भरतपुरमा मतपत्र च्यातिएको ५० दिन:छिटो समाधान दिन आग्रह

भरतपुरमा मतपत्र च्यातिएको ५० दिन:छिटो समाधान दिन आग्रह

रत्ननगर (चितवन) : भरतपुर महानगरपालिका – १९ को मतगणनाका क्रममा मतपत्र च्यातिएको आज ५० दिन पुग्दासमेत कुनै समाधान नआएको जनाउँदै प्रमुख पदका उम्मेदवारले छिटो निकास दिन माग गरेका छन् ।

दोस्रो चरणको निर्वाचनबाट विजयी जनप्रतिनिधिले गाउँ र नगरसभामार्फत भावी कार्यक्रम सार्वजनिक गरिसक्दा समेत भरतपुर महानगर अन्योलमा छ । भरतपुर महानगरको मतगणनाका क्रममा जेठ १४ गते राति मतपत्र च्यातिएपछिको विवाद अहिले सर्वाेच्च अदालतनमा पुगेको छ । उक्त मुद्दाका कारण यहाँ जितेर बसेका जनप्रतिनिधिले समेत काम गर्न पाएका छैनन् ।

नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)को संयुक्त समूहबाट महानगरपालिका प्रमुखका उम्मेदवार रेणु दाहालले चाँडै निर्णय आए मतदातालाई समेत सहज हुने बताउनुभयो । उहाँले भन्नुभयो, “एकदम लामो समय भयो, छिटो टुंग्याउन पाए हुन्थ्यो, दाहालले भन्नुभयो, काम रोकिएको जस्तो महसुस भइरहेको छ ।”

नेकपा(एमाले)बाट महानगर प्रमुखका उम्मेदवार देवीप्रसाद ज्ञवालीले पनि निर्णय आउन ढिलाइ भएको जनाउँदै चाँडै निर्णय आए राम्रो हुने प्रतिक्रिया दिनुभयो । “विधि, परम्परा र अन्तर्राष्ट्रिय अनुभवका आधार सर्वाेच्चले हेर्ला”, ज्ञवालीले संक्षिप्त प्रतिक्रिया दिनुभयो ।
अहिले दुवै उम्मेदवार अदालतमा निर्णयको ‘पर्ख र हेर’ को अवस्थामा छन् । निर्वाचन आयोगले पुनः मतदान गर्न दिएको आदेश विरुद्ध भरतपुर–१९ मा एमालेका वडा सदस्यका उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुलसी पाण्डेले सर्वाेच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । सो मुद्दामा अदालतले हाललाई जे जस्तो अवस्थामा छ सो अवस्थाबाट अगाडि नबढाउनू भनी आदेश दिएपछि प्रक्रिया रोकिएको छ ।
त्यसपछि पटक पटक पेशी तोक्दै आएको अदालतले आजका लागिसमेत पेशी राखिएकामा फेरि सरेको बताइएको छ । मुद्दा हाल्ने स्वयं विकसमेत जे निर्णय आए पनि छिटो निर्णय गर्न आग्रह गर्नुहुन्छ ।

जेठ १४ पछिको अवस्था

जेठ १४ को मध्यरात पौने १२ बजे भरतपुर–१९ को मतगणना हुँदै थियो । दुई हजार ८९७ मत खसेको मध्ये एक हजार ८०९ मत गनेर सकिएको थियो । यसमा ज्ञवालीले ४१ हजार ६४१ तथा दाहालले ४० हजार ९०८ मत ल्याएका थिए । उनीहरुको मतान्तर ७३३ थियो । उक्त वडामा एक हजार ८०९ मत गन्दा दाहालले ५१ मत बढी ल्याएकी थिइन् । अब करिब एक हजार र केही मत गन्न बाँकी थियो । अनि भरतपुर २० को तीन हजार ३०२ मत गन्न बाँकी नै थियो ।

रातभर गनेर भोलिपल्ट बिहान गणतन्त्र दिवसमा घोषणा गरिने तयारी थियो । एकाएक राति पौने १२ बजे मतपत्र च्यातिएपछि मतगणना रोकियो जसमा ९० मत च्यातिएको पाइएको थियो । एमालेले माओवादी कार्यकर्ताले च्यातेको आरोप लगाएको छ भने माओवादी केन्द्रले एमालेले कब्जा गर्न लागेका बेला मतपत्रको सुरक्षा गर्ने क्रममा च्यातिएको जिकिर गर्दै आएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.