दूधको मूल्य समायोजन हुनुपर्छ

दूधको मूल्य  समायोजन हुनुपर्छ

तेह्र वर्षअघिको कुरा, सीताराम मिल्कस बन्द गर्ने कि चलाउने भन्नेमा परिवार (केडिया अर्गनाइजेसन) भित्रै बहस भइरहेका बेला मैले उद्योगको व्यवस्थापन जिम्मा लिएको थिएँ । सुरुमा अडिट गराएँ । तीनवटा समस्या देखिए- सरकारले समयसापेक्ष दूधको मूल्य समायोजन गरेको थिएन, तिब्बतमा नेपाली बटर आयातमा रोक लगाइएका कारण बटर उद्योगमै थन्किएका थिए । उद्योगभित्रै चुहावटको समस्या पनि थियो । आन्तरिक बजार खोजेर बटरको व्यवस्थापन गरियो, चुहावट नियन्त्रण गरियो, दूधको मूल्य समायोजन गर्न सरकारी निकायका ढोका चहार्ने काम पनि गरियो ।

तीनवटै समस्या समाधान भएपछि उद्योग क्रमशः सुधारिन थाल्यो । तेह्र वर्षको अवधिमा घरेलु बजारमा दूधको उत्पादन र उपभोगमा धेरै परिवर्तन आएको छ । दुग्धजन्य उत्पादनमा आकर्षण बढेको छ, शाकाहारी हुने क्रम बढेको छ । दूधको उत्पादन बढाउन धेरथोर प्रयास भएका छन् । सीताराम मिल्क्सले अहिले दैनिक ४० हजार दूध प्रशोधन गर्छ । दूधको उत्पादन पर्याप्त छैन, बजार पनि सानो- घाटा भए सरकारलाई व्यहोर्न लाउन सक्ने दुग्ध विकास संस्थान सबैभन्दा ठूलो खेलाडी बनेको छ ।

तैपनि, बजारको मागअनुसार दूध आपूर्ति गर्न पर्याप्त भएन, भारतबाट अलिअलि आयात गर्नुपर्‍यो । बटरका लागि बजारमा समस्या छैन, घ्यू त मागअनुसार पूरा गर्न सकिएको छैन । ६ महिनाभित्र दही, मोही बजारमा ल्याउने योजनाअनुसार सीताराम मिल्क्समा तयारी भइरहेको छ । पनिर अहिले पनि डिमान्ड आउँदा उत्पादन गरेर आपूर्ति गरिरहेका छौं । गुणस्तरमा सम्झौता गर्दैनौं । दूध संकलनमै गुणस्तर परीक्षण हुन्छ । प्रशोधनमा जानुअघि फेरि परीक्षण हुन्छ, ल्याबले ओके गरेपछि मात्र प्रशोधन हुन्छ । एकचोटि सीताराम दूध पिइसकेको उपभोक्ता सधैं हाम्रै ग्राहक हुन्छन् ।

डेरी उद्योगमा औपचारिक क्षेत्रकै १५ अर्ब रुपैयाँभन्दा बढी लगानी छ । एसोसिएसनको नेटमा २ सयजति उद्योग छन् । नेटबाहिर ५ सयभन्दा बढी डेरी चलिरहेका छन् । देशमा चलिरहेका डेरीलाई ठूला, मध्यम, साना र कटेज भनेर चार समूहमा विभाजन गरी कुरा गर्छौं । ३० हजार, १० हजार, ५ हजारभन्दा बढी दूध दैनिक प्रशोधन गर्ने क्रमशः ठूला, मध्यम र साना उद्योग, ५ हजार लिटरभन्दा कम प्रशोधन गर्ने कटेज । ठूलामा ५, ६ उद्योग मात्र छन् । मध्यम आकार उद्योग उपत्यकाका साथै बाहिरका ठूला सहरमा सञ्चालित छन् । साना र कटेज त छ्याप्छ्याप्ती छन् । दही, लस्सी, छास आदि सबैमा जान सकिएको छैन । धेरैजसो डेरी दूध प्रशोधन गरी दूध, घ्यू, बटरको व्यापारमा सीमित छन् । दूधजन्य विविध उत्पादनमा डेरी उद्योग उदासीन देखिन्छन् । प्रविधि र जनशक्ति पनि पर्याप्त छैन ।

