नाकावन्दीपछि कतारका विद्यार्थी बढी मर्कामा
रियाद : कतारसँग उसका छिमेकी मुलुकहरुको कूटनीतिक सम्बन्ध सुधार्ने प्रयासका लागि फ्रान्सका विदेशमन्त्री जेन यभेसले ड्रिन साउदी अरबको मुख्य पश्चिमी सहर जेद्दाहमा शनिबार आइपुग्नुभएको छ ।
गएको करिब महिनादिन भन्दा लामो समयदेखि कतारका छिमेकी मुस्लिम देशले उससँग कूटनीतिक सम्बन्ध विच्छेद गरेपछि उत्पन्न भएको समस्या समाधानको प्रयास उहाँले गर्नुहुने छ ।
“फ्रान्सले जति सक्दो चाँडो समस्या समाधान गर्न आह्वान गर्नेछ, कतारका देशका जनता विषेशगरेर विद्यार्थी बढी मर्कामा परेका छन् र यसले अरुलाई पनि दुःख दिएको छ” ड्रिनले साउदी अरबका विदेशमन्त्री अडेल अल जुवेइरसँगको संयुक्त पत्रकार सम्मेलनमा भन्नुभयो ।
विदेशमन्त्री ड्रिनले कतारसँगको सम्बन्ध सुधार्नका लागि साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले छलफल थाल्नुपर्नेमा जोड दिनुभयो ।
रियादको भ्रमणपछि उहाँले कुवेत र युएइ पनि जानुहुने छ । उहाँले सो भ्रमणमा विशेष गरेर छलफलबाटै सङ्कट समाधान खोज्न जोड दिनुहुने भएको छ ।
साउदी अरेबियाका विदेशमन्त्री अल जुबेइरले भने कतारले धेरै सम्झौता उल्लङ्घन गरेका धैरै प्रमाण रहेको दावी गर्नुभयो ।
उहाँले सन् २०१३ को साउदी अरेबियासँगको सम्झौता र २०१४ को ‘सप्लीमेन्ट्री एग्रिमेण्ट’ खाडी मुलुकको सहकार्यका लागि गरिएको भएपनि बेवस्ता गरेको पनि बताउनुभयो ।
विदेशमन्त्री जुवेइरले आतङकबाद विरुद्धका सम्झौता कतारले पालना गर्नैपर्ने शर्त जोडतोडका साथ राख्नुभयो ।
चार देशले कतारसँग गत जुन ५ तारिखदेखि नाकाबन्दी गरेका छन् । ती देशहरुले नाकाबन्दी अन्त्य गर्न जुन २३ मा १३ बुदे शर्त राखेर कतारलाई पत्र पनि पठाएका थिए ।
पत्रमा अल जाजिरा टेलिभिजन बन्द गर्नु पर्ने र ईरानसँगको कूटनीतिक सम्बन्ध तोड्नुपर्ने शर्त पनि राखिएको थियो । तर ती शर्त मान्न कतार अहिलेसम्म तयार भएको छैन ।
कतारको यो जवाफ उनीहरुलाई चित्त नबुझेपछि कतारसँगको नाकाबन्दी जारी राखिएको छ । यस समयमा फ्रान्सका विदेशमन्त्रीको सक्रियता बढेको हो । रासस/सिन्ह्वा