प्रेस काउन्सिलका अध्यक्षको मनपरीविरुद्ध बोर्ड सदस्यको २४ घन्टे अल्टिमेटम
काठमाडौं : प्रेस काउन्सिल अध्यक्ष भवानी बराललाई २४ घन्टाभित्र बोर्ड बैठक बोलाउन बोर्ड सदस्यले अल्टिमेटम दिएका छन्। पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टसहितका १० जना बोर्ड सदस्यले बराललाई २४ घन्टाभित्र बैठक बोलाउन आइतबार अल्टिमेटम दिएका हुन्।
‘प्रेस काउन्सिल नेपालले तत्काल सम्बोधन गर्नुपर्ने गम्भीर प्रकृतिका नीतिगत विषयमा छलफल गर्ने काउन्सिलको बोर्ड बैठक जरुरी भएकोमा बोर्ड बैठक नबोलाउने, बोलाइएको बैठक पनि अन्तिम समयमा बिना कारण स्थगित गर्ने एवम् काउन्सिलका अध्यक्ष स्वयम्का विरोधाभास पूर्ण अभिव्यक्तिका कारण अन्योल उत्पन्न भएकाले काउन्सिलको भूमिका र अस्तित्वकै सन्दर्भमा तत्काल छलफल गर्नुपर्ने आवश्यकता महसुस भएकाले २४ घन्टाभित्र बोर्ड बैठक बोलाउन हामी बोर्डका सबै सदस्यहरु सामुहिक माग गदैछौँ,’ निवेदनमा भनिएको छ।
निवेदनमा बोर्ड सदस्य किशोर श्रेष्ठ, महेन्द्र विष्ट, सुदर्शन आचार्य, शुभेच्छा बिन्दु तुलाधर, गोविन्द चौलागाई, चेतनाथ धमला र संगीता खड्काले हस्ताक्षर गर्नु भएको छ। खिलबहादुर भण्डारी, ईश्वरी ओझा र नवलकिशोर यादवले भने निवेदनप्रति समर्थन रहेको जानकारी दिनुभयो।
यथार्थ के हो ?
अध्यक्ष बराल जिम्मेवारी भन्दा सुविधा लिएर मस्ती गरिरहेको आरोप एक बोर्ड सदस्यको छ। बिहीबार बिहान ९ बजेका लागि अध्यक्ष बरालको निर्देशनमा सदस्य सचिव वीरबहादुर राईले बैठक बोलाउनु भएको थियो। सोही दिन अध्यक्ष भने धुलिखेलको कार्यक्रममा जानु भएको र ९ बज्न २३ मिनेट बाँकी हुँदा मात्र आफू बैठकमा सहभागी हुन नसक्ने जानकारी सदस्यलाई गराउनु भएको थियो।
अध्यक्षले गैरजिम्मेवार शैलीमा अन्तिम समयमा बैठक स्थगित गरेको भन्दै बोर्ड सदस्यले खेद प्रस्ताव पारित गरेका थिए।
बोर्ड बैठकमा सहभागी नभए पनि अध्यक्ष बराल सोही दिन हिमालयन होटलमा आयोजित सञ्चारिका समूहको कार्यक्रममा भने उपस्थित हुनु भएको थियो।
यसरी बोर्ड बैठकलाई वेवास्ता गर्दै अन्य कार्यक्रमलाई प्राथमिकता दिँदा आर्थिक वर्षको अन्त्यमा काउन्सिलको वार्षिक खर्च अनुमोदन, नयाँ नीति तथा कार्यक्रम पारित गर्नु पर्नेलगायतका विषय अलपत्र परेको भन्दै बोर्ड सदस्यले खेद प्रस्ताव पारित गरेको स्रोतको दाबी छ। बराल अध्यक्ष भएपछि अहिलेसम्म एउटा पनि बैठक बस्न सकेको छैन।
काउन्सिलले कारबाही गरेकै पत्रिकाको वार्षिकोत्सवमा बराल
बिहीबारको बोर्ड बैठक स्थगित भएपछि सम्पर्कबिहिन रहनु भएका अध्यक्ष बराल शनिबार भने काउन्सिलकै कारबाहीमा परेको साप्ताहिक पत्रिकाको बार्षिकोत्सवमा पुगेको खुलेको छ। बराल काउन्सिलको कारबाहीमा परेको सिन्धुपाल्चोकको चौताराबाट प्रकाशित हुने एक साप्ताहिक पत्रिकाको वार्षिकोत्सवमा सहभागी हुनु भएको हो।
त्यसका लागि उहाँले काउन्सिलबाट चार दिनको भ्रमण र पेस्की समेत स्वीकृत गरेको खुलेको छ। एक दिनमा पुगेर आइपुग्ने ठाउँमा बरालले चार दिनको भ्रमण र पेस्की स्वीकृत गरेर कान्सिलको मर्यादामाथि नै प्रश्न उठाएको स्रोतको दाबी छ।
निरन्तर विवादमा बराल
प्रेस काउन्सिलको अध्यक्ष नियुक्त भए लगत्तै बरालले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटस विवादमा आएको थियो। अध्यक्ष जस्तो गरिमामय पदमा रहनु भएका बरालले इटहरीका पत्रकार विराट अनुपमले फेसबुकमा लेखेको स्टाटसको जवाफ दिने क्रममा तल्लो स्तरका शब्द प्रयोग गरेको भन्दै चर्को आलोचना भएको थियो।
पत्रकार विराटले बराल विभन्न समयमा विभिन्न पार्टी तथा संगठनमा संलग्न भएको आशयको स्टाटस लेखेका थिए। त्यसको जवाफमा बरालले भने चर्को गाली गर्दै स्टाटस लेखेका थिए।
त्यो समयमा पत्रकार विराटले लेखेको स्टाटस्
जवाफमा बरालले लेखेको स्टाटस