टोल-टोलमा डेरी खुल्नु राम्रो हो तर नीति÷नियमविपरीत सञ्चालन हुनु अनुचित हो । छ्याप्छ्याप्ती डेरी खुलेका छन् । तर, नीति नियमअनुसार प्याकेजिङ÷लेबलिङ आदिको पालन गरिएको छ कि छैन ? उपभोक्ता आफैंले हेरे पुग्छ, उहाँहरूले टोलको डेरीबाट किनेको दुग्धजन्य उत्पादनमा प्याकेजिङ÷लेबलिङ आदिका सर्त पूरा भएका छन् कि छैनन् ? यदि छैनन् भने ती उत्पादन वैध हुन्नन् किनकि निश्चित मापदण्ड छन् ।

यस्तो हुँदा गुणस्तरको समस्या आउन सक्छ । साथै, यसले राजस्व पनि गुमिरहेको छ । हामीले घ्यू बेच्दा भ्याट बिल काट्नुपर्छ तर अनौपचारिक क्षेत्रका डेरीले त बिल नै काट्दैनन् । यस्तै, हामीले वर्षभरिको कुल कारोबारबाट आर्जित मुनाफामा आयकर तिरेका हुन्छौं, अनौपचारिक क्षेत्रका डेरीले त न्यूनतम कर तिरे पुग्छ । स्वैच्छिक रूपमा नीति÷नियम पालन नगरे पनि हुने भए हामीले मात्र किन पालन गर्ने भनेर व्यवसायी गुनासो गर्छन् ।

डेरी उद्योगमा उपभोक्ताको स्वास्थ्यका लागि नभई नहुने, ठूलो संख्यामा रोजगारीको अवसर सिर्जना गर्न सकिने, किसानले पनि उत्पादनको मूल्य पाउन कुरिरहनु नपर्ने हुन्छ । यसमा लाग्दा म सामाजिक उद्यमी भएँ । दूध संकलन हुने चितवन, काभ्रे, नवलपरासी पुग्छु, किसानसँग अन्तरक्रिया गर्छु । किसानले दूध बेचेर आर्जन गरेको कुरा सुन्दा आनन्द आउँछ । नाफाभन्दा बढी खुसी दूध बेच्ने किसानको मुहारमा हाँसोले दिन्छु । पहिलो परिवार आमा, बुबा, श्रीमती र बच्चा हुन् भने दोस्रो परिवार मेरो उद्योगसँग जोडिएका किसान हुन् ।

देशमा डेरी उद्योगका लागि दुग्ध विकास संस्थान (डीडीसी) प्रेरणा हो । साथै, समग्र उद्योगको विस्तारमा बाधक पनि । टाढा-टाढाबाट दूध संकलन गरी व्यापार गर्‍यो, अरूलाई सिकायो । तर, घाटा भए पनि सरकारले व्यहोरिदिने हुँदा ऊ समयसापेक्ष निर्णय गर्दैन । डीडीसीले चासो नदेखाएका कारण ३ वर्षदेखि दूधको मूल्य समायोजन भएको छैन । तीन वर्षमा किसानको उत्पादन लागत बढेको छ, उद्योगको लागत बढेको छ । दूध उत्पादक किसान निरुत्साहित भई उत्पादन नबढ्ने भयो, साथै उद्योगलाई पनि मार्का पर्‍यो । सरकारले व्यहोरिदिने भएकाले डीडीसी उत्पादनको भाउ समयअनुसार बढाउँदैन, उसले नबढाएपछि निजी उद्योगले पनि बढाउन सक्दैनन् । उसको पो सरकारले घाटा व्यहोरिदिन्छ, हाम्रो त त्यस्तो हुँदैन ।

डीडीसी स्थापना हुँदा प्लान्ट स्थापना डेनिस सरकारको सहयोगमा भएको हो । लामो समय उसले डेनिस प्राविधिक सहयोग पायो । धेरै वर्षदेखि बजारमा छ, बहुसंख्यक उपभोक्ता सरकारी स्वामित्वको कम्पनीको उत्पादनमा ढुक्क हुन्छन् । यसैले अहिले पनि डीडीसी र दोस्रो ठूलो उद्योगबीचको ग्याप ठूलो छ । तैपनि ६० प्रतिशत बजार निजी डेरीले लिइसकेका छन्, बजार खोस्ने क्रम जारी छ । दैनिक ७ लाख लिटर दूध औपचारिक क्षेत्रमा आउँछ, डीडीसीले साढे २ लाख लिटरजति प्रशोधन गर्छ, बाँकी निजी डेरीले ।

