्ला अधिकारीको पहलमा सुरु गरेको बगैंचा आधुनिकीकरण तथा व्यवस्थापन गर्न समय, स्रोत र साधनको कमी हुदाँहुदै पनी सोचेभन्दा धेरै काम भएको छ । नेपालमा गरे जे पनि सम्भव हुन्छ, प्रयास गरे विकास गर्न धेरै समय कुर्नु नपर्ने स्थानीयको भनाइ छ ।
अर्घाखाँचीको सन्धिखर्कमा बन्दै गरेको लदाम बगैंचा ।