कहिल्यै नउठ्ने गरी विदेशमा अस्ताए पंगेनी
स्याङ्जा : केही बर्ष विदेशी भूमिमा दुख गरेर पैसा कमाउने अनि आफनै देशमा सुखसंग बस्ने सपना थियो रामचन्द्र पंगेनीको । उहाँ यही सपनाका साथ करिव दुई महिना अघि मात्र दक्षिण कोरिया जानुभएको थियो । ईपीएस प्रणाली मार्फत कोरिया पुग्नुभएका स्याङ्जा वालिङ ११ स्वरेक डौवाका का २६ बर्षीय पंगेनी बुधवार भने आफ्नै कोठामा मृत भेटिनुभयो ।
कोरियाको जेजुस्थित एक कम्पनीमा कार्यरत पंगेनीे आफ्नै कोठा अगाडी झुण्डिएको अवस्थामा भेटिएको कोरियाली दुतावासले जानकारी गराएको पारिवारिकले जनाएको छ । स्नातक तहमा अध्ययन गर्दैगर्दा कोरिया पुग्नुभएका पंगेनीका ६० बर्षीया आमा, ५ दिदी बहिनी र ४ दाजुभाई छन् । साइला छोरा कमाउन कोरिया जाँदा खुसी हुनुभएकी आमाको त्यो खुसी दुई महिना पनि टिकेन । अहिले छोराको मृत्युको खवरले आमा अर्धचेत हुनुहुन्छ । परिवारमा सन्नाटा छाएको छ । आफन्त स्तब्ध छन् ।
५५ दिनअघि मात्र कोरिया जानुभएका पंगेनी पछिल्लो २/३ दिनदेखि सम्पर्कमा नरहेको साथी छबी पंगेनीले जानकारी दिनुभयो । दुतावासले पंगेनी झुण्डिएको अवस्थामा भेटिएको र आत्महत्या गरेको हुनसक्ने दूतावासमा कार्यरत कर्मचारी रमेश गैह्रेले कोरियाबाट फोनमार्फत परिवारलाई जानकारी गराउनुभएपछि परिवारले घटनाबारे थाहा पाएको हो ।
दुतावासका अनुसार पंगेनीको मृत्युपछि प्रहरीले राजधानी सोलस्थित नेपाली दुतावासलाई जानकारी गराएको थियो । आँउदो सोमबारसम्म शव नेपाल ल्याउने तयारी भैरहेको दुतावासले जनाएको छ ।
‘पंगेनीले कोरियामा काम गर्न अत्यन्त सजिलो छ, तर यही काम गर्छु भनेर कहिल्यै पनि भनेनन', उहाँका सहपाठी छबी पंगेनीले बताउनुभयो । केही दिनअघि मात्र पंगेनीले सामाजिक संजाल फेसबुकमा लेख्नुभएको अन्तिम स्टाटस थियो, ‘कहिल्यै नउठ्ने गरी निदाउने मन छ' ।