सिक्किम विश्वविद्यालयको एक दशक

सिक्किम विश्वविद्यालयको एक दशक

भारत सरकारले सिक्किममा तेइसौं केन्द्रीय विश्वविद्यालय स्थापित गर्ने भारतीय संसद्मा कानुन पास गरेपछि मई २००७ मा मानव संशोधन मन्त्रालयका संयुक्त सचिवले फोनमार्फत 'तपाईंलाई भारतका राष्ट्रपति महोदयले सिक्किम केन्द्रीय विश्वविद्यालयका संस्थापक कुलपति नियुक्त गर्नुभएको सुसमाचार दिन चाहन्छु' भनी मलाई जनाउनुभयो । नभन्दै २ जुलाई २००७ मा मन्त्रालयमा निम्त्याई मलाई दुईवटा कागज थमाउनुभयो । के पनि भन्नुभयो भने तपाईंले यी दुई पत्रकारलाई एकएक हातमा परम्पराअनुसार लिनुपर्छ । ऐतिहासिक क्षण थियो यो एउटा ।

mahendra-p-lama-(2)_1दुर्इटा हात अघि बढाए अन्य वरिष्ठ अधिकारीहरू पनि थिए । संयुक्त सचिवले दुईवटा पत्रहरू एकएक हातमा राखिदिँदै भने, 'यो एउटा तपाईंको कुलपति नियुक्ति पत्र हो र अर्को सिक्किममा केन्द्रीय विश्वविद्यालय घोषित एवं निर्माण गर्ने सरकारी आदेश हो । दुवै एकैसँग लिनुपर्छ किनकि विश्वविद्यालयबिना कुलपति नियुक्त गर्न सकिँदैन अनि कुलपतिबिना विश्वविद्यालय स्थापित गर्न सकिँदैन ।' धन्यवाद दिँदै जापानी जस्तै पहाडे मनोभावले शिर निहुराएँ । सबैले खुसी जाहेर गर्दै भने, 'अर्को विशेष कुरो, तपाईं राष्ट्रको नै केन्द्रीय विश्वविद्यालयहरूमा रहेका सबैभन्दा कान्छो कुलपति हुनुभयो ।' हर्षले गद्गद् भएँ, तर जिम्मेवारीले त्यहीं नै थिचेजस्तो लाग्यो ।

भोलिपल्ट सिक्किम पुगें । तिनताक त्यहाँका मुख्यमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार पनि थिएँ । यस पदबाट राजीनामा दिने मेरो पहिलो कार्य भयो । भारतको सर्व श्रेष्ठ जवाहरलाल नेहरू विश्वविद्यालयमा धेरै वर्षदेखि कार्यरत रहेको हुनाले र विश्वका धेरै विश्वविद्यालयहरूसँग नाता-गोता रहेकाले सिक्किममा एउटा अद्वितीय पहाड पर्वत सबैलाई अँगाल्ने विश्वविद्यालय बनाउने सपना छँदै थियो । काम सुरु गर्‍यौं, राज्यको एउटा अतिथि गृहबाट । केही पनि थिएन, विश्वविद्यालयको नाममा धर्का र अनुश्वरसम्म थिएन । साँच्चै नौलो, सिर्जनशील अनि चुनौतीपूर्ण स्थिति थियो । मैले पाँच वर्षसम्म यो पदभार सम्हालें ।

अचम्मैको स्थिति । सिक्किममा त्यसताका रहेका नौवटा कलेजहरूलाई विश्वविद्यालयअन्तर्गत ल्याउनु थियो । विश्वविद्यालयभन्दा कलेज पहिलो जन्मेको थियो । गर्नुपर्ने कामको सूची बनाउन थाल्यौं । बिहान भुकभुके उज्यालोमा नै उठेर कञ्चनजंघाको रमाइलो दृश्य हेर्दै विश्वविद्यालयको भिजन तयार पार्न थाल्यौं । गर्नुपर्ने कामको सूची बढ्दै गयो, दिन र रात पनि छोटिँदै गए । सिक्किम सरकार, अरू विश्वविद्यालय र संस्थाहरूबाट विशेष ज्ञान भएका व्यक्तिहरूलाई लिई कामको गति बढायौं ।

