बर्षाले मकैबाली नष्ट
बैतडी: लगातारको बर्षासंगै आएको हावाहुरीले बैतडीका विभिन्न स्थानमा लगाएको मकैबालीमा क्षति पुर्याएको छ । केहीदिन यतादेखि परिरहेको अविरल बर्षासंगै आएको हावाहुरीले जिल्लाका सुर्नया गाउँपालिका, पाटन नगरपालिका, पुरचौडी नगरपालिकाका विभिन्न स्थानमा मकैबालीमा क्षति पुर्याएको स्थानीय बासिन्दाहरुले बताएका छन् ।
हावाहुरीले घोगा लाग्न लागेको मकैबाली भाँचेको किसानहरुले बताएका छन् । सुर्नया गाउँपालिकाको वडा नं ७ पत्थरकोट, वडा नं ६ धुलिधार लगायतका क्षेत्रमा मकैमा बढी क्षति पुगेको किसानहरुले बताएका छन् ।
पत्थरकोटमा करीब ३० परिवारको मकैबाली नष्ट गरेको स्थानीय अमर कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो ‘भर्खर घोगा लाग्न लागेको मकै बर्षासंगै आएको हावाहुरी भाँचिएको छ । मकै ढलेर सब सोत्तर भएका छन् । मुख्य खाद्यबाली मकै नष्ट भएपछि हामी धेरै चिन्तामा छौं ।’
यस्तै सुर्नया गाउँपालिकाको वडा नं ८ मा हावाहुरीले मकैबालीमा क्षति पुर्याएको स्थानीय महेश साउँदले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘मंगलबार राती पानीसंगै आएको हावाहुरीले खेतमा लगाएको सबै मकैबाली ढलेको छ । यसले गर्दा हामी धेरै चिन्तामा छौं ।’
सुर्नया गाउँपालिकाको वडा नं६ शंकरपुरमा पनि हावाहुरीले मकैबाली नष्ट गरेको स्थानीयबासी सुरेश अवस्थीले बताउनुभयो । ‘लेकाली क्षेत्रमा लगाएको मकै सबै हावाहुरीले भाँचिएको छ । धुलिधारमा ५० घरपरिवारको सबै मकै सखाप भएको छ ।’उहाँले भन्नुभयो, ‘मकैखेती ढलेर सखाप भएपछि किसानहरुलाई भोकमरी हुने चिन्ताले सताएको छ ।’
केहीदिन अघि परेको बर्षाले पुरचौंडी नगरपालिकाका विभिन्न स्थानको मकैबाली नष्ट गरेको स्थानीयबासी लालबहादुर भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो ‘पुरचौडीका धेरै जसो वडामा हावाहुरीले मकैबालीमा क्षति पुर्याएको छ । यसले किसानहरुलाई चिन्तित बनाएको छ ।’
बैतडीमा १४ हजार ५ सय हेक्टर जमीनमा मकै खेती गरिदै आएको छ । मकै जिल्लाको मुख्य खाद्यबाली हो । तर विभिन्न कारणले पछिल्लो समयमा मकैको उत्पादन घट्दै गएको छ । हावाहुरी, जंगली बदेल लगायतका कारणले मकैबाली ह्रास आउन थालेको जिल्ला कृषि विकास कार्यालय बैतडीका सूचना अधिकृत कर्णबहादुर चन्दले जानकारी दिनुभयो ।
मकैबाली नष्ट भएर उत्पादनमा ह्रास आउने भएपनि किसानहरुले भने क्षतिपूर्ती पाउने अवस्था रहेको छैन् । जिल्लामा कुनै पनि किसानले बालीबीमा नगरेकाले क्षतिपूर्ती दिन नसकिने सूचना अधिकृत चन्दले बताउनुभयो । उहाँले भन्नुभयो ‘कृषिबालीमा हुने क्षति बापत किसानलाई रकम दिनकै लागि बालीबीमा कार्यक्रम सुरु गरिएको हो । तर कसैले पनि बालीबीमा गरेका छैनन् ।’