भक्तपुर अस्पतालमा पुनः भाँडभैलो
भक्तपुर : चिकित्सकहरूबीचको मनमुटाव सेलाउन नपाउँदै भक्तपुर अस्पतालमा पुनः भाँडभैलो सुरु भएको छ। सरकारको केन्द्रीय अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुुधा देवकोटा र लेखा अधिकृत कृष्णप्रसाद भट्टराईबीचको द्वन्द्वले अस्पतालमा भाँडभैलो सुरु भएको हो।
मेडिकल सुपरिन्टेन्डेन्ट डा. देवकोटा र लेखा अधिकृत भट्टराईबीच अस्पताललाई आवश्यक उपकरण खरिदसम्बन्धी टेन्डर पार्ने विषयमा विवाद भएको थियो। उक्त विवाद चुलिँदा मेसु डा. देवकोटा र लेखा अधिकृत भट्टराईबीच हात हालाहाल मात्र हुन बाँकी भएको अस्पताल स्रोतले बताएको छ। स्रोतका अनुसार अस्पतालको बजेटमा खाने भागबन्डा नमिल्दा मेसु र लेखा अधिकृतबीच विवाद चुलिएको हो।
अस्पतालले विभिन्न उपकरण खरिदका लागि करिब ७२ लाख रुपैयाँको टेन्डर आह्वान गरेको थियो। जुन टेन्डरका लागि सरकारी प्रक्रियाअनुसार कम्तीमा तीनवटा फर्मबाट टेन्डर पर्र्नुपर्ने थियो। तर, अस्पतालको टेन्डरमा एउटाको मात्रै सिलबन्दी बोलपत्र परेको थियो। जुन बोलपत्र मेसु डा. देवकोटाका श्रीमान्को आफ्नै फर्म लुम्बिनी सप्लायर्सको परेको अस्पताल स्रोतले जानकारी दियो।
लेखा अधिकृत भट्टराईले मेसु डा. देवकोटाको दबाब थेग्न नसकेपछि लुम्बिनी सप्लायर्सलाई करिब ३२ लाख रुपैयाँको टेन्डर पारिदिनुभएको थियो । उक्त रकमबाट लुम्बिनी सप्लायर्सले भक्तपुर अस्पताललाई ईसीजी, अल्ट्रा साउन्ड (भिडियो एक्सरे) मेसिन र ओटी टेबल उपलब्ध गराउने स्रोतले बतायो ।
बाँकी रकमको टेन्डर कानुनी प्रक्रिया नपुगेको भन्दै रोकिएको थियो । तर, शतप्रतिशत टेन्डर लुम्बिनी सप्लायर्सलाई नपारिएको भन्दै मेसु डा. देवकोटाले लेखा अधिकृतलाई झपार्नुभएको थियो । जसले गर्दा मेसु र लेखा अधिकृतबीच विवाद बढेको थियो ।
लेखा अधिकृतले आफ्नो कुरा नटेरेपछि मेसु डा. देवकोटाले लेखा अधिकृतको कार्यकक्षमै तालाबन्दी गर्नुभएको थियो । साथै, उहाँले आफूलाई सहयोग नगरेको भन्दै मेसु डा. देवकोटाले स्वास्थ्य मन्त्रालय, कोष तथा लेखा नियन्त्रण कार्यालयमा पत्र काटेर उक्त पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालयलाई समेत उल्लेख गर्नुभएको छ ।
मेसु डा. देवकोटाले मन्त्रालयमा लेख्नुभएको पत्रमा लेखा अधिकृत भट्टराईलाई सरुवा गर्नसमेत माग गर्नुभएको बुझिएको छ । मेसुले नै पत्र लेखेपछि मन्त्रालयले लेखा अधिकृत भट्टराईसँग स्पष्टीकरण सोधेको बुझिएको छ । जसको जवाफ लेखा अधिकृत भट्टराईले मन्त्रालयसँगै सरोकारवाला निकायमा दिइसक्नुभएको छ ।