प्रथम चरणमा गर्नुपर्ने काममा कलेजहरूको पूर्णतया पुनर्निर्माण, पाठयक्रमको ढाँचा र बनावटी, नयाँ परीक्षा र शिक्षण पद्धति जसमा सेमेस्टर प्रणालीको सुरुआत, विश्वविद्यालयको नयाँ नियम-कानुनको खोज र लेखाइ, हिसाब-किताबको वैज्ञानिक प्रणाली, विश्वविद्यालयको कार्यालय बुनियादी सुविधाहरूको व्यवस्था अनि टाढाबाट आएका कर्मचारीहरूका आवास आदि । सबै कलेजहरूको हालमा रहेका स्थितिमाथि एउटा व्यापक अध्ययन गरी रिपोर्ट बनायौं । कसरी कलेजहरूलाई राष्ट्रिय स्तरमा पुर्‍याउने भनी विभिन्न क्षेत्रमा विशेषज्ञ, विद्यार्थी शिक्षक-अभिभावक, राजनीतिक नेता-पत्रकार-नागरिक समाजका सदस्य आदिसँग सरसल्लाह माग्यौं । अति नै घतलाग्दो कुरा अगाडि आए । हाम्रो काम नै थियो- कसैलाई घोचेर तलतिर नदेखाएर सबैलाई उँभो मात्र लगाउने । यही गर्‍यौं ।

जहिल्यै पनि रातको नौ बज्थ्यो । सबैलाई सोच्ने, खेल्ने र वादविवाद गर्ने प्रशस्त ठाउँ राखिएको थियो । मेरा साथीहरू शिक्षण र प्रशासनमा अति नै प्रवीण एवं समर्पित थिए । धेरैले विवाह गर्ने समय पनि पाएनन्, तर सिक्किम विश्वविद्यालय बनायौं ।

गान्तोकदेखि लगभग ५-६ किलोमिटर तलतिर ६ माइलमा सिक्किम सरकारले एउटा भवन खाली गरेपछि त्यहीं नै विश्वविद्यालयको प्रथम प्रशासकीय कार्यालय बनायौं । त्यसपछि द्रूतगतिमा काम सुरु गर्‍यौं । त्यहाँ इन्टरनेटको केवल थिएन, फोनको लाइन थिएन, वरिपरि चिया-चमेनाको व्यवस्था थिएन । सबैले सघाए, सरकारी व्यवस्था त हो, एउटा जाबो फोन लाइनको निम्ति महाप्रबन्धकलाई नै पत्र लेख्नुपर्ने ।

धेरैवटा कुरो शीघ्र अघि बढ्यो । विश्वविद्यालयमा प्रथम आगन्तुक नै मानव संशोधन मन्त्रालय दिल्लीका सचिव थिए । हाम्रो विश्वविद्यालय निर्माणको अद्वितीय सोच र साथीहरूको कार्यक्षमता र कटिबद्धता देखेर सचिव र निर्देशक अवाक् बने । के-कस्तो सहायता चाहिन्छ भनेर धेरै आश्वासन दिए । नभन्दै धेरै कुरो गरे पनि उनले । सिक्किम सरकारले गान्तोकदेखि लगभग ६० किलोमिटर टाढा थाङगाङ भन्ने जग्गामा विश्वविद्यालय निर्माणार्थ जमिन दिने घोषणा गर्‍यो । विस्थापित वासिन्दालाई पुनर्बास गर्न ३० करोड खर्च लाग्ने भयो । हामीलाई १५ करोडको सहायता माग्दै पत्र लेखें । परम्पराअनुसार केन्द्रीय विश्वविद्यालय स्थापनामा राज्य सरकारले निःशुल्क जमिन दिनुपर्छ, तर भारत सरकारसँग कुराकानी गरेर १५ करोड सिक्किम सरकारलाई चढायौं ।

