काश्मिरमा १६ जना तीर्थयात्रीको मृत्यु, २७ घाइते
श्रीनगर : भारत प्रशासित काश्मिरमा धार्मिक पर्यटक लिएर गुडिरहेको एउटा बस आइतबार सडकबाट चिप्लिएर एक खोल्सामा खस्दा कम्तिमा १६ तीर्थयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । भारतीय समाचार संस्था पीटीआईले भने मृतक सङ्ख्या ११ भएको र घटनामा ३० देखि ३५ जना घाइते भएका जनाएको छ ।
श्रीनगरबाट १०७ किलोमिटर टाढा पर्ने रामवाण जिल्लामा दुर्घटना भएको र मृत शरीरका साथै घाइते भएका सवैजनालाई स्थानीय नागरिक र प्रहरीको सहयोगमा अस्पताल पुर्याइएको छ । मृतकका पहिचान भने भइसकेको छैन ।
“तीर्थयात्री रहेको बस सडकबाट चिप्लिएर श्रीनगर-जम्मु राजमार्गको नसरानास्थित खोल्सामा खसेको,” श्रीनगरका प्रहरी प्रवक्ताले जनाउनुभएको छ । घटनास्थलमा १६ जनाको मृत्य भएको छ भने १९ जनालाई गम्भीर घाइते अवस्थामा अस्पताल पुर्याइएका, उहाँले बताउनुभयो । आठ जना सामान्य घाइते भएका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका केही जनालाई विमानमार्फत जम्मुस्थित अस्पतालमा लगिएको छ । हिन्दु तीर्थधाम अमरनाथमा हरेक बर्षको वर्षायाममा खुल्ने पूजाका लागि यही जुन २९ गतेदेखि यात्राका लागि खुला गरिएपछि भएको यो यस क्षेत्रको सवैधन्दा ठूलो सडक दुर्घटना हो ।
यसबर्ष मात्रै एक लाखभन्दा बढी तीर्थालुले अमरनाथको भक्तिपूर्वक दर्शन गरिसकेका छन् । उच्च हिमालयको काखमा रहेको गुफामा भगवान् शिवको आराधना गर्न हरेक बर्ष भारतका विभिन्न राज्य, नेपाल लगायतका देशबाट ठूलो सङख्यामा उपस्थिति रहने गर्छ ।
भारतमा कमजोर सडक संरचना, भौगोलिक विकटता, क्षमता भन्दा बढीभार तथा चालकको लापर्बाही लगायतका कारण बर्षेनी हजारौं व्यक्तिले ज्यान गुमाउने गरेका छन् । रासस÷ सिन्ह्वा/ पीटीआई