दुई लाख अलैँचीका बिरुवा वितरण
फिदिम : रोग किराको प्रकोपका कारण अलैँचीका पुराना बगानहरु सखाप हुन थालेपछि जिल्ला कृषि विकास कार्यालय पाँचथरले कृषकलाई अलैँचीका बिरुवा वितरण कार्यक्रमलाई व्यापक बनाएको छ। यो बर्ष कृषि कार्यालयले जिल्लाका ६२ जना कृषकलाइ दुई लाख २८ हजार अलैँचीका बिरुवा वितरण गरेको हो।
अलैँचीको दानको उपचार गरी उमारिएका निरोगी बिरुवा कृषि कार्यालयले कृषकलाई वितरण गरेको हो। अलैँचीको पकेट क्षेत्रका किसानलाई बिरुवा वितरण गरिएको हो। मिक्लाजुङ गाउँपालिकाको रवि लिम्बा, फिदिम नगरपालिकाको रानिटार, याङनाम, फालेलुङ गाउँपालिकाको एक तीन, सिदिन, र याङवरक गाउँपालिकाको नागी र फलैँचाका किसानलाई विरुवा प्रदान गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीले जानकारी दिनुभयो।
वितरण गरिएका दुई लाख २८ हजार अलैँचीका बिरुवले १९ हेक्टर क्षेत्रफलमा नयाँ अलैँची बगान विस्तार हुने बताइको छ। एक हेक्टर क्षेत्रफलमा बगान विस्तार गर्न १२ हजार विरुवा वितरण गरिएको हो। एक लाख २० हजार गोलसाई जातका बिरुवा, ८१ हजार रामसाई, १० हजार आठ सय भर्लाङ र आठ हजार दुई सय जिर्मले जातका बिरुवा किसानलाई वितरण गरिएको हो।
रबिमा रहेको सगमाथा अलैंची नर्सरी कृषक समूह, सनराइस अलैँची नसर्री, मनोज राई, ईश्वर सेवाङ र याङनाममा रहेको पञ्चकन्या अलैँची नर्सरीबाट उत्पादन गरिएको निरोगि विरुवा कार्यालय मार्फत किसानलाई वितरण गरिएको हो।