सिमेन्टमा सफल शिवम्

सिमेन्टमा सफल शिवम्

काठमाडौं : उद्योगमा जर्मन प्रविधिको अत्याधुनिक मेसिन जडान गरिएको थियो । तर, केही महिना उद्योगको सिमेन्ट निस्किने ठाउँबाट धूलो मात्र आयो । क्लिंकर र जिप्सम मिसाएर ‘ग्राइन्डिङ' गर्दा धूलो निस्किने क्रम केही महिनै चल्यो । महँगो क्लिंकर, जिप्सम हाल्दा काम नलाग्ने धूलो निस्किने, धूलोको व्यवस्थापनमा अर्को खर्च हुने । कोइला र डिजेलमा थप खर्च हुन्थ्यो । शिवम् सिमेन्टका सञ्चालक सतीश मोरले केही महिनामै ४०-४२ करोड खेर गएको बिर्सनुभएको छैन । एकाध महिनापछि धूलोको ठाउँमा पक्का सिमेन्ट त निस्किन थाल्यो तापनि विविध समस्या आउँदा एक-डेढ वर्ष उद्योग चलाउनै धौधौ परेको थियो ।

आर्थिक रूपमा बलिया चारवटा व्यावसायिक घरानाको लगानी थियो । सुरुआती झट्काले उद्योगलाई अघि बढाउन रोकेन । अवरोध बिस्तारै हट्दै गए । उद्योगबाट गुणस्तरीय सिमेन्ट उत्पादन हुन थाल्यो । बजार प्रवद्र्धन गर्न लगानीको समस्या थिएन । शिवम्को ओपीसी (ओरिजिनल पोर्टल्यान्ड सिमेन्ट)ले ग्राहकको विश्वास जित्दै पनि गयो । अहिले शिवम् सिमेन्ट सर्वाधिक लोकप्रिय भइसकेको छ । सफलताका कारणमध्ये गुणस्तरीय उत्पादन र लगनशीलता प्रमुख रूपमा देखिएका छन् । ‘सुरुआती दिनको कठिनाइपछि पछाडि फर्केर हेर्नुपरेको छैन', सञ्चालक मोर भन्नुहुन्छ ।

उद्योगमा लक्की ग्रुप, गोयल ग्रुप, शारडा ग्रुप र मारु ग्रुपको लगानी छ । सिमेन्ट उद्योग मकवानपुरको हेटौंडामा सञ्चालित छ । चार जना सञ्चालकले उद्योगको फरक-फरक जिम्मेवारी सम्हालेका छन् । शिवम्को लोकप्रियता नाप्न यसको क्षमता विस्तार नै काफी छ । सन् २००९ मा स्थापना हुँदा दैनिक १२ सय टन क्षमताको शिवम्को क्षमता २४ सय पुर्‍याइएको छ । अझ विस्तार गरी दैनिक तीन हजार टन पुर्‍याउन जोडतोडका साथ काम भइरहेको कम्पनीले जनाएको छ । ‘चौबीसै घन्टा उत्पादन गर्दा पनि मागअनुसार आपूर्ति गर्न नसकिएपछि क्षमता बढाउनै पर्‍यो', उहाँले भन्नुभयो, ‘अक्टोबरसम्ममा क्षमता विस्तारको काम सकिन्छ ।'

उत्पादनलाई बजार लिन पहिलो सर्त गुणस्तर त हुनै पर्‍यो । यसबाहेक उत्पादन टिम र विक्रेता टिमको सहकार्य तथा मिहिनेतको बलमा शिवम्ले अहिलेको उचाइ हासिल गरेको उहाँको भनाइ छ । ‘हामी सबै रणनीतिक रूपमा अगाडि बढिरहेका छौं', उहाँले भन्नुभयो, ‘बजारमा सर्वाधिक रुचाइन उत्पादन र बिक्रीमा उत्तिकै मिहिनेत गर्नुपर्छ ।'

यसरी सुरु भयो

धादिङमा एउटा सिमेन्ट उद्योग लिलामी गर्ने तयारीमा थियो, नेपाल बंगलादेश बैंक । वनस्पति घिउ, विद्युतीय उपकरण उत्पादन र ट्रेडिङमा सक्रिय मोरले त्यही लिलामी सकारेर सिमेन्ट उत्पादन सुरु गर्ने योजना बनाउनुभएको थियो । तर, लम्बेतान प्रक्रिया सुरु भएपछि उहाँले त्यो उद्योग सकार्ने योजना त्याग्नुभयो तर सिमेन्ट उद्योगमा लगानी गर्ने सोच त्याग्न सक्नुभएन । त्यही बेला गोयल ग्रुप, शारडा ग्रुप दैनिक ५÷५ सय टन उत्पादन क्षमताको सिमेन्ट उद्योग खोल्ने योजनामा थिए । मारु समूहचाहिँ मारुती सिमेन्टमार्फत सिमेन्ट उत्पादनमा थियो । साझेदारीमा ठूलै उद्योगमा किन लगानी नगर्ने भनेर छलफल सुरु भयो र शिवम् सिमेन्टको योजना बन्यो ।