पाठ्यक्रम बनाउने क्रममा राष्ट्र त के, विश्वकै विशेषज्ञहरू निम्त्याएर अत्यन्तै व्यावहारिक पाठ्यक्रम बनाउन सक्यौं । संगीत विभागको पाठ्यक्रम बनाउन क्यार्लिफोनिया विश्वविद्यालय अमेरिकाबाट हेलेन रिस, नेपालबाट अम्बर गुरुङ र भारतका अन्य क्षेत्रबाट विशेषज्ञहरू ल्यायौं । पाठ्यक्रममा कुनै पनि विषयमा पहाड-पर्वत र स्थानीय विषयहरूमा लगभग ३५-४० प्रतिशत नै अध्ययनका तत्व राख्यौं । अर्थात् यस किसिमको पाठ्यक्रम भारतमा पहिलोपटक बनायौं । विश्वविद्यालय अनुदान आयोगले पछि अरू विश्वविद्यालयहरूलाई सिक्किम विश्वविद्यालयको उदाहरण दिन थाले ।

विस्तारै हाम्रा कार्यहरूकले छाप पर्न थाल्यो । नयाँ-नयाँ कोर्सहरू सुरु गर्‍यौं । भाग्यवश अति नै जाँगरिलो र सोच्ने साथीहरू विश्वविद्यालयमा आउनुभयो । कलेजमा पहिलोपटक सेमेस्टरको आधारमा परीक्षा भयो । शिक्षक र विद्यार्थी दुवै श्रेणीमा अवस्थित हुनैपर्‍यो । किनकि सिमेस्टरभरि नै घरी त परीक्षा, घरी टर्म पत्र आदि लेख्नुपर्‍यो । हिजोसम्म वर्षमा एकपटक हुने परीक्षामा अन्तिम घडीमा पढाउने शिक्षक र पढ्ने विद्यार्थी सतर्क र सजग भए । धेरैले सेमेस्टर प्रणालीलाई रोचक र प्रभावशाली पाए र अपनाए ।

पहिलो सेमेस्टरमा विद्यार्थीहरू धेरै संख्यामा फेल भए । यी अवतीर्ण विद्यार्थीहरूले विरोध जुलुस निकाले । जवहारलाल नेहरू विश्वविद्यालयमा ज्ञानको भोक र तिर्खाले जुलुस निकाल्थ्यो । यहाँ ज्ञान र तिर्खा दुवैलाई नकारेर जुलुस निस्क्यो । सानो माग थियो फेरि पास गराऊ । हामीले एउटै कुरो भन्यौं, तिमीहरूले लेखेको परीक्षा पत्रलाई गान्धी रोडमा फिँजाएर राख्छौं, बाटोमा हिँड्ने कसैले पास गर्ने अंक दिए हामीलाई मान्य हुन्छ । कसैले मानेनन् । त्यसपछि सबैले यति द्रूतगतिमा प्रगति गर्न थाले आफ्नो अध्ययन कार्यमा । हामी छक्क पर्‍यौं । हरेक सेमेस्टर कुलपति र साथीहरू कलेज भ्रमणमा गएर शिक्षक विद्यार्थीहरूसँग खुलामञ्चमा विचार र ज्ञान आदानप्रदान गथ्र्यौं । कलेजले यसरी विश्वविद्यालयको न्यानोपन पाए र फाइदा उठाए ।

विस्तारै विश्वविद्यालयको पाँचवर्षीय विकास योजना तयार पार्‍यौं । देशमा नभएका स्कुल र विभागहरू निर्माण गर्‍यौं । अरू विश्वविद्यालयमा नपढाइएका विशेष पहाड-पर्वत र यहाँका मानव समाजलाई चाहिने कार्यक्रमहरू अघि ल्यायौं । ओखती मूलो, फलफूल, प्राकृतिक प्रकोप र सीमा क्षेत्र, विश्व अध्ययन, चिनियाँ भाषा र चिनियाँ व्यवस्था अध्ययन, शान्ति र युद्ध पहाडी प्राकृतिक संशोधन र कृषि व्यवस्था, पानी, जंगल, परम्परा र संस्कृति बनायौं । जब विश्वविद्यालय अनुदान आयोगका सदस्यहरू यस विकास योजनामाथि छलफल गर्न सिक्किम आए, उनीहरू अचम्भित भए कि यति छोटो अवधिमा यति गहिरो र यति व्यापक कार्य भएको देखेर अध्ययन र अन्वेषणको विभाग र केन्द्रहरूको रूपरेखा र तयार देखेपछि अति नै प्रभावित भए ।

