बाँदरले अलैँचीको टुसा च्यात्न थालेपछि किसान चिन्तित
फिदिम : जंगली जनावर बाँदरले अलैँचीको टुसा च्यात्दै गुवो खान थालेपछि किसान चिन्तित बनेका छन्। पूर्वी पहाडका किसानको मुख्य आम्दानीको स्रोत बनेको अलैँची फुलेर फल लाग्ने मुख्य सिजनमै बाँदरले गुवो र फुल खान थालेपछि किसान चिन्तित बनेका हुन्।
यो बर्षदेखि बाँदरले अलैँचीको गुवो र फुल खान थालेको हो। गुवो खोज्ने क्रममा अलैँचीका बोट च्यातेर धुजा धुजा बनाएको किसान बताउँछन्। ‘बाँदर नियन्त्रण गर्ने कुनै उपाय छैन,’ फालेलुङ ८ औंसुभञ्ज्याङका पविन्द्र फागोले भन्नुभयो, ‘५० भन्दा धेरै संख्यामा रहेको बाँदरको हुल अलैँची बगानमा पसेपछि एकैछिनमा बगान सखाप पार्छन्।’
चिसो र ओसिलो जंगलमै अलैँची खेती गरिने भएकाले पनि अलैँचीको गुवो खान पल्केका बाँदरलाई नियन्त्रण गर्न समस्या भएको हो। अहिले अलैँची फुल खेल्दै फल लाग्न थालेको छ। बोटको फेदमा फल्ने अलैँचीको थुँगा लुच्दै बाँदरले फाल्न थालेपछि किसान चिन्तित बनेका हुन्।
‘यो सालदेखि बाँदरले नयाँ खालको बदमास सुरु गरेको छ,’ सुर्केनागीका अलैँची किसान याम कुरुङबाङले भन्नुभयो ‘बाँदरको यस्तो बदमास नरोक्ने हो भने अलैँची खेती नै सखाप हुने स्थिति आँउछ।’ अलैँची बगानमा पसेका बाँदरको हुलले गुवो खाने भन्दा बढी नष्ट गर्ने गरेको हो। अलैँचीको बोट च्यात्ने, बोटको फेदमा लागेको फल लुछ्ने, अलैँचीको थुँगामा फुलेको फुल खाने किसान बताउँछन्। फुलै खाइदिएपछि अलैँचीको दान लाग्दैन।’
बाँदरको ठूलो हुल हुने भएकाले पनि क्षणभरमै अलैँचीको बगान सखाप पार्छन्। जंगलको कुन साइडबाट अलैँची बगानमा बाँदर बस्छ भन्ने नै पत्तो नपाइने किसानको गुनासो छ। ‘अलैँचीकै बोटमा छलियो भने पनि बाँदर देखिदैन,’ फागोले भन्नुभयो, ‘बगान जोगाउन बाँदरलाई नियन्त्रण गर्ने कुनै उपाय नै भएन।’ अलैँचीको गुवो खान पल्केका बाँदरलाई धपाउन नसकेपछि किसानहरु नियन्त्रण गर्ने विकल्पको खोजीमा छन्। ‘अलैँची बगानमा विषादी हानियो भने पनि अन्य जीवजन्तु पनि मर्छन्। वैकल्पिक उपाय नसोच्ने हो भने बाँदरको गोठालो लागेर अलैँची बचाउन सकिदैन,’ फागोले भन्नुभयो।