सडक विस्तार डेढ वर्ष पछाडि धकेलियो
काठमाडौं : कलंकी-कोटेश्वर खण्डको १० किमि चक्रपथ विस्तारमा करिब पाँच अर्ब रुपैयाँ खर्च हुने भएको छ । चिनियाँ कम्पनी सांघाई कन्ट्रक्सन ग्रुपले उक्त सडक विस्तारको काम गरिरहेको छ । चीनको अनुदान सहयोगमा विस्तार भइरहेको उक्त सडक सन् २०१७ को जनवरीमै सक्नुपर्ने थियो । तर, समयमा काम नहुँदा सन् २०१८ जुलाईमा सक्ने गरी नयाँ तालिका तय भएको चक्रपथ सुधार आयोजना प्रमुख ज्ञानेन्द्रकुमार झाले जानकारी दिनुभयो ।
सन् २०१३ सेप्टेम्बरमा भएको सम्झौताअनुसार चिनियाँ कम्पनीले ४० महिनामा काम सक्नुपर्ने भए पनि भूकम्प, नाकाबन्दी, निर्माण सामग्री अभाव, अन्तरनिकाय समन्वय अभाव र सडकको डिजाइन नै परिवर्तन गरिएकाले आयोजना डेढ वर्ष पछाडि धकेलिएको हो । उक्त सडक विस्तारको काम हालसम्म ५५ प्रतिशत पूरा भएको छ । झाले अन्नपूर्णलाई दिनुभएको जानकारीअनुसार सबै खर्च चिनियाँ पक्षले नै गर्ने र आवश्यक भुक्तानी पनि उसैले दिने भएकाले यति नै खर्च भयो भनेर भन्न सकिँदैन ।
तर, हालसम्मको प्रगतिअनुसार साढे दुई अर्ब रुपैयाँभन्दा बढी खर्च भएको अनुमान लगाउन सकिन्छ । यो सडक निर्माणमा जनशक्ति र लागत चिनियाँ सरकारकै हुन्छ । यो सडक निर्माणको सबै काम चीनले नै गरेकाले पनि यसको निर्माण प्रतिवेदन मात्रै सडक विभागले पाउनेछ ।
४० महिनामा सक्नुपर्ने सडक विस्तारको काम भूकम्प, नाकाबन्दी, निर्माण सामग्री अभाव र अन्तरनिकाय समन्वय अभावले डेढ वर्ष पछाडि धकेलिएको हो ।
आठ लेनको यो सडक निर्माणमा कलंकी चोकको एक किमिको अन्डरपास, चारवटा खोलाको पुल, तीनवटा आकाशे पुल, फुटपाथसहितको काम भइरहेको छ । सडक हाल दुई लेनको छ । डेढ वर्षमा यो सडक आठ लेनको हुनेछ । यो सडक केन्द्रबाट दायाँबायाँ २५/२५ मिटरको हुनेछ । ६/६ मिटरको फुुटपाथ रहनेछ । सडकको स्तर र डिजाइन अन्तर्राष्ट्रिय स्तरको हुनेछ ।
सडक विस्तारमा ५० घर बाधक
कोटेश्वर-कलंकी सडक विस्तारमा ललितपुरको थसिखेलदेखि सातदोबाटोसम्म करिब ५० घरटहरा बाधक बनेका छन् । यी घरटहरा सडक मापदण्डविपरीतका छन् । ती घरटहरा भत्काउन स्थानीयको अवरोधले समस्या भइरहेको छ । ललितपुर नगर विकास प्राधिकरणले ती घरटहरा भत्काउने प्रयास गरे पनि सफल हुन सकेको छैन । २०४२ सालपछि बनेको र सडक मापदण्डविपरीतका यस्ता घरटहराले क्षतिपूर्ति नपाउने भएकाले पनि स्थानीयले विरोध गरेका हुन् । उक्त खण्डमा जम्मा दुईवटा घरले मात्रै क्षतिपूर्ति पाएका छन् । बाँकी सबै घरटहरा मापदण्डविपरीत भएकाले क्षतिपूर्ति नपाउने चक्रपथ सुधार आयोजनाले जानकारी दिएको छ ।
थप सातवटा आकाशे पुल
उक्त सडकखण्डको कोटेश्वर, ग्वार्को र बागडोलमा गरी जम्मा तीनवटा आकाशेपुल चिनियाँ कम्पनीले बनाइदिएको छ । यो सडकखण्डका लागि प्रतिएक किलोमिटरमा एउटा आकाशे पुल आवश्यक भएकाले बाँकी सातवटा सरकारी बजेटबाटै बनाउने गरी निर्माण थालिएको योजना प्रमुख झाले जानकारी दिनुभयो । उहाँका अनुसार पाँचवटा पुलको ठेक्का भइसकेको र दुईवटा पुल यस आवमा ठेक्का हुनेछ । एउटाको करिब चार करोडका दरले सातवटा पुलको २८ करोड रुपैयाँ खर्च हुनेछ । यी पुल ठेक्का लागेको डेढ वर्षभित्र सक्ने योजना छ । सडक विस्तार पूरा हुँदा आकाशे पुल पनि पूरा हुने दाबी सडक विभागको छ ।
चक्रपथ ५० मिटर फराकिलो हुने
सरकारले २७ किलोमिटरको पूरै चक्रपथ विस्तार गरेर ५० मिटर फराकिलो बनाउने योजना तय गरेको छ । यसमा दायाँबायाँ ६/६ मिटरको फुटपाथ हुने उल्लेख छ । पहिलो चरणमा चिनियाँ अनुदानमा जम्मा १० किमि सडक विस्तार भएर आठ लेनको बन्नेछ । बाँकी सबै सडकको योजना पनि आठ लेनकै रहेको चक्रपथ सुधार आयोजनाले जानकारी दिएको छ । सरकारसँग चक्रपथको ६२ किमिकै लाजपूर्जा रहेकाले आवश्यक पर्दा सडक विस्तार गरेर पूरै चक्रपथ आठ लेनको बनाउन सकिनेछ । सडक विस्तार गर्दा गौशालादेखि चाबहिलसम्मको सडकमा मापदण्डविपरीत बनेका घरको संख्या अधिक भएको र भत्काउन पनि समस्या हुने हुनाले विकल्प खोज्न थालिएको छ ।