नभन्दै सायद देशमै पहिलोपटक एउटा नयाँ विश्वविद्यालयलाई एकैसँग दुई सयभन्दा बढी संख्यामा प्राध्यापकहरू नियुक्ति गर्ने रिक्त पद र ५० भन्दा बढी संख्यामा व्यवस्थापन प्रशासनिक कर्मचारीहरू नियुक्त गर्ने आदेश पत्र पायौं । यस समय अरू नयाँ विश्वविद्यालय बनिँदै गरेका क्षेत्रबाट कसरी यति धेरै रिक्त स्थानहरू एकैसँग पाउनुभयो भन्दै मलाई अन्य कुलपतिहरूले सोध्न थाले । जवाफ एउटै थियो- नयाँ सोच । एउटा विश्व अँगाल्ने राष्ट्रिय विश्वविद्यालय र स्थानीयहरूलाई समेट्ने ढाँचा । अन्त्यमा यही गर्‍यौं ।

हामी भाग्यमानी पनि थियौं । विश्वविद्यालयको चान्सलर भारतका 'हरित क्रान्तिका पिता' डा. एमएस स्वामिथान हुनुहुन्थ्यो । भाग्यवश मैले भारतका 'श्वेत क्रान्तिका पिता' भरगिज कुरियनसँग पनि सन् १९९०-९२ मा गुजरातको आनन्दमा काम गर्ने अभिन्न अवसर पाएको थिएँ । विश्वविद्यालय चलाउने सर्वोच्च कार्यकारिणी समितिमा राष्ट्रका जानेमाने विद्वान्, नोकर शाहीका प्रतिनिधि अनि विशेषज्ञहरू थिए । यसरी नै प्राज्ञ परिषद् र वित्त परिषद्मा अत्यन्तै प्रसिद्ध व्यक्तिहरू थिए । हाम्रा वित्त अधिकारीहरू पनि भारतका वित्त प्रशासनिक सेवाका उच्च स्तरमा पुगेका व्यक्तिहरू थिए ।

विश्वविद्यालय २८ महिनाको हुँदै प्रथम दीक्षान्त समारोहमै भारतका राष्ट्रपति प्रतिभा पाटिल मुख्य अतिथिको रूपमा आउनुभयो । एक घन्टाको कार्यक्रम ठीक समयमा सुरु गरेर टुंगाउनुपर्ने भयो । सरमसा गार्डनमा चार दिनसम्म एकएकवटा क्षणको अभ्यास गर्‍यौं । दीक्षान्त समारोह भव्य भयो । राज्यपाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार एमके नारायण, मुख्यमन्त्री पवन चामलिङ र धेरै संख्यामा राष्ट्र र सिक्किमका वरिपरिबाट आएका अतिथिहरूले सराहना गर्दै समारोहमा भाग लिए । सिक्किम विश्वविद्यालयको नेपालीमा लेखिएको स्तुति वन्दना प्रथमपटक प्रस्तुत गरियो । स्तुति वन्दनाले मुग्ध भएकी राष्ट्रपतिले यसको हिन्दी र अंग्रेजीमा अनुवाद मागिन् । नेपाली भाषामा विश्वविद्यालयको गीत (स्तुति वन्दना) हुने भारतमै यो पहिलो विश्वविद्यालय हुन गयो ।

