दार्जिलिङमा स्रष्टाको विद्रोह : राज्य सरकारको सम्मान फर्काइदिए

दार्जिलिङमा स्रष्टाको विद्रोह : राज्य सरकारको सम्मान फर्काइदिए

दार्जिलिङ : दार्जिलिङका विभिन्न स्रष्टाले पश्चिम बंगाल सरकारले दिएको सम्मान शुक्रबार फिर्ता गरिदिएका छन्। गोर्खाल्याण्डको मागमा राज्य सरकार उदासीन बनेको र पहाडका नेपाली भाषी भारतीय गोर्खालीलाई राज्य सरकारले चरम दमन गरेको भन्दै उनीहरुले सम्मान फिर्ता गरेका हुन्।

राज्य सरकारले विभिन्न समयमा प्रदान गरेको सम्मान फिर्ता गर्ने स्रष्टामा वरिष्ठ संगीतकार कर्म योञ्जन, साहित्यकार कृष्णसिंह मोक्तान र शिक्षक डा. प्रभात प्रधान रहनुभएको छ। कालिम्पोङका शिक्षाविद डा. नवरत्न प्रधानले पनि राज्य सरकारले दिएको शिक्षा रत्न पुरस्कार फिर्ता गर्नुभएको छ ।

संगीतकार कर्म योञ्जनले सन् २०१६ मा राज्य सरकारकी मुख्यमन्त्री ममता बेनर्जीबाट संगीत पुरस्कार प्राप्त गर्नुभएको थियो। साहित्यकार कृष्णसिंह मोक्तानले सन् २००४ मा राज्य सरकारकै तर्फबाट भानुभक्त स्मृति पुरस्कार प्राप्त गर्नुभएको थियो। त्यस्तै उहाँलाई राज्य सरकारले नै सन् २०१४ मा बंगरत्न पुरस्कार दिएको थियो।

डा. प्रभात प्रधानले सन् २०१५ मा राज्य सरकारको तर्फबाट शिक्षारत्न पुरस्कार पाउनुभएको थियो। स्रष्टा नवरत्न प्रधानले सन् २०१५ मै पाउनु भएको शिक्षारत्न पुरस्कार फिर्ता गर्नुभएको छ। फिर्ता गर्ने स्रष्टाहरुले शुक्रबार दार्जिलिङमा एउटा सार्वजनिक कार्यक्रममा उहाँहरुले पुरस्कार फिर्ता गरेको घोषणा गर्नुभएको थियो।
‘राज्य सरकारले नेपाली भाषी गोर्खालीको संवैधानिक मागलाई लिएर गरेको दमनका विरुद्धमा हामीले सक्ने विद्रोह गरेका हौं,’ दार्जिलिङमा संवाददातासंग संगीतकार योञ्जनले भन्नुभयो, ‘हामी प्रत्येक गोर्खालीलाई गोर्खाल्याण्ड चाहिएको छ ।’

आन्दोलनलाई राष्ट्रिय रुप दिन अनसन स्थगीत
गोर्खाल्याण्ड राज्यको माग गर्दै आन्दोलनरत दलले शुक्रबारदेखि गर्ने भनेको आमरण अनसन स्थगित गरेका छन्। गोर्खाल्याण्ड आन्दोलनमा सबै भारतीयको समर्थन जुटाउने भन्दै दलहरुले अनसनको कार्यक्रम रोकेका हुन्। शुक्रबारदेखि दलका उच्च नेता अनसनमा बस्ने मंगलबार मिरिकमा सम्पन्न गोर्खाल्याण्ड मुभमेन्ट कोअडिनेशन कमिटी (जिएमसीसी)को बैठकले निर्णय गरेको थियो।

जिएमसीसीका संयोजक कल्याण देवानले आन्दोलनलाई राष्ट्रिय रुप दिन आमरण अनसन रोकेको जानकारी दिनुभयो। उहाँले भारतमा हुनलागेको राष्ट्रिपति निर्वाचनलाई समेत ध्यानमा राखेर यस्तो निर्णय लिएको बताउनुभयो। उहाँले गोर्खाल्याण्डको पक्षमा देश विदेशमा भइरहेको आन्दोलनलाई एकरुपता दिन समेत अनसन स्थगत गरेको बताउनुभयो। देवानले अन्य कार्यक्रम जारी रहने बताउनु भयो। देवानका अनुसार साउन ३ गते बस्ने जिएमसिसिको बैठकले अनशनको अर्को मिति तय गर्ने बताउनु भयो।

एक महिनादेखि जारी आम हड्तालको क्रममा शुक्रबार पनि पहाडभर प्रदर्शन भएको मोर्चा नेतृ निरा शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार एक महिनादेखि बंगाल सरकारले इन्टरनेट सेवा बन्द गरेको कारण दार्जिलिङसहितका क्षेत्रका इन्टरनेट प्रयोगकर्ता प्रभावित भएका छन्। गोर्खाल्याण्ड आन्दोलनमा अहिले विमल गुरुङ नेतृत्वको गोर्खा जनमुक्ति मोर्चा, मन घिसिङ नेतृत्वको गोर्खा राष्ट्रिय मुक्ति मोर्चा, भारती तामाङ नेतृत्वको अखिल भारतीय गोर्खा लिग, दावा पाख्रिङ नेतृत्वको गोर्खा राज्य निर्माण मोर्चा, हर्कबहादुर क्षेत्रीको जनआन्दोलन पार्टी, आर. वि. राई नेतृत्वको क्रान्तिकारी माक्र्सवादी कम्युनिष्ट पार्टी लगायतका दल र अन्य सामाजिक संगठन अग्रमोर्चामा रहेका छन्।

मुख्यमन्त्री ममता व्यनर्जीको सरकारले सिलिगुडीबाट दार्जिलिङसहितका पहाडी क्षेत्रमा ल्याउने खाद्यान्नमा रोक लगाएपछि मजदुर र विपन्न समुदायमा भोकमरी सुरु भएको शर्माले बताउनु भयो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.