देउता 'खुसी पार्न' छाउगोठ, 'मरे पनि मरिन्छ, छाउ त बार्नुपर्छ'

देउता 'खुसी पार्न' छाउगोठ, 'मरे पनि मरिन्छ, छाउ त बार्नुपर्छ'

लैनचौर (दैलेख) : अन्तिम असारको झरी बिहानपख केही सुस्ताएको थियो । हिलाम्मे आँगनमाथि एउटा पुरानो त्रिपाल झुन्डिइरहेको थियो । सुनसान घर । कोही कसैसँग बोल्दैनन् । आँगनमा केही नयाँ मान्छे देखेपछि देर्जुकुमारी शाहीले मुन्टो तन्काउन खोज्नुभो । दुई महिलाले समातेर उहाँलाई कौसीसम्म ल्याए ।

कपाल मुन्डन गरेका छोरा प्रेमबहादुरले छाउगोठमा सर्पले डसेर मृत्यु भएकी बहिनीको घटना सुनाइरहँदा देर्जुकुमारी मुख छोपेर सुँक्सुकाइरहनुभो । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–६, लैनचौरकी २३ वर्षीया तुल्सी शाहीको नौ दिनअघि छाउगोठमै सर्पले टोकेर मृत्यु भएयता देर्जुका आँखा ओभाएका छैनन् ।

जेठ ८ गते यही गाउँकी अर्की किशोरीको पनि छाउगोठमै मृत्यु भएको थियो । १४ वर्षीया लालसरा विकले छाउगोठमै सर्पले टोक्दा जीवन त्याग्नुपरेको थियो । तर, यो कुरा बाहिर आएन । तालिमको सिलसिलामा त्यहाँ पुगेका महिला विकास कार्यालयका कर्मचारीले थाहा पाएपछि मुस्किलले लालसराको मृत्युको घटना बाहिर आयो । लालसराको समाचार बन्न नपाउँदै तुल्सीको पनि त्यसैगरी छाउगोठमै ज्यान गयो ।

दुई महिनाको अवधिमा दुई किशोरी गुमाइसकेको यो गाउँमा अझै पनि महिनावारी (छाउ) भएका महिलालाई अमानवीय व्यवहार गरिन्छ । तुल्सीको छाउगोठमै मृत्यु भएको नवौँ रातको १२ बजे गाउँकै एक माध्यमिक विद्यालयका प्रधानाध्यापक धु्रवनाथ योगीको घरमा केही मानिस अत्तालिँदै आए । उनीहरू मोटरसाइकल माग्दै थिए । गाउँमै मोटरसाइकल भएको घर योगीको मात्रै हो । अर्की एक किशोरीलाई सर्पले टोक्यो भनेर अत्तालिएका गाउँलेलाई योगीले मोटरसाइकल दिएर पठाउनुभयो । तर, बुझ्दै जाँदा १४ वर्षीया ती किशोरीको गालामा किराले टोकेको रहेछ । बिहान पुग्दा चिसो भुइँमा दुईवटा बोरा ओछ्याएर घरमुनिको 'छाउगोठ' मा उहाँ रुन्चे अनुहारमा बसिरहनुभएको थियो ।

गैरसरकारी संस्थाले गाउँका छाउगोठ मात्रै भत्काए, गाउँलेको सोच भत्काउन सकेनन् । अहिले गाउँमा सबैको घरमा 'छाइछुइ' उस्तै छ । चाहे शिक्षित होस् वा अशिक्षित ।

करोडौं खर्चिएर विभिन्न गैरसरकारी संस्थाले दैलेखमा साविकका आठवटा गाविसलाई छाउपडीमुक्त घोषणा गरेका थिए । तर, अवस्था अहिले पनि उस्तै छ । त्यो बेला पुलिस पनि साथ थियो, एनजिओको पैसा थियो, कैयौं छाउगोठ अभियन्ताले नै भत्काए । तर, अभियानका बेला गाउँका छाउगोठ मात्रै भत्किए, गाउँलेको सोच भत्किन सकेन । अहिले गाउँमा सबैको घरमा 'छाइछुइ' उस्तै छ । चाहे शिक्षित होस् वा अशिक्षित ।
दैलेखका धेरैजसो छाउप्रथा भएका गाउँमा अहिले छुट्टै छाउगोठ छैनन् । तर, प्रत्येक घरमा अहिले पनि महिला रजस्वला भएपछि गाई र भैंसीसँगै सुत्न बाध्य छन् । 'छाउ' भएका महिला गाईभैसीसँगै सुत्छन् तर उनीहरूले त्यसको दूध–दही खान पाउँदैनन् । गाउँले भन्छन्, 'देउता रिसाउँछन्, घरमा नराम्रो हुन्छ ।'

रोपाइँको मेलो सकेर फर्किरहेका महिलालाई शिक्षक भुवन शाही जिस्क्याउँदै हुनुहुन्थ्यो, 'पाखा सर्‍या हौला, नछुए है...!' अनि बर्सादी (पानी छेक्ने प्लास्टिक) ओढेकी कोकिला विकले भन्नुभयो, 'छुन्नम छुन्नम्, तीन दिन त भो, गोठमै सुतिराछम् ।' फेरि शिक्षक शाहीले सम्झाउनुभयो, 'पशुसँग सुतेर नि देउता खुसी हुन्छन् ? अस्ति तुल्सीलाई साँपले टोकेर मरेको बिस्र्यौ ? ' अर्की महिला जंगिनुभो, 'त्यस्तो भनेर हुन्छ, मरे नि मरिन्छ तर देउतालाई रिसाउन दिनुहुन्न ।' अनि उहाँ आफैँले कहानी सुनाउनुभो, 'केही वर्षपहिला रजस्वला भएको बेला घरमा खाना बनाएँ तर खान दिने बेला मेरो मुन्टो बांगियो ।

