भारतीय टोलीको मुख्य प्रशिक्षकमा शास्त्री
मुम्बई : पूर्वअलराउन्डर रवि शास्त्री भारतीय राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले सल्लाहकार समितिको सिफारिसलाई अनुमोदन गर्दै मंगलबार अबेर शास्त्रीलाई टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिने निर्णय लिएको हो । पूर्वक्रिकेटर सौरभ गांगुली, सचिन तेन्दुल्कर र भीभीएस लक्ष्मण सम्मिलित सल्लाहकार समितिले शास्त्रीको नाम मुख्य प्रशिक्षकमा सिफारिस गरेको थियो ।
बीसीसीआईले शास्त्रीलाई सन् २०१९ मा हुने एकदिवसीय विश्वकपसम्मका लागि नियुक्त गरिएको जनाएको छ । सल्लाहकार समितिको सिफारिसलाई अनुमोदन गर्दै बीसीसीआईले तीव्र गतिका पूर्वबलर जहिर खानलाई सोही अवधिसम्मका लागि परामर्श बलिङ प्रशिक्षकका रूपमा नियुक्त गरेको छ । यसैगरी अन्तर्राष्ट्रिय टेस्ट शृंखलाका लागि पूर्वकप्तान तथा ब्याट्सम्यान राहुल द्रभिडलाई परामर्श ब्याटिङ प्रशिक्षकमा नियुक्त गरेको छ ।
सल्लाहकार समितिले अन्तर्वार्ता लिएका पाँचमध्येबाट शास्त्रीलाई मुख्य प्रशिक्षकका लागि सिफारिस गरेको हो । समितिले शास्त्रीसँगै पूर्वभारतीय क्रिकेटरद्वय वीरेन्द्र सेहवाग र लालचन्द राजपुत, अस्ट्रेलियन प्रशिक्षक टम मुडी र इङ्लिस प्रशिक्षक रिचर्ड पिबससँग पनि अन्तर्वार्ता लिएको थियो । यसअघि निवर्तमान मुख्य प्रशिक्षक अनिल कुम्बलेले राजीनामा दिएपछि सो पद रिक्त बनेको थियो ।
हालै इङ्ल्यान्डमा भएको च्याम्पियन्स ट्रफीको फाइनलमा भारतीय टोली पाकिस्तानसँग पराजित भएपछि कप्तान विराट कोहलीसँग सम्बन्ध बिग्रिएकाले कुम्बलेले राजीनामा दिएका हुन् । शास्त्रीले रिक्त पदपूर्तिका लागि सल्लाहकार समितिले गरेको दोस्रो चरणको आह्वानमा मात्र आवेदन दिएका थिए । उनले पहिलो चरणको आह्वानमा भने आवेदन दिएका थिएनन् ।
भारतीय राष्ट्रिय टोलीबाट ८० टेस्ट तथा एक सय ५० एक दिवसीय क्रिकेट खेलेका ५५ वर्षीय शास्त्री एक टेस्ट शृंखलामा कप्तानसमेत बनेका थिए । चोटका कारण उनी कप्तानका रूपमा भने लामो समय टिक्न सकेनन् । सन् २००७ मा भारतीय टोलीको बंगलादेश भ्रमणमा व्यवस्थापक बनेका उनी सन् २०१४ देखि सन् २०१६ सम्म भारतीय टोलीका निर्देशक थिए ।
जहिरले पहिलोपटक सिनियर राष्ट्रिय टोलीमा प्रशिक्षकको हैसियतमा काम गर्ने अवसर पाएका छन् । हालैको इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली डेयर डेभिल्सको प्रशिक्षण टोलीमा रहेका जहिरले आफ्नो पहिलो जिम्मेवारीलाई सफलताका साथ पूरा गर्ने विश्वास सल्लाहकार समितिले लिएको छ । हाल भारतीय ‘ए' टोली र यू-१९ टोलीको जिम्मेवारी समालिरहेका द्रभिडलाई राष्ट्रिय टोलीको जिम्मेवारी पनि थपिएको हो । द्रभिड पनि त्यसअघि दिल्ली डेयर डेभिल्सको मेन्टर थिए ।