माओवादीलाई मधेसको आस
काठमाडौं : माओवादी केन्द्रले प्रदेश २ को स्थानीय निर्वाचनका लागि केन्द्रीय तहबाटै ‘अभियानात्मक तयारी' गर्ने भएको छ । २ साउनदेखि सुरु हुने केन्द्रीय सचिवालयको विस्तारित बैठकलगत्तै पार्टी अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्षनेताले मधेसमै झरेर निर्वाचन तयारी गर्न लाग्नुभएको हो ।
मधेसमा कांग्रेस-एमालेभन्दा ठूलो शक्ति बन्न माओवादीले विशेष कार्ययोजना अगाडि बढाउने जनाएको छ । विशिष्टीकृत योजना नबनाउँदा पार्टी यसअगाडिका निर्वाचनमा पराजित भएकाले यसपटक सबै शीर्ष नेता मधेसमै परिचालित हुनेगरी योजना बनाउन लागेको प्रदेश नम्बर २ का इन्चार्ज मात्रिका यादवले बताउनुभयो । ‘अब शीर्ष नेता पनि मधेसको निर्वाचनमा पूरै खटिनुहुन्छ,' यादवले भन्नुभयो, ‘जित्ने सम्भावना भएका स्थानीय तह पहिचान गरी अध्यक्षदेखि सबै शीर्ष नेतालाई फिल्डमै उतार्दै छौं ।'
हेडक्वार्टरकै केही नेता भने मधेसमा खटिइसकेका छन् । पर्सामा उर्मिला अर्याल, रौतहट-बारामा प्रभु साह, महोत्तरी र सर्लाहीमा गिरिराजमणि पोखरेल, धनुषामा मात्रिका यादव तथा सिरहा र सप्तरीमा विश्वनाथ साह जिम्मेवारीसहित खटिनुभएको हो । मधेसका ८ जिल्लाका १२७ स्थानीय तहमा २ असोजमा निर्वाचन हुँदै छ । यसअघि निर्वाचन भएका ६ प्रदेशका ६१७ स्थानीय तहमध्ये माओवादीले ८४ वटा प्रमुख पद जितेको थियो ।
सीमित मात्र नगरपालिकामा जिते पनि अहिलेसम्म उपमहानगर र महानगरपालिकामा भने उसले जित हात पारेको छैन । भरतपुर महानगरमा प्रतिस्पर्धामा रहे पनि पार्टी कार्यकर्ताबाटै मतपत्र च्यातिएपछि त्यहाँको नतिजा अन्योलमा छ । प्रदेश नम्बर २ मा एक महानगरपालिका र तीन उपमहानगरपालिका छन् । तीनवटा उपमहानगरमध्ये कम्तीमा एउटामा जित हासिल गर्ने लक्ष्य माओवादीले राखेको छ । केन्द्रीय सचिवालयको बैठक सकेको कम्तीमा साता-दस दिनभित्र अध्यक्ष दाहाललाई नै मधेसका जिल्लामा लैजाने माओवादीको योजना छ । ‘अध्यक्षलाई आठवटै जिल्लाका कार्ययोजनामा प्रत्यक्ष सहभागी गराई चुनावी योजना बनाउँदै छौं,' प्रदेश २ कै नेता युवराज भट्टराईले भन्नुभयो, ‘सचिवालयको विस्तारित बैठक सकेलगत्तै अध्यक्ष मधेस झर्नुहुन्छ ।'
- दाहाल आफैँ मधेस झर्ने
- साउन दोस्रो साताबाट प्रशिक्षण चलाउने
- अन्य पार्टीका प्रभावशाली व्यक्तिलाई तान्ने
माओवादीले साउन दोस्रो साताबाट मधेसमा पार्टी प्रशिक्षण पनि चलाउने भएको छ । ‘पार्टी पंक्तिलाई बलियो बनाउन र निर्वाचन तयारी गर्न प्रशिक्षण चलाउने योजनामा हामी छौं,' भट्टराईले अन्नपूर्णसँग भन्नुभयो । ०७० को संविधानसभामा देशैभर प्रत्यक्षतर्फ २६ स्थान जित्दा माओवादीले मधेसबाटै ८ स्थान हात पारेको थियो । अहिले संसद्मा यस क्षेत्रबाट माओवादीका १८ सांसदले प्रतिनिधित्व गर्छन् । मधेसकेन्द्रित दल राजपा, संघीय समाजवादीलगायत पार्टीले उठाउँदै आएको मागमा कांग्रेस-एमालेभन्दा बढी आफ्नो पार्टी उदार रहेको, संविधान संशोधनका लागि निर्णायक पहलकदमी लिइरहेकाले पनि मधेसी जनताले माओवादीलाई जिताउने नेता यादवको आकलन छ ।
‘मधेसीको माग सम्बोधनमा कांग्रेस, एमालेभन्दा बढी हामी उदार भएर मधेसी जनतासँग जोडिएका छौं,' यादवले भन्नुभयो, ‘मधेसी जनताले विश्वास गर्ने आशा लिएका छौं ।' त्यस्तै, निर्वाचनकै मुखमा मधेसको राजनीतिमा प्रभाव राख्ने कतिपय व्यक्तिलाई पार्टी प्रवेश गराएको कारण मधेसमा पार्टीले रामै्र नतिजा ल्याउने विश्वास माओवादी नेताले गरेका छन् ।
‘जित्ने सम्भावना भएका स्थानीय तह पहिचान गरी अध्यक्षदेखि सबै शीर्ष नेतालाई फिल्डमै उतार्दै छौं ।'
- मात्रिका यादव, इन्चार्ज, प्रदेश २
यसबीचमा माओवादीले नयाँ शक्ति, नेत्रविक्रम चन्दमा लागेका केही नेता-कार्यकर्तालाई पार्टीमा पुनः फर्काएको छ । २६ असारमा मात्रै नयाँशक्तिमा रहेका पूर्वसभासद् शिवचन्द्र कुसवाहलाई माओवादीले पुनः पार्टीमा फर्काएको थियो । त्यस्तै, कांग्रेस महासमिति सदस्य तथा जनकपुर क्षेत्रका लोकतान्त्रिक आन्दोलनका कमान्डर ललन चौधरी र मधेसका अर्का स्थापित नेताका रूपमा चिनिने डा. जितेन्द्र महासेठलाई पनि माओवादीले पार्टीमा भित्र्याएको छ । महासेठ ०४२ सालको चर्चित बमकाण्डका कमान्डरमध्येका हुन् ।