विद्यार्थी-शिक्षक कर्मचारी सबैसबैले यस स्तुति वन्दनालाई हरेक कार्यक्रमको सुरुमा प्रस्तुत गर्न थालेपछि दूरदर्शन टेलिभिजन र पुनाको फिल्म अनि टेलिभिजन इन्स्टिच्युटले सिक्किम विश्वविद्यालयमाथि बनाइएको फिल्ममा घरिघरि यो धुन बजाउन थाले । स्तुति वन्दनाको अन्त्यतिर 'जय महान् भारत, जय सुरम्य सिक्किम र जय सिक्किम विश्वविद्यालय' पुग्दा म आफैंले धेरै विद्यार्थी-शिक्षक-कर्मचारी-अतिथि र बूढापाकाहरूका आँखामा आँसु देखें । उनीहरूलाई यस्तो स्थितिमा देखेपछि मभित्रको मान्छे पनि पग्लिन्थ्यो र मेरै आँखा पनि रसाउँथे ।

एउटा राष्ट्रिय विश्वविद्यालय बनायौं । पहाडका नानी विद्यार्थीहरू अति नै योग्य, हँसिला, छिटो सिक्ने र चाँडो अघि बढ्ने हुन्छन् । तर यी नानी विद्यार्थीले ठूलो कुरो सिक्नै सकेन, सिकाउने नै भए । र नै पछि भए । किन दिल्लीको लेडी श्रीराम कलेज र सेन्ट स्टेफन जानु किन जेएनयू जानु ? यदि त्यस्तै कलेज र विश्वविद्यालय घरको आँगनमा नै छन् भने किन त्यति टाढो जानु ? के छन् यी सर्व श्रेष्ठ शैक्षिक संस्थाहरूमा जो पहाडमा छैनन् ? राजा महाराज, नोकरशाही र विद्वान्हरू सबै पढेका स्कुलहरूचाहिँ हामीसितै दार्जिलिङ आदिमा छन् । के देख्यौं भन्दा यी सर्व श्रेष्ठ संस्थानहरूमा चार कुरो रहेछन् । प्रथम ठूलो सोच्ने संस्थाको अध्यक्ष, दोस्रो अति नै कुशल र योग्य शिक्षक, तेस्रो चारैतिरबाट आएका विद्यार्थीहरूमाझ होडबाजीको वातावरण र चौथो विभिन्न सुविधा पुस्तकालय, होस्टेल, प्रयोगशाला आदि । त फेरि यी सुविधा सबै सिक्किम विश्वविद्यालयमै ल्याए हामी नै सव श्रेष्ठ हुने रहेछौं भन्दै यसै मन्त्र जप्दै अघि बढ्यौं ।

प्रश्नहरू धेरै थिए । स्थानीय व्यक्तिलाई वा चेपेर कसै अयोग्य व्यक्तिलाई शिक्षक बनाउने र नानीहरूको भविष्यचाहिँ स्वाहा बनाउने तर विश्व र राष्ट्रको कुनै पनि कुनाबाट अब्बल शिक्षक ल्याएर विद्यार्थीहरूको भविष्य उज्यालो पार्ने ? धेरैलाई यो तर्क मन परेन । कारण उनीहरूले एउटा आफ्नो मान्छेले नोकरी पाओस्, विद्यार्थी र संस्था जतासुकै जाओस् भन्नेमा धेरै ख्याल राख्थे । हामी भन्थ्यौं- शिक्षकको जात, जाति, धर्म, भाषा केही हुँदैन कारण ऊ शिक्षक हो ।

श्रेणीमा पसेर पढाउन थालेपछि केवल ज्ञानको भण्डार हो र भविष्य निर्माणकर्ता हो । विश्व र भारतको सर्व श्रेष्ठ शैक्षिक संस्थाले यस्तै अब्बल शिक्षक ल्याए, कतिपय स्थानीय नै पनि थिए । सिक्किम विश्वविद्यालयले यही गरे । शिक्षण चयन गर्ने बोर्डमा सोच्न सकेका र जानेका सर्व श्रेष्ठ विशेषज्ञहरूलाई निम्त्याए । मैले चयन बोर्डको अध्यक्ष भएर पहिल्यैबाट आठ सूत्रीय प्रस्ताव राख्थें । प्रथम प्रस्ताव नै थियो । कुलपतिको आफ्नो कुनै व्यक्ति यस चयन प्रक्रियामा छैन भनेर । अर्थात् चयन अति नै निष्पक्ष एवं निःस्वार्थ ढंगमा गरिन्थ्यो।

