वडा सदस्य पहिलो पटक राजधानीमा: ‘काशी आएसरह महसुस

वडा सदस्य पहिलो  पटक राजधानीमा:  ‘काशी आएसरह महसुस

काठमाडौं : कालिकोटकी सरुनी दमाईंलाई पहिलोपटक काठमाडौं आइपुग्दा ‘काशी आएसरह महसुस' भएको छ। कालिकोट नगरपालिका-४ मा एमालेबाट दलित महिला सदस्यमा विजयी सरुनी त्यही जितले आफूलाई यहाँसम्म आउन योग्य बनाएको ठान्नुहुन्छ। 

५७ वर्षीया एकल महिला सरुनीले निर्वाचन जितेपछि रातो टीका लगाएर हिँड्न थाल्नुभएको छ। राजधानीमा सोमबार सुरु एकल महिलाको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आउनुभएकी उहाँले भन्नुभयो, ‘गाउँमा के काम गर्ने र कसो गर्ने भनेर योजना मिलेको छैन, मेयरले काठमाडौं जा भने अनि आउन पाएँ।'
कैलालीको गौरीशंकर नगरपालिका-६ का वडाध्यक्ष कमलाकुमारी ओझा (शर्मा) गरिबी निवारण गर्न महिला सशक्तीकरण र आयमूलक कार्यक्रमलाई अगाडि बढाउने योजनामा हुनुहुन्छ । ११ वडामध्ये कांग्रेसबाट जित्ने उहाँ एक्लो वडाध्यक्ष हुनुहुन्छ । १५ वर्षको उमेरमा विवाह गर्नुभएकी उहाँका पतिको एक वर्षपछि नै मृत्यु भएको थियो ।

त्यसपछि सासू-ससुराले ‘छोराकै दर्जा'मा राखेर साथ-सहयोग गरेकाले आफू अहिलेको अवस्थामा आइपुगेको उहाँको भनाइ छ। गाउँमै साइकलमा तरकारी बेचेर हिँड्ने उहाँ अगुवा कृषकमै गनिनुहुन्छ। एकल महिला समूहको जिल्ला अध्यक्षसमेत रहनुभएकी उहाँ सरकारले राजनीतिमा महिला सहभागिता बढाउन विभिन्न कार्यक्रम ल्याएजसरी नै आर्थिक सशक्तीकरणलाई पनि गाउँ-गाउँ पुर्‍याउनुपर्ने विचार व्यक्त गर्नुहुन्छ। पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानीको व्यवस्थाका साथै बेरोजगार युवा र महिलालाई आयमूलक कार्यक्रम दिएर स्वरोजगार बनाउने उहाँको लक्ष्य छ।

एकल महिलाका लागि रहेको चुनौती उहाँले निर्वाचनताका पनि सामना गर्नुपरेको रहेछ। प्रतिपक्षले उहाँलाई एकल महिलाले के काम गर्न सक्छ भनेर धेरै आलोचना गरे पनि जनताको विश्वास पाएको उहाँको भनाइ छ। एकल महिलाप्रतिको दृष्टिकोणमा धेरै परिवर्तन आइसके पनि आर्थिक रूपमा सशक्त हुन नसकेको उहाँको ठम्याइ छ। 

दलित महिला संघ (फेडो)का डोटी अध्यक्ष शशी सोब दिपायल-सिलगडी नगरपालिका-६ बाट वडा सदस्यमा विजयी हुनुभएको छ । १४ वर्षमै विवाह गर्नुभएकी उहाँले छोरी ६ कक्षामा पढ्दा आफू ८ मा भर्ना हुनुभएको थियो । बीए पढ्दै गर्दा पतिको मृत्युका कारण पढाइ छाड्नुपरेको थियो। त्यही पढाइका कारण उहाँ अहिले गाउँमा उदाहरणीय बन्नुभएको रहेछ। राजनीतिमा लागेर क्षमता बढेको महसुस भएको उहाँको भनाइ छ।

सशस्त्र द्वन्द्वकालमा राज्यपक्षबाट पीडित रोल्पाकी धनमाया पुनलाई माओवादीले सहयोग नगरेपछि उहाँ कांग्रेसबाट वडा सदस्यमा विजयी हुनुभएको छ। एउटा पार्टी छाडेर अर्कोमा प्रवेश गरेपछि प्रतिकार गर्ने क्षमता बढेको उहाँले बताउनुभयो। अन्य महिलामा पनि विभिन्न क्षमता बढाउन महिलाका क्षेत्रमा बजेट बढाउने र हिंसामा परेकालाई न्याय दिने काममा जुट्ने सोच उहाँको छ।

बाटो निर्माणलाई पहिलो प्राथमिकतामा राख्नुभएको छ, काभ्रेको नमोबुद्ध नगरपालिकाकी उपप्रमुख रामदेवी तामाङले। त्यसपछि खानेपानी, शिक्षा, स्वास्थ्य, घरेलु हिंसा न्यूनीकरणलगायत विषयमा काम गर्ने उहाँले बताउनुभयो।

साउथ एसियन नेटवर्क फर विडोज इम्पावरमेन्ट इन डेभलपमेन्ट(सेनवेड)को सचिवालय मानवअधिकारका लागि एकल महिला समूहले आयोजना गरेको दुईदिने सम्मेलनमा स्थानीय तह निर्वाचनमा विजयी एकल महिलालाई सम्मान गरिएको छ। नगरप्रमुख कान्तिका सेजुवाल, उपप्रमुख रामदेवी तामाङ र राधिका सुनार, गाउँपालिका उपाध्यक्ष एकमाया विक, ललिता अधिकारी र निर्मला विष्ट, वडाध्यक्ष कमला शर्मा, सावित्रा गौतम र गीता बस्नेत हुनुहुन्छ।

अञ्जना केसी, दुर्गा अधिकारीलगायत ५६ जना वडा सदस्य हुनुहुन्छ। उपराष्ट्रपति नन्दकिशोर पुनको प्रमुख आतिथ्यमा यीमध्ये ४४ जनालाई सोमबार सम्मान गरिएको हो।

भारतको स्त्री शक्तिका अध्यक्ष रेखा मोदीले एकल महिला समूहकी संस्थापक अध्यक्ष लिली थापालाई दयावती मोदी स्त्रीशक्ति अवार्डबाट सम्मानित गर्नुभयो। महिलाको क्षेत्रमा लिलीले पुर्‍याउनुभएको योगदानको कदर गर्दै पहिलोपटक यो सम्मान विदेशीलाई दिइएको मोदीले जानकारी दिनुभयो । सम्मेलनका पाहुनाको स्वागतमा सोमबारै राष्ट्रपति विद्यादेवी भण्डारीले चियापान पनि आयोजना गर्नुभएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.