देशमा दैनिक ४८ लाख लिटर दूध उत्पादन हुन्छ, ५० प्रतिशत उत्पादन उत्पादक (किसान) आफैंले उपभोग गर्छन् । सन २०२० सम्म आत्मनिर्भर हुने भनिएको छ । तर, दूध उत्पादनको वृद्धिदर २-२.५ प्रतिशत छ । यो वर्ष दूध अभाव भयो । सामान्यतया जाडोमा दूधको उत्पादन १५÷२० प्रतिशत बढ्छ, गर्मीमा घट्छ । । यसपालि जाडोमै दूधको अभाव भयो, बढेको देखिएन । भूकम्पको कारण धेरै दुधालु गाई भैंसी मरेको कारण भएको अनुमान छ ।

उत्पादनको तुलनामा दूध उपभोग बढ्दै गएको छ । यसैले लक्ष्य चुनौतीपूर्ण छ । कुल ४ लाख ५० हजार किसान दूध उत्पादनमा सक्रिय छन्, साढे २ लाख किसान औपचारिक क्षेत्रमै जोडिएका छन् । कुल गार्हस्थ उत्पादन (जीडीपी)मा ९ प्रतिशत योगदान छ । पाउडर दूधको उत्पादन मागको तुलनामा एकदम कम छ, भारतबाटै आयात हुन्छ ।

बेलाबखत दूधसमेत आयात गर्नपर्ने अवस्था छ । दूधमा आत्मनिर्भर बन्ने लक्ष्य भेट्ने हो भने, सरकारले आक्रामक रणनीतिमा जानै पर्छ, अहिलेको पाराले सम्भव छैन । दूधको मूल्य समायोजन गर्नसमेत डीडीसीको मुख ताक्नुपर्ने अवस्थामा परिवर्तन हुन जरुरी छ । गुणस्तरमा सम्झौता गर्दैनौं । दूध लिँदै प्यारामिटर चेक गर्छौं। फ्याक्ट्री पनि प्रोसेसिङमा जानुअघि चेक हुन्छ,ल्याबले ओके गरेपछि मात्र अघि बढ्छ । प्रणालीले काम गरेको छ ।

हरेक देशले दूधको गुणस्तरका मापदण्ड बनाएका छन् । दूधमा कोलिफर्मको मात्राको मापदण्ड बनाउँदा विकसित देशले पनि प्रतिमिलिलिटर १० सम्मलाई मानिएको छ । हाम्रो खाद्य ऐनले चाहिँ दूधमा कोलिफर्मको मात्र शून्य हुनुपर्छ भनिदिएको छ । हामी बस्ने घरजस्तो सफासुग्घर गोठ, दूध दुहुनेदेखि सबै काम मेसिनले हुने ठाउँमा समेत १० भनिएको छ, हाम्रोमा शून्य ।

तर कानुनको यही दफामा टेकेर केही वर्षअघि डेरी उद्योगका साथै उपभोक्तामा आतंक सिर्जना गरियो । त्यतिबेला ‘टेट्राप्याक’ मा विदेशी दूध आयात गर्नेको उक्साहटमा कोलिफर्म आतंक मच्चाएको पनि सुनियो । जे होस्, डीडीसीलगायत स्वदेशी उद्योगको दूधमा उपभोक्ता सशंकित हुने अवस्था सिर्जना गरियो । कोलिफर्म शून्य बनाउने काम सम्भव छैन, नियन्त्रण पनि उद्योगको हातमा मात्र छैन । गोठदेखि दूध दुहुने, संकलन आदि सबै प्रक्रियामा सुधार आए मात्र यो नियन्त्रण हुन्छ । फेरि कोलिफर्मको कारण कुनै दुर्घटना भएको सुनिएको छैन ।
(सीताराम मिल्कस प्राइभेट लिमिटेडका प्रबन्धक निर्देशक केडियासँग कुराकानीमा आधारित)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.