म्यानपावर व्यवसायमा सिन्डिकेट अन्त्य गर्छु–गुरुङ
काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघका नवनिर्वाचित रोहन गुरुङले म्यानपावर व्यवसायमा रहेको सिन्डिकेटको अन्त्य गर्ने बताउनुभएको छ। निर्वाचित भएलगत्तै संक्षिप्त प्रतिर्किया दिदैँ गुरुङले म्यानपावर व्यवसायलाई मर्यादित र सुरक्षित बनाउने प्रतिबद्धता गर्नुभयो ।
नयाँ गन्तव्यको खोजी गर्दै पुराना गन्तव्यमा पनि सहजता गर्न सरोकारवालासँग छलफल गर्ने उहाँको भनाइ छ । म्यानपावर वर्गीकरणदेखि धरौटी बढाउने कार्यको अन्त्य गर्ने उहाँले बताउनुभयो ।
संघको २५औं साधारणसभाबाट गुरुङले चार सय ३४ मत ल्याई विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी विमल ढकालले तीन सय ४१ मत ल्याउनुभएको थियो । प्रथम उपाध्यक्षमा गुरुङ प्यानलकै रामप्रसाद भान्तना चार सय ५३ मत ल्याई विजयी हुनुभयो भने उहाँका निकटम प्रतिस्पर्धी प्रज्ञान न्यौपानेले ३१० मत ल्याउनुभएको थियो ।
द्वितीय उपाध्यक्षमा ढकाल प्यानलका भुवन गुरुङ र तृतीय उपाध्यक्षमा गुरुङ प्यानलकै शुक्र पाख्रिन विजयी हुनुभएको छ । संघको महासचिवमा गुरुङ समूहकै नरेश गेलाल विजयी हुनुभएको छ । गेलालले ४०९ मत ल्याउनुभएको थियो भने उहाँका प्रतिस्पर्धी सुजित श्रेष्ठले ३६८ मत ल्याउनुभएको थियो । त्यस्तै सचिवमा गुरुङ प्यानलकै ईश्वर जीसी विजयी हुनुभएको छ । कोषाध्यक्षमा ढकाल प्यानलकी राधिका कटुवाल विजयी हुनुभएको छ ।
यसैगरी सदस्यमा गुरुङ समूहका नौ जना विजयी भएका छन् । विजयी सदस्यमा तेजमाया लिम्बु, सन्जु गुरुङ, सुरेश गौतम, प्रेम विक, कुन्छादोर्जे डिमजोङ, सविना श्रेष्ठ, परमेश्वर अधिकारी, ववन सिंह र पितम मगर छन् । गुरुङ प्यानलका तिलकबहादुर तमाङ भने पराजित हुनुभएको छ । ढकाल प्यानलबाट सुरज केसी सदस्य निर्वाचित हनुभएको छ । संघमा गुरुङ समूहका अध्यक्षसहित १४ जना र ढकाल समूहका दुई पदाधिकारी र एक सदस्य मात्रै विजयी भएका छन् । गुरुङलाई संघमा स्पष्ट बहुमत पुगेको छ ।
ढकाल नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक रोजगार व्यवसायी फोरमका तर्फबाट अध्यक्षका लागि उम्मेदवार हुनुहुनुन्थ्यो भने गुरुङ नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका तर्फबाट अध्यक्ष पदका उम्मेदवार बन्नुभएको थियो ।