फड्को मार्दै डिडिसी

फड्को मार्दै डिडिसी

काठमाडौं : विक्रम सम्वत् २००९ सालमा रसुवाको लाङटाङमा नेपालको दुग्ध क्षेत्रको इतिहासमा पहिलो पटक चिज उत्पादन केन्द्र निर्माण भएको थियो। तत्कालिन समयमा कृषि विकास मन्त्रालयअन्तर्गतको दुग्ध विकास शाखाले यो चिज केन्द्रको स्थापना गरेर स्थानीय स्तरमा भएका चौरी गाई र याकको दूधबाट चिज उत्पादन गर्ने काम सुरु गरेको थियो। दुग्धसम्बन्धी बयोबृद्ध बिज्ञ हेरम्भ राजभण्डारीकाअनुसार त्यो बेला सरकारको उच्च प्राथमिकतामा धान, मकैं, गहुँ र तरकारीजस्तो दूध परेको थिएन्।

दुग्ध विकास शाखाले नै कथिकुथी गरी रसुवामा चिज उत्पादन केन्द्र स्थापना गरेको थियो। विस्तारै गाँउघरतिर गाई भैसी पाल्ने क्रम सुरु हुन थालेको थियो। उत्पादित दूध किसान आफै र उच्च घरानाले आफै उपभोग गर्न थाले। यसरी विस्तारै गाई भैसी थपिदैं गयो। दूध पनि पर्याप्त परिमाणमा उत्पादन हुन थाल्यो। यसरी उपभोगभन्दा बढी भएको दूधलाई कहाँ व्यवस्थापन गर्ने बिषयमा बहस पनि सुरु भयो।

त्यही समयमा दुग्ध विकास शाखाका प्रमुख गौरिप्रसाद शर्मालगायतको प्रयासमा संस्थान नै स्थापना गर्ने छलफलले तिव्रता पायो। २०१० सालतिर काभ्रेको टुसालमा यो शाखाले दुग्ध संकलन केन्द्र स्थापना गर्‍यो। यो संकलन केन्द्रमा आसपासका किसानहरु आफै क्यानमा बोकेर दूध ल्याउने गर्थे। त्यही समयमा काठमाडौंको भोटाहिटीमा यो शाखाले बिक्री केन्द्र पनि स्थापना गरी संकलन भएका दूध बिस्तारै बिक्री गर्न सुरुआत गर्‍यो।

दुग्ध विकास संस्थान(डिडिसी) को दो श्रो महाप्रवन्धक बन्ने सौभाग्य पाउनु भएका ८४ बर्षीय राजभण्डारीकाअनुसार लगक्तै २०१३ सालमा यो शाखाले भक्तपुरको खरिपाटीमा पनि संकलन केन्द्र र सोही बर्षमा लैनचौरमा नेपालकै डेरी क्षेत्रको इतिहासमा पहिलो पटक पाँच सय लिटर क्षमताको दूध प्रशोधन कारखाना स्थापना गरेको थियो। यो शाखाको पहलमा २०१४ मा रामेछापको थोदुङ र २०१९ सालमा सोलुखुम्बुको पिके भन्ने स्थानमा दो श्रो र ते श्रो चिज उत्पादन केन्द्र स्थापना भएको थियो।

समय घर्किदै थियो। उत्पादित दूधले विस्तारै बजार पनि पाउँदै थियो। शाखालाई संस्थानमा परिणत गर्ने छलफल पनि करिब अन्तिम टुङगोमा पुगेको थियो। २०१९ सालतिर उक्त शाखालाई दुग्ध विकास बोर्डको रुपमा परिणत गरियो। त्यसपछि २०२६ सालको आर्थिक बर्षको सुरुआतसँगै उक्त बोर्डलाई संस्थान ऐन अन्तर्गत साउन १ गते दुग्ध विकास संस्थानको रुपमा परिणत गरिएको थियो।

यसरी संस्थानको रुपमा परिणत भएको डिडिसीले लैनचौरमा तीन हजार लिटर प्रति घण्टा क्षमताको दुध प्रशोधन गर्ने कारखाना निर्माण गर्‍यो। ‘२०३० सालमा आउँदा वालाजुमा १५ हजार लिटर प्रति घण्टा क्षमताको आईएसओ प्रमाणित प्लान्ट स्थापना भयो,' उहाँले भन्नुभयो,‘लगत्तै बिराटनगरमा आईएसओ प्रमाणित पाँच हजार लिटर प्रति घण्टा क्षमताको अर्को प्लान्ट स्थापना भएको थियो। त्यसपछि हेटौडामा सोही मापदण्ड भएको तीन हजार लिटर प्रति घण्टाको अर्को प्लान्ट स्थापना भयो।'

