कतार र खाडी मुलुक संकट समाधानमा अमेरिका सक्रिय
अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन कतार र चार खाडी मुलुक वीचको संकट समाधानका लागि सक्रिय हुनु भएको छ । चार दिने खाडी मुलुकको भ्रमणमा आउनु भएका टिलरसन बिहिबार अचानक दोस्रो पटक कतार आइ कतारका राजा र विदेशमन्त्रीसँग भेटवार्ता गर्नुभयो ।
साउदी नेतृत्वको चार मुलुकको धारणा र कुवेतले गरिरहेको मध्यस्थताका बारेमा जानकारी लिएर टिलरसनले कतारी उच्च नेतृत्वसँग छलफल गर्नु भएको हो ।
कतारी समाचार एजेन्सीका अनुसार टिलरसनले कतारी उच्च नेतृत्वसँग खाडी मुलुकमा देखिएको संकट समाधानका बारेमा छलफल गर्नु भएको हो ।
कतार माथि नाकावन्दी लगाउने साउदी अरवका उच्च अधिकारीहरुसँग छलफल गरेको भोलिपल्ट टिलरसन कतार आउनु भएको हो । साउदी उच्च अधिकारीसँग भएको छलफलका बारेमा कतारी समकक्षीलाई जानकारी गराउने उद्देश्यले टिलरसन कतार आउनु भएको अलजजीराले जनाएको छ ।
कतारी उच्च अधिकारीहरुसँग छलफल गरेपछि समाधानको नयाँ उपाय खोजी गर्न टिलरसन कतार आउन लाग्नु भएको बताइन्छ ।
साउदी अरवसहित चार मुलुकले लगाएको आर्थिक नाकावन्दीका वेहोरि रहेको कतारको संकट समाधानका लागि खाडी मुलुकको भ्रमणमा रहनु भएका टिलरसन बिहिबार स्वदेश फर्कने कार्यक्रम थियो ।
टिलरसन अमेरिका जानु भन्दा पहिले कतार भ्रमणमा आउन लाग्नु भएको हो । टिलरसनले मंगलवार आतंकवादलाई वित्तीय सहयोग रोक्ने सम्बन्धी सम्झौतामा कतारी समकक्षीसँग हस्ताक्षर गर्नु भएको थियो ।
आतंकवादलाई वित्तीय सहयोग रोक्ने सम्झौतापछि कतार माथिको नाकावन्दी हटाउन अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले गरेको आग्रहलाई साउदी अरेबिया, संयुक्त अरब एमिरेट्स, बहरेन, तथा इजिप्टले अस्वीकार गरेका छन् । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनको मध्यस्थतामा भएको कतार अमेरिका सहमति अपर्याप्त भएको साउदी नेतृत्वको चार खाडी मुलुकले बताएका छन्। उनीहरुले अमेरिकी विदेशमन्त्रीको मध्यस्थतामा भएको उक्त सहमति अपुग भन्दै उनीहरुले कतारमाथि लगाउँदै आएको नाकाबन्दी लगायतका प्रतिबन्धहरु जारी रहने बताएका छन्। कतार माथिको नाकावन्दी हटाउन आफूले गरेको प्रयासका बारेमा कुवेती राजा सलमानलाई जानकारी गराउनु भएको थियो ।
साउदी नेतृत्वको चार खाडी मुलुकले कतारलाई अविश्वसनीय भन्दै विगतको सहमतिहरुको हवाला दिंदै कतार सरकारलाई पत्याउन नसकिने बताएका छन् ।
ती चार देशले कतारमाथि सो क्षेत्रका आतंकवादी समूहहरुलाई सहयोग गरेको आरोप लगाएका छन्। कतारले ती आरोपको खण्डन गर्दै आएको छ ।
चार मुलुकले अल जजिरा न्यूज नेटवर्क बन्द गर्नुपर्ने, टर्कीको सैन्य अखाडा बन्द गर्नुपर्ने, मुस्लिम ब्रदरहुड समूहसंग नाता तोड्नुपर्ने तथा इरानसंग सम्बन्ध न्यूनीकरण गर्नुपर्ने जस्ता माग गर्दै आएका छन् ।
चार मुलुकले पठाएको १३ बुँदे शर्तमा कतारले पठाएको जवाफलाई नकारात्मक आएको भन्दै ती चार देशले गत साता कतार विरुद्ध थप राजनैतिक, आर्थिक तथा कानुनी प्रतिबन्धका कदम चाल्ने जनाएका थिए।