सहिदको सालिक अनावरणमा आमा नै नजाने !
वीरगन्ज : मधेस आन्दोलनका क्रममा संविधान जारी भएका दिन वीरगन्जमा प्रहरीको गोली लागेर ज्यान गुमाएका पर्साको पकाहा मैनपुरका सहिद सत्रुधन पटेलको शनिबार हुने सालिक अनावरण कार्यक्रममा सहिद पटेलकै आमा सहभागी नहुने हुनु भएको छ।
पकाहा मैनपुरमा निर्माण गरिएको सहिद पटेलको सालिकको राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष महन्थ ठाकुरले शनिबार अनावरण गर्ने कार्यक्रम छ। तर, पटेलकै आमा कुस्मी देवीले भने सालिक अनावरण कार्यक्रममा आफू सरिक नहुने बताउनु भएको छ।
सहिद पटेलकी आमा कुस्मी देवीले कुनै एउटा दलले आफूसंग सल्लाह नै नगरी आफनो राजीखुशीले सालिक बनाएको र कार्यक्रममा सबै मधेसी दलका नेता नआउने भएकाले आफू उक्त कार्यक्रममा नजाने बताउनु भएको हो।
‘जसरी मेरो छोरा सहिद भएका बेला उसको अन्त्येष्टिमा सबै मधेसी दलका नेताहरु आएका थिए अहिले सालिक अनावरण कर्यक्रममा पनि सबै नेता आउनु पर्छ भन्ने मेरो चाहना हो’, उहाँले भन्नुभयो, ‘तर, शनिबार कुनै एउटा दलले मात्र कार्यक्रम गर्दैछ त्यसैले म उक्त कार्यक्रममा जान्न, त्यो कार्यक्रममा मेरो मन्जुरी पनि छैन, मसंँग उनीहरुले सल्लाह पनि गरेका छैनन्, मेरो छोराले मधेसका लागि ज्यान दिएको हो, कुनै दल विशेषलाई राजनीति गर्नका लागि होइन। ’
मधेस आन्दोलनका क्रममा संविधान जारी भएका दिन असोज ३ गते वीरगन्जको गीता मन्दिर रोडमा प्रहरीले चलाएको गोली लागेर शत्रुधनको निधन भएको थियो। उनलाई नेपाल सरकारले सहिद पनि घोषणा गरिसकेको छ।