च्याउखेतीमा मुसहर

च्याउखेतीमा मुसहर

बर्दिबास : बर्दिबास नगरपालिका १ की ३५ वर्षीय आशा सादा अचेल बनिबुतो गर्न जानुहुन्न। १५ दिनअघिदेखि उहाँको सम्पूर्ण ध्यान च्याउखेतीतर्फ मोडिएको छ। चार दिन लगाएर बनाएको च्याउको टनेलमा उहाँको ध्यान डुल्ने गर्छ। पराल बाफेर प्लास्टिकको झोलामा च्याउको बिउ राखेकाले त्यसलाई स्याहार्न उहाँ अहिले व्यस्त हुनुहुन्छ। 

आशाले पहिलो चरणमा झन्डै एक सय बलको च्याउखेती गर्नुभएको छ। घर निर्माणमा ज्यामीको काम गर्ने आशाको दैनिकी अचेल फरिएको छ। विज्ञान तथा प्रविधि प्रतिष्ठान नाष्टबाट च्याउखेतीको तालिम पाएपछि आशाको सबै परिवार च्याउखेतीतर्फ आकर्षित भएको हो। 

धुर्मुस-सुन्तली फाउन्डेसनद्वारा निर्मित एकीकृत नमुना मुसहर बस्तीलाई नाष्टले नमुना वैज्ञानिक गाउँ बनाउन आयआर्जनका लागि सीपमूलक शिक्षा प्रदान गर्दै आएको छ। आशा सदालाई उहाँको श्रीमान बिल्टु सादाले सहयोग गर्नुहुन्छ। 

‘सम्पति भनेकै हाम्रो पाँच धुर जग्गा हो। धुर्मुस सुन्तलीले सहयोग मागेरै पाँचकोठे पक्की घर बनाइदिनुभयो,' ३८ वर्षीय बिल्टुले भन्नुभयो, ‘नाष्टले हामीलाई पैसा कमाउने बुद्धी दिएको छ। कसैको धानखेती छ। कसैले लुगा सिउँछन् । कसैले मुढा बुन्छन्, मैले त च्याउखेती गरेकी छु।'

च्याउखेतीमा कम लगानी लाग्छ। फाइदा धेरै हुन्छ। बर्दिबासमा यसको माग उच्च छ। त्यसैले बिल्टुको परिवार कहिले नगरेको च्याउखेतीमा मज्जाले रमाएको छ। नाष्टले उहाँलाई च्याउखेती गर्न प्राविधिक तथा आर्थिक सहयोग गरेको छ। 

स्कुल पढाउँदै गरेका २ छोरा २ छोरीलाई पढाएर ठूलो मान्छे बनाउने सपना उहाँको छ। त्यसैले १० धुर जग्गा भाडामा लिएर च्याउखेतीतिर लागेको आशा बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ,‘के गर्नु पहिला आफ्नो बुद्धी थिएन। श्रीमान् श्रीमतीले ज्याला मजदुरी गरेर दिनको ५/६ सय रुपैयाँ कमाउँथ्यौं। साँझ नुनतेल किन्दै ठिक हुन्थ्यो। अब त सरकारले हामीलाई कमाउने बुद्धी सिकायो। अब हामी पनि ठूलो मान्छे बन्छौं।' च्याउखेतीमा छोराछोरीले पनि स्कुलको समयपछि सघाउँछन्। 

च्याउमा प्रोटिन, भिटामिनमा थाइमिन, राइबोफ्लेबिन, नाइसिन, बायोटिन, एसकर्भिक एसिड, विभिन्न मिनरल्स, विभिन्न एमिनो एसिड्सजस्ता तत्व पाइन्छ । च्याउमा भिटामिन ए, बी, सी, खनिज र क्याल्सियम पाइने भएर बजारमा यसको माग बढेको च्याउ व्यवसायी दिलिपराज थापाले आफ्नो अनुभव सुनाउनुभयो।

च्याउ अति नै पौस्टिक तत्वयुक्त र स्वास्थ्यबद्र्धक खाद्यवस्तुको रूपमा चिनिने गर्छ। विज्ञान तथा प्रविधि प्रतिष्ठान नाष्टका नमुना वैज्ञानिक गाउँ कार्यक्रमका संयोजक तीर्थ घिमिरेका अनुसार काठमाडौंबाट च्याउ प्रशिक्षकलाई झिकाएर मुसहर बस्तीमा च्याउको तालिम दिइएको छ। पुस्तौनी रोग, भोक, अशिक्षाले पिल्सिएका बर्दिबासका मुसहरको जीवन फेरिएको छ। मुसहर आयआर्जनतर्फ आकर्षित छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.