सहकारी व्यवस्थित गर्नु आवश्यक : प्रधानमन्त्री देउवा
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सहकारी मर्यादित र व्यवस्थित हुन आवश्यक भएको बताउनुभएको छ। राष्ट्रिय सहकारी विकास बोर्डको भवन उद्घाटन कार्यक्रममा बोल्दै देउवाले सहकारीमा अवसरसँगैचुनौती पनि उत्तिकै रहेको बताउनुभयो। सहकारीले मूल्य, मान्यता र सिद्वान्त कार्यान्वयन गरेर सहकारी सञ्चालन गर्न सहकारीकर्मीलाई आग्रह गर्नुभयो।
सहकारी समाजवादको बलियो आधारशीला भएकाले सहकारी विकृतिरहित हुनुपर्नेमा देउवाको जोड थियो। दूरदराजमा सहकारी अझै पुग्न नसकेको भन्दै गाउँगाउँमा सहकारी लैजान विशेष जोड दिइनुपर्ने उहाँको भनाइ छ। ‘सहकारी अझै निम्न वर्गसम्म पुग्न सकेको छैन्, गाउँगाउँसम्म एवम् निम्न वर्गसम्म पहुँच स्थापित गर्न सहकारी अभियानले ध्यान दिनु जरुरी छ’ उहाँले भन्नुभयो।
राष्ट्रिय सहकारी ऐन संसदबाट छिट्टै पारित गर्ने तयारी भएको भन्दै प्रधानमन्त्री देउवाले ऐन पश्चात सहकारीमा भएका विकृति, विसंगती अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो।
निजी क्षेत्र र सहकारीको सहकार्यमा अर्थतन्त्र बलियो बनाउन सकिने उहाँको भनाइ छ। ‘सहकारीले अब उत्पादनतर्फ केन्द्रित गर्नुपर्छ’ उहाँले भन्नुभयो। सहकारीले आर्थिक, सामाजिक विकासमा टेवा पु¥याउनुका साथै गरिबी निवारण र रोजगारी सिर्जना गर्नमा उल्लेख्य योगदान दिन सक्ने उहाँको भनाइ छ।
कार्यक्रममा बोल्दै अन्तरिम मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले सहकारीमा केही गलत काम भएको भन्दै तत्काल सुधार गर्नुपर्नेमा जोड दिनुभयो। असमानता र विभेद अन्त्यका लागि सहकारी बलियो खम्बा बन्न आवश्यक भएको उहाँको भनाइ थियो। सहकारी उत्पादनतर्फ केन्द्रित भए मात्र सहकारी अभियानले सार्थकता पाउने उहाँले विश्वास व्यक्त गर्नुभयो।
पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीले सहकारी ऐन मस्यौदा ड्राफ्ट गरी संसदमा पठाएको र उक्त ऐन पारित भए पश्चात सहकारी नयाँ दिशाँबाट अघि बढ्ने बताउनुभयो। सहकारीबाट स्थानीय स्रोत साधान परिचालन गरी रोजगारी सिर्जना र गरिबी निवारण गर्न सकिने भएकाले सहकारीलाई सरकारले नै विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो।
राष्ट्रिय सहकारी विकास बोर्डले सरकार र सहकारीबीच सेतुको रुपमा काम गर्न सुझाव दिनुभयो। राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले दक्षिण तराईमा सहकारी पुग्न नसकेको भन्दै सहकारी अभियानले त्यतातिर सहकारी सचेतना फैलाउनका लागि जोड दिइने बताउनुभयो।
सहकारी अभियानको विकास र गतिशीलतामा बोर्डले उल्लेख्य भूमिका खेल्न सक्ने उहाँको भनाइ थियो। राज्यका तीन खम्बे अर्थतन्त्रमा सहकारी, निजी क्षेत्र र सार्वजनिक निकाय नै सबल र सक्षम हुनुपर्नेमा उहाँले जोड दिनुभयो।
पूर्वमन्त्री बालकृष्ण खाँडले बिपीका सपना पूरा गर्न र नेपाली जनताको चाहना पूरा गर्न सहकारीप्रति प्रतिबद्व हुनुपर्नेमा जोड दिनुभयो। राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष सरोजकुमार शर्माले सहकारी ऐन पारि भएपश्चात सहकारी अभियानले फड्को मार्ने बताउनुभयो। सहकारीको दिगो विकासका लागि बोर्डले २० वर्षे दीर्घकालीन सहकारी रणनीति तयार पार्न लागेको बताउनुभयो।