फास्ट ट्रयाकबाट निर्वाचन सम्बन्धी कानुन
काठमाडौं : आगामी प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि आवश्यक पर्ने कानुन फास्ट ट्रयाकबाटै निर्माण गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग प्रतिबद्धता जनाउनु भएको छ।
निर्वाचन आयोगका प्रमुख आयुक्त आयोधीप्रसाद यादव तथा आयोगका पदाधिकारी सँग आइतबार प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री देउवाले यस्तो प्रतिबद्धता जनाउनु भएको हो।
‘प्रधानमन्त्रीसँग हामीले आगामी निर्वाचनका लागि आवश्यक पूर्वाधार तयार गर्न भनेका थियौँ’, प्रमुख निर्वाचन आयुक्त यादवले भन्नुभयो,‘ंप्रधानमन्त्री ज्यूले निर्वाचन सम्बन्धी आवश्यक कानुनहरु फास्ट ट्रयाकबाट नै निर्माण गर्ने बचन दिनु भएको छ।’
प्रदेशसभा र प्रतिनिधिसभाका कानुन समयमा आए मात्रै माघ भित्र निर्वाचन गर्न सकिने जानकारी गराए पछि प्रधानमन्त्री देउवाले यस्तो प्रतिवद्धता जनाउनु भएको हो। त्यस्तै निर्वाचनका लागि निर्वाचन क्षेत्र निर्धारण आयोग पनि तत्काल गठन गर्ने विषयमा प्रधानमन्त्री देउवा सकारात्मक देखिनु भएको यादवले बताउनु भयो।
निर्वाचन आयोगले निर्णय गरेर सरकारलाई कानुन निर्माण र निर्वाचन क्षेत्र निर्धारण गर्न माग गरेता पनि अहिलेसम्म ती कार्य अगाडि नबढेपछि आयोगका पदाधिकारीले आइतबार प्रधानमन्त्रीलाई भेटेरै त्यसबारे गम्भीर चासो प्रकट गरेका हुन्।
प्रधानमन्त्री देउवाले अभिलम्ब आयोग गठन गरी त्यसको प्रतिवेदन आयोगलाई उपलब्ध गराउने र संसदमा टेबल भएका निर्वाचन सम्बन्धी विद्येयकहरु फास्ट ट्रयाकबाटै पारित गरिने प्रतिवद्धता जनाउदै निर्वाचनको तयारीमा जुटन आयोगलाई आग्रह समेत गर्नु भएको प्रमुख आयुक्त यादवले जानकारी दिनु भएको छ।
प्रधानमन्त्रीसँगको उक्त भेटमा प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादव र आयुक्तका साथै कामु सचिव महेश्वर न्यौपाने समेत सहभागी हुनुहुन्थ्यो।