चीनको पहिलो विदेशी सैन्य अखडा
बेइजिङ : चीनले देशबाहिर पहिलो सैन्य अखडा निर्माणका लागि सैनिक लिएर चिनियाँ पानीजहाज अफ्रिकी राष्ट्र जिबुटीतर्फ पठाएको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
जिबुटीमा निर्माण गरिने सैन्य अखडा अफ्रिका र पश्चिम एसियामा शान्ति स्थापना तथा मानवीय सहायतामा संलग्न हुने सैनिकका लागि प्रयोग गरिने चीनले जनाएको छ । सिन्ह्वाका अनुसार जलसैनिक अभ्यास र उद्धार कार्य तथा सामरिक सहकार्यका लागि चिनियाँ अखडा प्रयोग गरिने छ । चीनले पछिल्लो समय अफ्रिकामा तीव्र गतिमा ठूलो लगानी गरिरहेको छ । अफ्रिकामा सर्वाधिक लगानी गर्ने अमेरिकालाई पनि चीनले उछिनेको छ ।
चीनले आफ्नो सेना चिनियाँ जनमुक्ति सेना (पीएलए)को आधुनिकीकरणमा ठूलो धनराशी खर्च गरिरहेको छ । यसका लागि उसले बर्सेनि निकै ठूलो रक्षा बजेट विनियोजन गर्दै आएको छ । केही समयअघि मात्र चीनले लडाकु जहाजवाहक युद्धपोत लियाओनिङ स्वदेशमै निर्माण गरी समुद्रमा उतारिसकेको छ ।
सिन्ह्वाका अनुसार झानजियाङ बन्दरगाहबाट सैनिक बोकेका चिनियाँ पानीजहाज मंगलबार जिबुटीका लागि प्रस्थान गरेका छन् । तर जिबुटीका लागि प्रस्थान गरेका जहाज र सैनिकको संख्या तथा सैन्य अखडा स्थापना गरिने मितिबारे विस्तृत विवरण भने सिन्ह्वाले दिएको छैन । चीन–जिबुटी सौहाद्र्रपूर्ण वार्ताहरूपछि जिबुटीमा सैन्य अखडा स्थापना गर्न लागेको सिन्ह्वाले जनाएको छ ।
यसअघिका विवरणमा भने गत वर्ष नै जिबुटीमा सैन्य अखडा निर्माण भइरहेको बताइएको थियो । जिबुटीस्थित सैन्य अखडालाई यस क्षेत्रमा चीनको सामरिक उपस्थिति जनाउने संकेतका रुपमा लिइएको छ । चीनले युरोप–एसिया ओहोरदोहोर गर्ने व्यापारिक पानीजहाजको मार्ग तथा पश्चिम एसिया र अफ्रिकामा जिबुटीस्थित अखडाबाट अनुगमन गर्न सक्छ ।
चीनको सरकारी अखबार ‘ग्लोबल टाइम्स’ बुधबार सम्पादकीयमा चीनले सामरिक क्षमता बढाउनुको प्रमुख उद्देश्य आफ्नो रक्षामात्र भएको र विश्वमाथि प्रभुत्व जमाउनका लागि नभएको उल्लेख गरेको छ । ग्लोबल टाइम्सले जिबुटीमा अमेरिका, जापान र फ्रान्सका पनि सैन्य अखडा रहेको उल्लेख गरेको छ।
अफ्रिका महादेशको छेउमा पर्ने जिबुटी इरिट्रिया र सोमालियाको बीचमा पर्छ । सानो देश जिबुटीको दक्षिणमा इथियोपिया छ भने युरोप–एसिया व्यापार हुने व्यस्त सामुद्रिक मार्गनजिक पर्ने भएकाले उसलाई रोज्ने गरिन्छ । त्यसमाथि पनि अस्थिरता बढ्दै गएको अफ्रिकी महादेशको जिबुटी भने स्थायित्व भएको देश मानिन्छ ।