एएफसी यू-२३ : नेपाल यूएईसँग ५-० ले पराजित
काठमाडौं : नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) मा शनिबार देखि सुरु भएको एएफसी यू-२३ च्याम्पियनसिप छनोट खेलमा खराव सुरुआत गरेको छ।
समूह ‘डी’ मा रहेको नेपाल पहिलो खेलमा आयोजक यूएईसँग ५-० गोलले पराजित भयो। चर्को गर्मीमा भएको खेलमा नेपाली टोलीले पहिलो हाफमै चार गोल खाएको थियो। खेलको सुरुआत देखिनै सम्हालिन नसकेको नेपालविरुद्ध यूएईले आठौं मिनेटमै खाता खोलेको थियो। त्यसपछि यूएईले २० औं, २३ औैं र ३३ औं मिनेटमा गोल गर्यो। नेपालले चौथो गोल पेनाल्टीमा खाएको थियो। डिबक्समा नेपालका दिनेश राजवंशीले ह्यान्ड गरेपछि युएईले पेनाल्टी पाएको थियो। दोस्रो हाफमा केही सुधार गरेपनि नेपाल ६० औं मिनेटमा पाँचौं गोल खान बाध्य भयो।
साउन ४ गतेसम्म सञ्चालन हुने छनोट प्रतियोगितामा नेपालको समूहमा आयोजक यूएई, उज्बेकिस्तान र लेबनान रहेका छन्। समूहको दोस्रो खेलमा नेपालले साउन २ गते उज्बेकिस्तान र अन्तिम खेल साउन ४ गते लेबनानसँग खेल्नेछ।
नेपाली टोली दुई साता लामो तयारी गरेर यूएई गएको हो। यूएई जानुअघि नेपालले बंगलादेशको यू-२३ टोलीसँग मैत्रीपूर्ण अभ्यास खेल खेलेको थियो।
उक्त खेलमा नेपाल १-० गोलले विजयी भएको थियो। विमल घर्तीमगरको कप्तानीमा रहेको नेपाली टोलीमा पूराना र नयाँगरी २३ खेलाडी छन्। टोलीको प्रशिक्षकमा राजुकाजी शाक्य छन्। सहायक प्रशिक्षकमा प्रकाश अर्याल र गोलरक्षक प्रशिक्षकमा मृगेन्द्र मि श्र रहेका छन्।