सिमेन्ट गुणस्तरीय हुन क्लिंकर गुणस्तरीय हुनुपर्छ, क्लिंकर गुणस्तरीय हुन चुनढुंगा गुणस्तरीय हुन अनिवार्य छ । शिवम् सिमेन्टको चुनढुंगाखानी हेटौंडा वरिपरि नै छन् । केही मात्रामा अन्यत्रबाट पनि किन्नुपर्ने अवस्था छ । हेटौंडाका चुनढुंगा गुणस्तरीय छन्, गुणस्तरीय चुनढुंगाकै कारण हेटौंडा सिमेन्ट उद्योग स्थापना गरिएको थियो ।

‘शिवम् सिमेन्ट अहिले बजारमा अग्रस्थानमै छ तर तथ्यांक नै देखाएर नम्बर वान भन्न सक्दिनँ', उहाँले भन्नुभयो, ‘शिवम् सिमेन्टको उत्पादनभन्दा माग बढी छ, हामी क्षमता पनि विस्तार गरिरहेका छौं, यसलाई आधार माने हामी अग्रस्थानमै छौं ।' सुरुमा शिवम्को मार्केटिङ पनि आक्रामक भएर लागेको थियो । अहिले बजारमा जमिसकेको कम्पनीको दाबी छ । उपभोक्तालाई गुणस्तरमा सन्तुष्ट बनाउन सके पनि परिमाणमा सन्तुष्ट बनाउन नसकेको उहाँको भनाइ छ ।

लोडसेडिङ नहुने भनिए पनि उद्योगमा आठ घन्टा लोडसेडिङ छ । तापनि, उद्योगमा केही राहत भएको छ । तर, बत्ती जाने (ट्रिपिङ) समस्या छँदै छ । सिमेन्ट उद्योग चौबीसै घन्टा चलिरहनुपर्छ नत्र उत्पादन लागत बढ्छ । संसारभरि नै सिमेन्ट उद्योग चौबीसै घन्टा चल्छन् । वर्षमा कम्तीमा तीन सय ३० दिन चल्नुपर्छ भनिन्छ । यसका लागि दुई÷दुई मेगावाटका चारवटा (आठ मेगावाट) जेनेरेटर राखिएको छ । डिजेलबाट जेनेरेटर चलाउँदा उद्योगको लागत उच्च हुने गरेको छ ।

पछिल्लो क्षमता विस्तारको काम सकिँदा शिवम् सिमेन्टमा लगानी साढे २ अर्ब रुपैयाँ पुग्नेछ । चालू आर्थिक वर्ष शिवम् सिमेन्टको कारोबार ७ अर्ब ५० करोड रुपैयाँ पुग्ने अनुमान छ । उद्योगमा झन्डै तीन सय ७५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । अप्रत्यक्षसमेत जोडे यो उद्योगमा आश्रितको संख्या पाँच हजार नाघ्ने मोरको भनाइ छ । पूर्वमा झापासम्म शिवम् सिमेन्ट पुगे पनि पश्चिममा नवलपरासीसम्म मात्र आपूर्ति हुने गर्छ । ढुवानी लागत बढी हुने कारण पश्चिममा अहिले सम्भव देखिएको छैन । तर, सबैभन्दा ठूलो बजार काठमाडौंबाट नजिक हुनु शिवम्का लागि लाभ हो ।

बजारमा प्रतिस्पर्धा

बजारमा सिमेन्ट उद्योग थुप्रै छन् । प्रतिस्पर्धा पनि उत्तिकै बढ्दै गएको छ । उद्योग प्रशस्तै खुलेपछि मुलुक सिमेन्टमा आत्मनिर्भर बनिसकेको छ । सिमेन्टमा ९० देखि ९५ प्रतिशतसम्म स्वदेशी कच्चा पदार्थ प्रयोग हुने भएकाले नेपालका लागि सुहाउँदो पनि छ । ‘बजारमा सिमेन्ट उद्योग थपिनु राम्रो हो, यसले उपभोक्तालाई नै फाइदा पुर्‍याउँछ', उहाँले भन्नुभयो, ‘तर, प्रतिस्पर्धाका नाममा गुणस्तरमा सम्झौता गर्नुहुँदैन ।'

नेपालमा थुप्रै परियोजना (सडक, पुल, जलविद्युत, भवन) बन्न बाँकी छन् । सिमेन्टको वार्षिक माग २० प्रतिशतले बढिरहेको छ । यसैले गुणस्तरीय उत्पादन गर्ने सिमेन्ट उद्योगको भविष्य राम्रै देखेको उहाँको भनाइ छ । शिवम्ले निर्यातको गर्ने लक्ष्य पनि राखेको छ । भारतको विहार क्षेत्रमा निर्यात गर्ने सोच बनाइएको उहाँले सुनाउनुभयो ।

शिवम्ले नवलपरासीमा ठूलो प्लान्ट बनाइरहेको छ । चीनको चर्चित सिमेन्ट उत्पादन गर्ने कम्पनी होङ्सीलाई भित्र्याएर ठूलो परिमाणमा सिमेन्ट उत्पादन गर्न लागेको हो । उद्योगमा शिवम्को ३० प्रतिशत र होङ्सीको ७० प्रतिशत लगानी छ । अहिले उद्योग लगाउने काम जारी छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.