सूर्यविनायक नगरको पहिलो नगरसभाः प्रशासनिक खर्चको करिब सात गुणा विकास बजेट
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिकाले प्रशासनिक खर्चको करिब सात गुणा बढी बजेट विकास निर्माणको लागि छुट्याएको छ। नगरपालिकाले शुक्रबार भएको पहिलो नगर सभाले नपाको कूल बजेटको ८७ दशमलब १३ प्रतिशत विकास निर्माणको लागि छुट्याएको हो। प्रशासनिक खर्चतर्फ भने १२ दसमलब ८७ प्रतिशत बजेटमात्रै छुट्याइएको छ।
सूर्यविनायक नपाका प्रमुख वासुदेव थापाले कूल ४८ करोड १० लाख २८ हजार रुपैयाँको आर्थिक वर्ष २०७४÷७५ को लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको छ। जसमा कार्यक्रम तथा पूँजीगततर्फ ४१ करोड ९१ लाख २८ हजार रुपैयाँ विनियोजन गरिएको छ। कर्मचारी एवं प्रशासनिकतर्फ भने ६ करोड १९ लाख रुपैयाँ छुट्याइएको हो।
सूर्यविनायकलाई सरकारले सशर्त १४ करोड ८४ लाख २८ हजार र निःशर्त २४ करोड ७७ लाख ५० हजार रुपैयाँ केन्द्रीय अनुदान उपलब्ध गराएको छ।
सूर्यविनायकले आफ्नो आन्तरिक आयबाट भने आठ करोड ४८ लाख ५० हजार रुपैयाँको मात्रै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ।
नगर सभामा प्रमुख थापाले जनताको आकांक्षाअनुसार नगरपालिकाको विकास निर्माण र सेवा प्रवाहमा समर्पित रहने विश्वास दिलाउनुभयो।
एक घर एक धारा
नगर प्रमुख थापाले खानेपानीको चरम अभाव रहेको सूर्यविनायक नगरका वासिन्दाको घरघरमा खानेपानीको पहुँच पुर्याउने उद्देश्यले एक घर एक धाराको नीति अवलम्बन गरिने जानकारी दिनुभयो।
खानेपानीको मुहान संरक्षणको लागि मुहान आसपास उपयुक्त मापदण्डसमेत बनाइने बताउँदै उहाँले नपाभित्र सञ्चालित क्रमागत खानेपानी आयो्जनाहरुलाई यथाशीघ्र सम्पन्न गर्दै खानेपानी अभाव न्यूनीकरण गर्दै लगिने जानकारी दिनुभयो।
पर्यटन प्रवद्र्धनलाई प्राथमिकता
नगर प्रमुख थापाले सूर्यविनायक नगरका विभिन्न क्षेत्रलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्ने महत्वाकांक्षी नीति अघि सार्नुभएको छ। उहाँले सूर्यविनायक नगरभित्र पर्ने डोलेश्वर महादेव, आशापुरी महादेव, अनन्तलिंगेश्वर, सोमलिंगेश्वर, लटरम्मेश्वर, नन्दीकेश्वर महादेव मन्दिर क्षेत्रलगायतलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गरिने जानकारी दिनुभयो।
‘स्थानीयस्तरमा रोजगारी सिर्जना गरी जनताको आर्थिक अवस्था सुदृढ गर्न नपाले पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिएको छ’, उहाँले भन्नुभयो, ‘सूर्यविनायक नपास्थित रानीकोट गढी, चुच्चे ढुंगा, पाइलटबाबा आश्रम, लाँकुरी भञ्ज्याङ, अनन्तलिंगेश्वर डाँडा, काँक्राबारी, भंगाल डाँडा, लिंगो बनलगायतलाई आधुनिक एवं रमणीय पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने छ। ’
निजी क्षेत्रलाई प्रोत्साहन
सूर्यविनायक नपाले निजी क्षेत्रलाई प्रोत्साहनको नीति अघि सारेको छ। नपाभित्र औद्योगिक क्षेत्र स्थापना गरी उद्योग व्यवसाय सञ्चालन गर्न उद्यमीहरुलाई प्रोत्साहन गरिने नगर प्रमुख थापाले जानकारी दिनुभयो। उहाँका अनुसार नपाभित्र रहेका साना तथा मझौला उद्योगीहरुको लागि विशेष कार्यक्रमको व्यवस्था गरिने छ।
‘सार्वजनिक निजी साझेदारी नीतिको अवलम्बन गर्दै दीर्घकालीन योजनाहरुको अध्ययन सुरु गरिनेछ’, नगर प्रमुख थापाले भन्नुभयो, ‘पर्यावरण र वातावरण प्रदूषण गर्ने उद्योगहरुलाई विस्थापित गरिने छ। ’ उहाँले नगरभित्र रहेका स्वास्थ्य चौकीहरुको स्वास्थ्य सेवा विस्तार गरी अस्पतालको रुपमा विकास गर्दै लगिनेसमेत बताउनुभयो।