सहिदको सालिक अनावरण रोक्न उजुरी
वीरगन्ज, : मधेस आन्दोलनको क्रममा वीरगन्जमा प्रहरीको गोलीबाट मारिएका पर्साको पकाहा मैनपुरका सहिद शत्रुधन पटेलको सालिक अनावरण कार्यक्रम विवादास्पद बनेको छ ।
पकाहा मैनपुरमा निर्माण गरिएको सहिद पटेलको सालिक अनावरणका लागि राष्ट्रिय जनता पार्टीले शनिवार आयोजना गरेको कार्यक्रम विवादास्पद बनेको हो । सहिद पटेलकी आमा कुशमी देवीले शनिवार बिहान पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेलाई भेटेर सालिक अनावरण कार्यक्रम रोक्न राष्ट्रिय जनता पार्टी बिरुद्ध लिखित उजुरी नै दिएपछि कार्यक्रम विवादास्पद बनेको हो ।
पकाहा मैनपुरमा निर्माण गरिएको शहिद पटेलको शालिकको राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले शनिवार अनावरण गर्ने कार्यक्रम छ ।
शहिद पटेलकै आमा कुशमी देवीले भने शालीक अनावरण कार्यक्रममा आफु सरिक नहुने भन्दै कार्यक्रम नै रोक्नका लागि प्रमुख जिल्ला अधिकारीलाइ राजपा विरुद्ध उजुरी दिनु भएको हो ।
‘मसंग र मेरो परिवारसंग सल्लाह नै नगरी कसैले आफुखुशी मेरो छोराको सालिक बनाएको छ, सालिकको अनुहार पनि मेरो छोरासंग फिटिक्कै मिल्दैन,मेरो छोराको अनुहार चाइनिज मान्छेको अनुहार जस्तो बनाई दिएका छन्,’ शनिवार जिल्ला प्रशासन कार्यालयमा भेटिनु भएकी सहिद पटेलकी आमा कुशमी देवीले भन्नु भयो , ‘शहादत प्राप्त गरेका बेला उसको दाह संस्कारमा सबै मधेसी दलका नेताहरु आएका थिए, तर आज एउटा कुनै पार्टी विशेषले मेरो छोराको मुर्ति बनाएर राजनीति गर्न खोज्दैछ, मलाई मन्जुर छैन् ।’
सहिद पटेलका दाजु तेजा पटेलले पनि आफुहरुको सहमति बिना गर्न लागिएको सालिक अनावरण कार्यक्रममा आफुहरु सामेल नभएको बताउनु भयो ।
सालिक अनावरण कार्यक्रम रोक्न भन्दै सहिद पटेलकी आमा कुशमी देवीले उजुरी दिएपछि पर्साका प्रमुख जिल्ला अधिकारी घिमिरेले यसलाई आफुले गम्भीर रुपमा लिएको प्रतिक्रिया दिनु भयो । ‘जो आमाको छोरा मारिएका छन् उनैले असहमति जनाएपछि सालिक अनावरण गर्ने कार्यक्रमको कुनै तुक देखिदैन,’ प्रमुख जिल्ल अधिकारी घिमिरेले भन्नु भयो , ‘सहिद पटेलकी आमाले सालिक अनावरण कार्यक्रम रोकि दिनु परयो भनेर लिखित निवेदन नै दिनु भएको छ, यस बारेमा मैले कार्यक्रमका आयोजक दलका नेताहरुलाइ जानकारी गराइसकेको छु, सहिद परिवारको असन्तुष्टि सबैले सुनिदिनु पर्छ ।’
तर राजपाका नेताहरुले भने सहिद पटेलका परिवारलाइ संघीय समाजवादी फोरम नेपालका स्थानीय नेताहरुले उचाल्ने काम गरेर सहिदको नाममा फोहोरी खेल खेल्न खोजेको आरोप लगाएका छन् ।
सहिद पटेलकी आमाको भावनाको आफनो दल राजपाले सम्मान गर्ने भन्दै राजपाका महासचिव शिव पटेलले भन्नु भयो,‘तर बुझ्नु पर्ने के हो भने सहिद कुनै ब्यक्ति वा दल विशेषको मात्रै हुदैनन्,समग्र देश र समाजका लागि धरोहर हुन्, यदि कसैले उनको सम्मान गर्न खोज्छ भने यसलाइ सहिद परिवारले पनि सहज रुपमा ग्रहण गर्नु पर्छ तब मात्र सहिदको बलिदानीको सम्मान गरिएको ठहर्छ ।’