यस विषयमा थप जानकारी माग्दा उहाँले आफूले यस विषयमा धेरै नबोल्ने प्रतिक्रिया दिनुभयो । ‘ममाथि लगाइएको आरोप निरूपण गर्ने गरी तालुक अड्डामा रिपोर्टिङ गरिसकेको छु’, उहाँले अन्नपूर्णसँग भन्नुभयो, ‘अब जे गर्नु छ, स्वास्थ्य मन्त्रालयले गर्छ । यस विषयमा मलाई धेरै भन्नु केही छैन ।’
अस्पताल प्रशासन र मेसुले आफ्नो कार्यकक्षमै तालाबन्दी गरेपछि उहाँले कोष तथा लेखा नियन्त्रण कार्यालय भक्तपुरमा हाजिर गर्ने गर्नुभएको बुझिएको छ ।
त्यस्तै, अस्पतालका मेसु डा. देवकोटाले भने लेखा अधिकृत भट्टराईले बिदा लिनुभएको प्रतिक्रिया दिनुभयो । अस्पतालमा कुनै आन्तरिक विवाद नभएको र भए पनि स्वास्थ्य मन्त्रालयले हेर्ने भन्दै उहाँ पन्छिनुभयो । ‘मैले स्वास्थ्य मन्त्रालयमा आफ्नो कार्यालयगत पत्र लेखेको हुँ’, मेसु डा. देवकोटाले भन्नुभयो, ‘अरू कुनै आन्तरिक विवाद छैन । भए पनि स्वास्थ्य मन्त्रालयले हेर्ने कुरा हो ।’
अस्पताल स्रोतका अनुसार लेखा अधिकृतले आफूलाई सहयोग नगरेपछि मेसु डा. देवकोटाले आर्थिक कारोबारको जिम्मा मेट्रोन सावित्री पौडेललाई दिनुभएको छ । मेट्रोन पौडेलसँग मिलेर मेसुले आर्थिक अनियमितता गर्ने प्रयास गरेको स्रोत बताउँछ । स्रोतका अनुसार अस्पतालको अप्रेसन थिएटरको तन्ना मात्रै फेर्न मेट्रोन पौडेललाई मेसु डा. देवकोटाले चार लाख रुपैयाँ निकासा दिनुभएको छ । यता, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर खड्काले अस्पतालभित्रैका कर्मचारी र चिकित्सकको भाँडभैलोले आफूले काम गर्न नसकेको भन्दै आक्रोश पोख्नुभएको छ ।
पहिले चिकित्सकबीच र अहिले मेसु र लेखा अधिकृतबीचको भाँडभैलोले आफ्नो काम गर्ने जोश र जाँगर नै मरेको उहाँको भनाइ थियो । ‘अस्पतालमा सुधार ल्याउँछु भनेर आएको तर कर्मचारी र चिकित्सकबीचको भाँडभैलोले काम गर्ने जोशजाँगर नै मरेर आयो’, अध्यक्ष खड्काले भन्नुभयो, ‘अस्पतालको भाँडभैलोले आईसीयू सञ्चालन नहुने सम्भावना बढ्यो ।’
मेसु डा. देवकोटा र लेखा अधिकृत भट्टराईबीच विवाद भएको स्विकार्दै अध्यक्ष खड्काले मेसु डा. देवकोटालाई सानोतिनो कुरामा अल्झेर नबस्न सुझाव दिएको बताउनुभयो । लेखा अधिकृतले असहयोग गरेपछि मेसु डा. देवकोटाले असार २९ गते अस्पतालका कन्सल्टेन्ट डाक्टरहरूको बैठक राखेर लेखा अधिकृत भट्टराईले बदमासी गरेको बिफ्रिङ गर्नुभएको थियो ।
बैठकमा उहाँले हिजोका त्रुटि तथा कमीकमजोरीलाई भुलेर चिकित्सकहरू मिलेर अस्पताललाई राम्रो बनाउनुपर्ने कुरासमेत राख्नुभएको थियो ।