विश्वविद्यालयको सबै कुरोमा विश्व स्तर कायम राख्नुपर्छ भन्ने हाम्रो कटिबद्धता थियो । हामीले पुस्तकालय अति नै भव्य बनायौं । विश्वका विभिन्न महानगर र राष्ट्रबाट प्रकाशित अखबारहरूसमेत त्यहाँ थिए । पुस्तकालयबाट पुस्तक निकाल्ने प्रथा पहिल्यैदेखि डिजिटलाइज्ड गरिएको थियो । प्रयोगशाला अति नै उच्चकोटीको बनाइयो । पुस्तकालयलाई आकर्षक बनाउन चियाकफीसमेतको व्यवस्था निःशुल्क थियो ।

विश्वविद्यालयले विश्वका धेरै प्रसिद्ध विश्वविद्यालय र संस्थाहरूसँग शैक्षिक सम्झौता गरेबापत पाँच वर्षमा एक हजारभन्दा बढी संख्यामा अमेरिका, इङल्यान्ड, जर्मनी, श्रीलंका, नेपाल, बंगलादेश, चीन, दक्षिण कोरिया, स्विट्जरल्यान्ड, ब्राजिल, जापान, फ्रान्स आदिबाट विशेषज्ञ प्राध्यापकहरू आए । नाटिंगघम र सेफिल्ड हलामका त कुलपतिहरू नै आए । विश्वविद्यालयमा विभिन्न थरीका व्याख्यानहरू सुरु गरिए र राष्ट्रको र विश्वको जानेमाने व्यक्तिहरू आएर वार्ता प्रस्तुत गर्थे । 'ग्लोबल लेक्चर' अन्तर्गत विश्व मानव विकास रिपोर्टका लेखिका शाकीको फुकुदा पारदेखि लिएर माइती नेपालमा अध्यक्ष अनुराधा कोइराला र विश्वले मानेको प्राविधिक स्याम पित्रोदासमेत विश्वविद्यालयमा आए ।

राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयदेखि लिएर वित्तीय आयोग र योजना आयोग र राष्ट्रिय अभिलेखागरदेखि लिएर राष्ट्रिय संग्रहालयसम्मले विश्वविद्यालयलाई सघाए । सिक्किम विश्वविाद्यालयको प्रथम संग्रहालय पनि दिल्लीका राष्ट्रिय संग्रहालयको महानिर्देशकको छत्रछायामा गठन गरियो । शिक्षा दिने र शिक्षा ग्रहण गर्ने प्रक्रियामा कक्षा श्रेणीभित्र दिएको लेक्चर भाषणभन्दा पनि घतलाग्दो शिक्षाको जड प्रकृति आदिसँग मिलन र जुझाइबाट हुन्छ भन्ने कुरा सबैलाई ज्ञात छ । घरदैलो, बारीकुलेसो, खोला धारा, पोथ्रा जंगल, खेतबारी पशुप्राणी र बूढापाका ज्ञानका पोका हुन् भन्दै सिक्किम विश्वविद्यालयले विद्यार्थीलाई खुला मैदानबाट ज्ञान आर्जन गर भन्ने कार्यक्रम अघि राखिदिए । हिउँदो यात्रा, मौखिक इतिहास, अनुभव बाँड आदि कार्यक्रम अति नै गहकिलो भए र सफलता हासिल गरे ।
हिउँदो यात्राअन्तर्गत ठन्डा महिनाको छुट्टीमा विद्यार्थी-शिक्षकको दल कमान, बस्ती, पहाड र कन्दरा गएर अम्लिसो, पानी, सुन्तला, देहव्यापार, अलैंची, किनारमा गुन्द्रुक किनेमा बेच्ने महिला, चिया, विद्युत्, गाउँघरको खेल, संगीत आदिमाथि व्यापक अध्ययन गरे र विश्वविद्यालयमा प्रस्तुत गरे ।