डिडिसीका वर्तमान महाप्रवन्धक गंगा तिम्लिसिनाकाअनुसार प्लान्टहरु स्थापना गरेको डिडिसीले त्यसपछि पछि फर्कनुपरेन्। डिडिसीले २०३६ सालमा आएर पोखरामा दुग्ध वितरण आयोजना र २०६१ सालमा निजीकरण गरी २०७१ सालमा आएर उक्त आयोजनालाई पोखरा बिक्रिी केन्द्रको रुपमा परिणत गर्‍यो। लगत्तै २०४६ सालमा लुम्बिनीको बुटबलमा दुई हजार लिटर, नेपालगञ्जको कोहलपुरमा एक हजार लिटर, २०५२ मा विराटनगरमा तीन मेट्रिकको धुलो दूध कारखाना र २०६५ मा आएर जनकपुरको ढल्केवरमा एक हजार पाँच सय लिटर क्षमताको प्लान्ट निर्माण भयो। त्यसपछि २०६६ मा एक हजार पाँच सय लिटरको धनगढीको अत्तरियामा पनि प्लान्ट निर्माण गरिएको थियो। दूधमै मात्रै केन्द्रित नभई डिडिसीले २०७० सालमा आएर हेडौंडामा पशु आहारा उत्पादन केन्द्र पनि स्थापना गर्‍यो।

यसरी दूध र दुग्धजन्य पदार्थको व्यवसायिक यात्रा सुरु गरेको डिडिसी ४८ बर्ष पुरा गरी ४९ औं बर्षमा प्रवेश गरेको छ। डिडिसीका महाप्रवन्धक तिम्लिसिनाकाअनुसार पूर्ण रुपमा सरकारी स्वामित्वमा रहेर आफ्नै आम्दानीबाट सञ्चालनमा रहेको डिडिसी अहिले बार्षिक रुपमा पाँच करोड ३२ लाख ९६ हजार दुई सय ६६ लिटर संकलन गरी चार करोड ९९ लाख ८९ हजार नौं सय ३८ लिटर प्रशोधित दूध बिक्री गर्न सफल भएको छ। ‘हामीले वार्षिक रुपमा चार अर्ब मूल्यबराबरको दूध किसानबाट खरिद गरी वार्षिक ६ अर्बको कारोबार गर्दैछौं', महाप्रवन्धक तिम्लिसिनाले भन्नुभयो।

डिडिसीका बजार विकास अधिकृत संजिव झाकाअनुसार चिजबाट व्यवसायिक यात्रा सुरु गरेको डिडिसीले अहिले दूध, घ्यु, मखन, दही, पनिर, टी मिल्क, चिज, स्किम मिल्क पाउडर, स्लीम मिल्क, फ्रेस मिल्क, लालमोहन, पेडालगायतका दर्जनौं दुग्धजन्य पदार्थ उत्पादन गर्दैआएको छ। झाकाअनुसार डिडिसीले अहिले ४४ जिल्लाबाट एक लाख ४० हजार लिटर दूध दैनिक संकलन गर्छ। यसरी संकलन भएका दूध र मौज्दात भएका दूध गरी दैनिक दुई लाख लिटरबराबरको प्रशोधित दूध र दुग्धजन्य पदार्थ बिक्री गर्दैआएको छ।

गत् आर्थिक बर्ष २०७२।७३ मा १३ करोड ५५ लाख नाफा गरेको डिडिसीले चालु आर्थिक बर्ष २०७३।७४ को आठ महिनामा ६४ लाख मात्रै नाफा गर्न सफल भएको छ। डिडिसीले आगामी बर्षमा बुटवलमा युएचटी प्लान्ट, पोखरामा दुग्ध प्रशोधन कारखाना र खुमलटारमा अत्याधुनिक दही उत्पादन गर्ने कारखाना स्थापना गर्ने योजना अघि बढाएको छ।

दूधको मूल्य समायोजना गरिने

पशुपन्छी मन्त्रालयका सचिब डा. युवकध्वज जिसीले पछिल्लो तीन बर्षदेखि दूधको मूल्य समायोजना नभएकाले निकट समयमै मूल्य समायोजन गर्न लागिएको जानकारी दिनुभएको छ। राजधानीमा आइतबार सम्पन्न डिडिसीको ४९ औं वार्षिकोत्सवको उद्घाटन गर्दै सचिब जिसीले मन्त्रीले मन्त्रालय सम्हाले लगक्तै दूधको मूल्य समायोजन गरिने बताउनुभयो।

‘मूल्य समायोजनको बिषयमा दुग्ध विकास बोर्डले आवश्यक गृहकार्य गरिसकेको छ, मन्त्रीज्यु आउने वित्तिकै मूल्य समायोजन गर्छौ', सचिब जिसीले भन्नुभयो। जिसीले मन्त्रीको आगमनसँगै पोखरामा डिडिसीको प्रशोधन कारखाना पनि स्थापना हुने जानकारी दिनुभयो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.