नोबेल पुरस्कार विजेता चिनियाँ लिउको निधन
बेइजिङ : लामो समयदेखि जेलमा थुनिएका नोबेल पुरस्कार विजेता ६१ बर्से चिनियाँ लिउ जियाओबोको बिहीबार निधन भएको छ । कलेजोको क्यान्सरपीडित लिउलाई केही दिन अघि मात्रै अन्तर्राष्ट्रिय दबाबपछि जेल मुक्त गरी उपचारका लागि अस्पताल लगिएको थियो । उत्तरपूर्वी चीनको सेन्याङ प्रान्तस्थित फस्र्ट हस्पिटल अफ चाइना मेडिकल युनिभर्सिटीको कानुन विभागले उनको निधन भएको आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । उनलाई तीन दिनदेखि गहन उपचार गरिएको थियो ।
उनको श्वासप्रश्वास प्रणालीमा अवरोध आएको र बुधबार अवस्था निकै कमजोर भएको अस्पताल स्रोतले जनाएको थियो । लिउको श्वासप्रश्वासमा अवरोध उत्पन्न भएपछि भेन्टिलेटरमा राखी कृत्रिम श्वासप्रस्वास गराउन उनको परिवारले अस्वीकार गरेको थियो ।
चीनमा शासन व्यवस्थाको पुनःसंरचना गर्नुपर्ने, आधारभूत मानवअधिकारको उपयोग गर्न पाउनुपर्नेलगायत अभियान चालेका प्रजातान्त्रिक र मानवअधिकारका अभियन्ता लिउलाई सन् २००८ मा राज्यद्रोहको अभियोगमा पक्राउ गरिएको थियो । त्यसपछि सन् २००९ मा उनलाई ११ बर्से जेल सजाय सुनाइएपछि उनी केही दिनअघि सम्म पनि जेलमा नै थिए ।
उनले सन् २०१० मा जेलमै भएका बेला नोबेल शान्ति पुरस्कार पाएका थिए । सन् १९३८ ताका हिटलरको शासनकालमा नोबेल पुरस्कार विजेता जर्मन कार्ल भान ओसित्स्कीको जेलमै मृत्यु भएझैँ चिनियाँ अधिकारकर्मी लिउको पनि जेलमै मृत्यु हुने सम्भावना बढेपछि उनलाई सघन उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
लिउको उपचारका बारेमा चासो दिँदै जर्मनी सरकारका प्रवक्ता स्टिफेन सेइबर्टले उनको सम्पूर्ण उपचार जिम्मा लिन जर्मनी तयार रहेको बताएका थिए । तर चिनियाँ सरकारले भने सम्भव भएसम्म स्वदेशी वरिष्ठ चिकित्सकहरूको संलग्नतामा उनको उपचार गरिएको दाबी गरेको थियो ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता चेङ सुवाङले बुधबार चीनको न्यायिक सार्वभौमसत्ताको अन्य देशले सम्मान गर्नुपर्ने भन्दै कुनै पनि व्यक्ति विशेषको स्वास्थ्यसम्बन्धमा कुनै पनि टीकाटिप्पणी गर्नु आन्तरिक मामिलामा हस्तक्षेप गरेसरह हुने प्रवक्ताले बताएका थिए ।
गत साता एक जना जर्मन र एक जना अमेरिकी चिकित्सकले लिउलाई भेटेपछि विदेशमा सुविधासम्पन्न अस्पतालमा जान उनी सक्ने अवस्थामा रहेको बताएका थिए । त्यसलगत्तै उनको उपचार गरिरहेको अस्पतालले उनको अवस्था दिन प्रतिदिन खस्कँदै गएको बताउँदै आइरहेको थियो । सीमित व्यक्तिलाई मात्र उनीसँग भेट्न अनुमति दिइएको थियो ।
ताइवानका राष्ट्रपति चाई इङ-वेनले पनि लिउलाई कारावासमुक्त गर्न र उनले इच्छा गरेअनुसार स्वतन्त्रतापूर्वक उपचार गराउने हकबाट वञ्चित नगर्न चीनसँग सामाजिक सञ्जाल ट्विटरबाट आग्रह गरेका थिए । साथै लिउले ताइवानमा उपचार गराउने इच्छा गरे आफू त्यसका लागि तयार रहेको पनि उनले उल्लेख गरेका थिए । त्यसैगरी अमेरिकामा उपचार गराउन चाहे उनको स्वागत गर्न इच्छुक रहेको भनी गत मंगलबार अमेरिकाले पनि लिउलाई मुक्त गर्न चीनसँग आग्रह गरेको थियो ।