मौखिक इतिहासअन्तर्गत ७५ वर्षभन्दा बढी उमेरका बाजेबज्यैलाई विभिन्न विषय-ओखतीमुलो, झाँक्री, फेदाङ्वा, पुरानो घरपरिवार, बाटोघाटो, तिब्बतसँगको व्यापार, खेतबारी आदिमा अन्तर्वार्ता लिएर फिल्म बनाए र लेखे । बाजे मरे, बज्यै मरिन् । दुइटा पुस्तकालय लिएरै गए, अब यस्तो हुन दिँदैनौ है भन्ने मन्त्र लिएर ज्ञानको खोज र प्रज्ञाको व्यापारमा विद्यार्थी-शिक्षक सबै लागे । एउटा अति नै चाखलाग्दो अध्याय भयो यो । अमेरिकाको येल विश्वविद्यालय र जापानको हितोस्सुवासी विश्वविद्यालयले मलाई यस्तै श्रेणीदेखि बाहिर गरिएका ज्ञान शिक्षाको कार्यलाई सिक्किम विश्वविद्यालयले कसरी अघि बढायो भन्दै जिज्ञासा देखाउँदै वार्ता प्रस्तुत गर्न निम्त्याए ।

विश्वविद्यालयका हरेक भवनको नाम राष्ट्रिय र स्थानीय कुरोलाई मिलाएर राखियो । विश्वविद्यालयको लोगो भारतव्यापी होडबाजीबाट ल्याएर जनसाधाराणले भोट दिएर छाने । नेपाल, भोटाङ, बर्मा, बंगलादेश र श्रीलंकाबाहेक भारतका ३४ नगरमहानगरमा विश्वविद्यालयको भर्नाको परीक्षा राखिन्थ्यो । यसबाहेक डिग्री सर्टिफिकेट कसैले पनि नक्कली बनाउन नसकोस् भनेर हामीले नासिकमा भारत सरकारको पैसा छाप्ने सुरक्षित प्रेसमा छाप्थ्यौं । विद्यार्थीमा प्रभाव छिटो पर्‍यो । प्रथमपटक सिक्किमका दुई विद्यार्थीलाई भारतको गणतन्त्र दिवसको कार्यक्रममा दिल्लीमा प्रधानमन्त्रीको ग्यालरीमा सयजना सर्वोत्कृष्ट विद्यार्थी मित्र संलग्न गरियो ।

फटाकफुटुक नेट र जुनियर फेलोसिप सिक्किममा पाउनेहरूको संख्या द्रूत गतिमा बढ्यो । विद्यार्थीहरू देश र विदेशका सर्व श्रेष्ठ विश्वविद्यालय र अन्वेषण संस्थाहरूमा पुगे । छोरीचेली र आमाको नाम प्रथमपटक लेदिने प्रथा र विशेष श्रेणीमा परेका कसैको पनि श्रेणी नबताउने प्रथा पनि सुरु गरियो । सेमेस्टरको नाम नै वसन्त र वर्षा राखियो । परीक्षा सकिएको बीस दिनभित्रमा नै परीक्षा फल इन्टरनेटमा घोषणा गरिन्थ्यो ।

हामी छुट्टीको दिन पनि काम गथ्र्यौं । जहिल्यै पनि रातको नौ बज्थ्यो । पहिल्यैदेखि उपस्थिति र समयको आदर गर्दै मेसिनको प्रयोग गरियो । सबैलाई सोच्ने, खेल्ने, भन्ने र वादविवाद गर्ने प्रशस्त ठाउँ राखिएको थियो । मेरा साथीहरू शिक्षणमा, प्रशासनमा अति नै प्रवीण एवं समर्पित थिए । धेरैले विवाह गर्ने समय पनि पाएनन् । तर संस्था बनायौं । हाल सिक्किम विश्वविद्यालयले अझै प्रगति गर्दैछ । हाम्रो शुभकामना !




प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.