एमालेसँग राजपाको कुनै हिमचिम छैन- ठाकुर
वीरगन्ज : राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमालेसँग राजपाको हिमचिम बढेको कुरा निराधार भएको बताउनु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर २१ पटेलनगरमा आइतबार आयोजित पार्टी प्रवेश तथा पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँग बोल्दै अध्यक्ष ठाकुरले एमालेका नेताहरुसँग राजपाका कोहि पनि शीर्ष नेताहरुले कुनै पनि संवाद र छलफल नगरेको दाबी गर्नुभयो ।
मधेसका एजेण्डाका सवालमा एमालेको पुरानै अडान अहिले पनि यथावत नै रहेको र उसले अहिले पनि मधेसका माग पुरा गर्न नचाहेको भन्दै अध्यक्ष ठाकुरले भन्नु भयो,‘ पुर्वसभामुख दमननाथ ढुंगानाको पहलमा दोश्रो तहका केहि नेताहरुले भने एमालेका नेताहरुसंग एक दुइ पटक छलफल मात्रै गरेका छन्, एमालेसँग हाम्रो कुनै हिमचिम छैन ।
अध्यक्ष ठाकुरले संविधान संशोधन र जनसंख्याको आधारमा मधेसमा स्थानीय तहको संख्या थप नगरिएसम्म यथास्थितीमा राजपा तेश्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागी नहुने स्पष्ट पार्नु भयो ।
सरकार गठनका बेला राजपासँग भएको तीन बुँदे सम्झौता कार्यान्वयन भएपछि मात्रै राजपाले चुनावमा भाग लिने उहाँले बताउनु भयो । हामीले कुनै नयाँ माग गरेका छैनौ, पुरानै सहमति र सम्झौता लागु हुनु पर्छ भन्ने हाम्रो माग होे’, उहाले भन्नु भयो,‘ मधेसका मागका बारेमा एमालेले अहिले पनि दोधारे कुरा गरेर बहानाबाजी गरिरहेको छ ।
निर्वाचन आयोगमा दल दर्ताका बारेमा सोधिएको जिज्ञासामा राजपा अध्यक्ष ठाकुरले ६ दल मिलेर नयाँ पार्टी राजपा बनेपछि निर्वाचन आयोगमा दल दर्ता गरिए पनि मधेसका माग सम्बोधन नभए सम्म राजपा चुनावमा नजाने स्पष्ट पार्नु भयो ।