चैतेधानमा आकर्षण

चैतेधानमा आकर्षण

 लमही : जिल्लाका किसान असारेखेतीमा लागिरहेका बेला दाङको देउखुरी क्षेत्रमा भने चैतेधान झुल्न थालेको छ । असारे धान रोप्ने बेलामा चैतेधानले बगर पूरै रमणीय बनाएको छ । जिल्लाका अधिकांश क्षेत्रका किसानको चैतेधानप्रति आकर्षण बढ्दा खेतबगर चैतेधानले भरिएको हो ।

जिल्ला कृषि विकास कार्यालय दाङले पछिल्लो दुई वर्षयता दाङमा चैते धानबालीतर्फ किसानको आकर्षण बढ्दै गएको जनाएको छ । बर्खेबालीभन्दा चैतेबालीमा १० प्रतिशतले उत्पादन वृद्धि हुने हुनाले किसान चैतेबालीतर्फ उन्मुख हुँदै गएको कार्यालयका बाली संरक्षण अधिकृत पिताम्बर बस्नेतले जानकारी दिनुभयो । सिञ्चित क्षेत्रमा बर्खे धानभन्दा चैतेधानको उत्पादन १० प्रतिशत बढी हुने भएकाले देउखुरी क्षेत्रका किसान थोपा सिँचाइका माध्यमबाट भए पनि बर्खेधान रोपाइँमा आकर्षित बन्दै गएको उहाँको भनाइ छ ।

सरकारले चैतेबाली अनुदानतर्फ किसानलाई प्रतिहेक्टर पाँच हजारका दरले प्रोत्साहन रकम वितरण गर्दै आएकाले पनि किसान चैतेधानबालीतर्फ आकर्षित बन्दै गएको उहाँले बताउनुभयो । चैतेधान र बर्खेधान रोपाइँले एक वर्षमै दुईबाली भित्राइ खाद्यबालीमा दाङलाई आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई उत्साहित गर्न चैतेधान उत्पादनमा प्रोत्साहन स्वरूप रकम वितरण गर्दै आएको कार्यालयको भनाइ छ ।

कार्यालयका माटो विज्ञ दिगम्गर यादवले यो वर्ष चैतेधानको रोपाइँ तीन हप्ता ढिलो गरी सुरु भएकाले समयमा बाली भित्र्याउन समस्या परेको बताउनुभयो । गत वर्ष असार ८÷१० मै चैतेबाली भित्र्याइसकेको भए पनि यस वर्ष ढिला हुँदा वर्षातमा बाली भित्र्याउनु परेको उहाँले बताउनुभयो । यो वर्ष असार सकिन लाग्दासमेत बाली स्याहार्न नपाउँदा असारे झरीले किसानलाई थप दुःख दिएको उहाँले बताउनुभयो ।

दाङमा यस वर्ष चैतेधान प्रतिहेक्टर ५१ क्विन्टल २५ केजी उत्पादन हुने अनुमान गरिएको छ । गत वर्ष दाङमा ८० हेक्टर क्षेत्रफलमा चैतेधान लगाइएको थियो । प्रतिहेक्टर ४० क्विन्टल २५ केजी उत्पादन भएको यादवले जानकारी दिनुभयो । यस वर्ष चैतेधान प्रतिहेक्टर १० प्रतिशत उत्पादन वृद्धि हुने अनुमान गरिएको छ । देउखुरीको लमही नगरपालिका र गढवा गाउँपालिकामा मात्रै रोपाइँ ढिलो भएकाले बाली भित्र्याउन समस्या भए पनि अन्य क्षेत्रमा चैतेबाली भित्र्याइसकेको बताउनुभयो । बंगलाचुलीमा १२ हेक्टर, गढवा गाउँपालिकामा १२ हेक्टर, बबई गाउँपालिकामा २५ हेक्टर र राजपुरको गुरुङ र रनसिंह खोलामा ३४ हेक्टरमा चैतेधान लगाइएको थियो ।

बर्खेभन्दा चैतेधानबाली उत्पादन १० प्रतिशत बढी हुने हुनाले किसान चैतेधानखेतीतर्फ उन्मुख हुँदै गएका हुन् ।

१०÷१२ दिनयता दाङमा लगातारको वर्षाले किसानलाई चैतैधान भित्र्याउने चिन्ता परेको छ । चैतेधान भित्र्याइ बर्खे धान रोप्ने बेलामा लगातार पानी आउँदा केही समस्या भएको किसानको भनाइ छ । लमही ३ फल्कापुरका रामला पौडेलले चैतेधान भित्र्याउने समयमा पानीले समस्या परेको बताउनुभयो, ‘थोपा-थोपा जम्मा गरी चैतेबाली लगायौं, भित्र्याउने बेलामा पानीले समस्या पार्दै गएको छ ।' उहाँले थप्नुभयो, ‘पानी परिरहेको छ, बाली झर्न लाग्यो ।

तर बाली भित्र्याउन सकिएको छैन । वरीपरी सबैले बर्खेबाली रोपी सके, ‘तर वर्षातले बाली भित्र्याउन मुस्किल परिरहेको छ ।' उहाँले चैतेधान भित्र्याउने बेलामा पानीले असर गरेको र दुःख गरी लगाएको बाली त्यत्तिकै खेर जाने होकी भने चिन्ता लागेको छ । किसान भक्तिराम घिमिरेले पनि चैतेधान पाकिसक्दा पनि भित्र्याउन नपाएको बताउनुभयो । ‘बाली भित्र्याउने बेलामा बाली काट्न नदिने गरी पानी परेको छ', उहाले भन्नुभयो , ‘धान सबै झरीले झारिसक्न लाग्यो । पाकेको बाली काट्ने बेलाको पानीले सतायो ।

‘चारैतिर बर्खे बालीको रोपाइँ सुरु भइसक्यो । तर हामीले यसपाला चैतेबाली नै भित्र्याउन सकेका छैनौं ।' यसैबीच जिल्ला कृषि विकास कार्यालय दाङले देउखुरी क्षेत्रको चैतेधान र मत्स्यपालन क्षेत्र अनुगमन गरेको छ । वार्षिक कार्य तालिकाका अनुसार मत्स्य विकास कार्यक्रमअन्तर्गत माछापालन क्षेत्र तथा धानबाली विकास कार्यक्रमतर्फ चैतेधान ब्लक क्षेत्रको अनुमगन गरिएको हो ।'

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.