अंगीकृतलाई राष्ट्रपति, प्रधानमन्त्री बनाउनुपर्छ भन्ने हाम्रो माग होइन : ठाकुर
पर्साः राष्ट्रिय जनता पार्टी नेपाल राजपाका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले अंगीकृत नागरिकलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउने पक्षमा राजपा नरहेको स्पष्ट पार्नुभएको छ ।
वीरगन्ज महानगरपालिका– २१ पटेलनगरमा आइतवार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संयोजक ठाकुरले अन्तरिम संविधानमा भएको व्यवस्थानुसार नै नागरिकता वितरणका पक्षमा राजपा रहेको प्रस्ट पार्नुभयो । उहाँले मधेशी केन्द्रीत दलहरुबारे उल्टो प्रचार गरी बदनाम गर्ने प्रयास भएको जीकिर गर्नुभयो । वैवाहिक अंगीकृत नागरिकता रहेकी महिलाले श्रीमानसरह अधिकार पाउनुपर्ने विचार नेता ठाकुरले व्यक्त गर्नुभयो ।
नेता ठाकुरले मोर्चासँग भएको सहमतिलाई सरकारले पूरा गरे स्थानीय तह निर्वाचनमा सहभागी हुन राजपा तयार रहेको दोहोर्याउँदै निर्वाचनमा सहभागी हुने वातावरण निर्माण गर्न सरकारलाई आग्रह गर्नुभयो । निर्वाचनमा दल दर्ता गरिए पनि मधेसका माग सम्बोधन नभएसम्म राजपा चुनावमा नजाने उहाँले स्पष्ट पार्नुभयो ।
वीरगन्ज– २१ पटेल नगरका एक आगलागी पीडितको घरको शिलान्यास गर्दै ठाकुरले देशमा प्रकृतिक विपत्ति आउँदा पूरै देश नै एक जुट भई पीडितलाई सहयोग गर्ने गरेको र यस्ता कार्यले राष्ट्रिय सद्भावलाई बलियो बनाएको धारणा व्यक्त गर्नुभनुभयो । रासस