अनि धामीझाँक्रीले झारफुक गरेर सोझ्याइदिए ।' घरमा कोही नभएपछि पाखा सरे पनि उहाँले बाहिरै खाना बनाउनुभएको थियो रे ! 'अनि देउता रिसाका रै'छन्, छाउ हुँदा भान्सा छोएपछि मरे पनि मरिन्छ । यो त बार्ने नै हो, देउता रिसाउन हुन्न', विकले भन्नुभयो ।

रोपाराको त्यो हुल घरतिर लागेपछि शिक्षक शाही भन्दै हुनुहुन्थ्यो, 'यी सुन्नुभो यस्तो छ गाउँको हालत, यस्तो सोचलाई कसरी परिवर्तन गर्न सकिन्छ र ? ' गाउँमा क्रिस्चियन धर्म मान्ने एकाधबाहेक हरेक घरमा कुनै न कुनै रूपमा छाउप्रथा जिउँदै छ ।' धेरै घरपरिवारमा 'रजस्वला' भएका महिला, किशोरीमाथि अत्यन्तै अमानवीय व्यवहार छ, त्यो देख्दा लाग्छ 'बाहिर सर्नु' एक अपराध हो । सुनसान रातमा पशुसँगै सुत्नुपर्ने महिला त्यो पीडालाई व्यक्त गर्नै सक्दैनन् । कोही त अझ घरबाहिर पेटी अनि खुला ठाउँमै बस्छन्, त्यसमा पनि भर्खरका किशोरी । 'छाउ' बारेकै बखत कतिपय महिलाले ज्यान गुमाइसकेका छन्, कति बलात्कृत भएका छन् । अनि ती घटना प्रहरी–प्रशासनसामु पुग्दैनन् । गाउँका अगुवाले मिलापत्रमै मुद्दा टुंग्याइदिन्छन् ।

गैरसरकारी संस्थाहरूले छाउप्रथाको नाममा पैसा मात्रै खन्याए । सरकारी तहबाट अहिलेसम्म कुनै पनि पहल भएको छैन । जिल्ला समन्वय समिति दैलेखले भर्खर मात्रै छाउ भएका घरहरूको तथ्यांक संकलन सुरु गरेको छ । तथ्यांकअनुसार दैलेखमा ५ सय ७३ छाउगोठ छन् । तर, महिला विकास कार्यालयसँग त्यही तथ्यांक पनि छैन ।

सरकारी तवरबाट छाउप्रथा भएका यी ठाउँमा त्यसको उन्मूलनका लागि कुनै कार्यक्रम भएका छैनन् न त अभियान नै चलेका छन् । प्रधानाध्यापक योगीका अनुसार गाउँमा सबैको घरमा त्यस्तै संस्कार छ । धेरैजसो घरमा माथिल्लो तलामा परिवार बस्छन् भने तल्लो तलामा गाईवस्तु बाँधिन्छ । महिनावारी भएपछि महिलाले पनि तिनै पशुसँग सुत्नुपर्छ ।

'यो संस्कार धेरै गढिसकेको छ, मान्छे मान्दै मान्दैनन्', उहाँ भन्नुहुन्छ, 'पहिला त मान्छेको सोच बदल्नुपर्छ, जबर्जस्ती होलाजस्तो लाग्दैन ।' केही दिनअघि छाउगोठमा सुताउँदा छोरी गुमाएकी देर्जुकुमारीले पनि अहिलेसम्मै छाउ बार्नुभयो । उहाँ कहिले गोठमा पशुसँगै सुत्नुभयो त कहिले बाहिर पेटीमा । कहिले खुला आँगनमा । बहिनी गुमाएपछि प्रेमबहादुर शाहीलाई लाग्न थालेको छ, 'यस्तो गर्नु झन् पाप हो ।' तर, उहाँ भन्नुहुन्छ, 'हामीले पो छोरीबैनी गुमायौँ, दुःखमा छौँ । फेरि पनि हामीले छाउ बारेनौँ भने छाउ बार्ने सबै गाउँलेले आँगनमा हिँड्नसमेत दिँदैनन् ।' छाउ नबार्दा देउता रिसाउने डर त छँदै छ, त्यसमा पनि एउटाले संस्कार फेर्दा सामाजिक बहिष्कारमा पर्ने डर अझै त्यहाँका मानिसमा छ ।

दैलेखको धेरैजसो पश्चिमी भागमा यो प्रथा निकै बाक्लो गरी मानिसको सोचमा गढिसकेको छ । र, विस्तारै यो प्रथा जिल्लाको पूर्वीभागमा पनि सर्दै छ । सदरमुकामकै कतिपय घरमा समेत यो प्रथा जरा गाडेर बसेको छ । गाउँमा जस्तो छुट्टै गोठ नभए पनि घरको पेटी, ट्वाइलेटका खुला बरन्डा सहरबजारका 'छाउगोठ' हुन् । गाउँमा केही शिक्षित भनिएका शिक्षक, स्वास्थ्यकर्मी र राजनीतिकर्मीको घरमा यति धेरै निर्ममता छैन तर सबैका घरमा 'छाउ' बार्ने चलन उस्तै छ । यी घरपरिवारमा पनि महिनावारी भएका महिला भान्छाभित्र छिर्न पाउँदैनन् । पूजाकोठामा छिरे त झन् 'महापाप' हुन्छ । अरूले नै तयार गरेको खाना बाहिर छुट्टै कोठामा आउँछ । पाँच दिनसम्म उनीहरूका लागि त्यही एउटा कोठा संसार हुन्छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.